+
+
Shares

जापानी किशोरकिशोरीमा एआईको लत र बढ्दो सामाजिक संकट

किशोरकिशोरीहरूले गृहकार्य र मित्रतादेखि लिएर प्रेम सम्बन्धसम्मका हरेक कुरामा यस प्रविधिको सल्लाह लिने गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १५:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानका बेसबल प्रबन्धक शिन्सुके आबे आफ्नी छोरीले च्याटजीपीटीको सल्लाहअनुसार उजुरी गरेपछि घरेलु हिंसाको आरोपमा पक्राउ परेका छन्।
  • जापानमा आधाभन्दा बढी अर्थात् ५२.४ प्रतिशत किशोरकिशोरीले आफ्ना व्यक्तिगत समस्या समाधानका लागि एआईको परामर्श लिने गरेका छन्।
  • जापानी सूचना सुरक्षाविज्ञ इसाओ एचिजेनले बालबालिकामा बढ्दो एआईको लत र यसको अनियन्त्रित प्रयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ।

७ असार, काठमाडौं । जापानमा एक नाबालक केटालाई गम्भीर घाइते हुने गरी कुटपिट गर्ने पाँच जना केटीहरूको समूहमा उनी पनि सामेल थिइन्। अस्पतालमा उपचार गराउनुपर्ने गरी भएको सो आक्रमणपछि ती केटीको सबैभन्दा ठूलो चिन्ता भनेको पीडित केटासँग कति रकम फिरौती वा क्षतिपूर्ति माग गर्ने भन्ने थियो। यसको उपाय खोज्न उनले मानिस वा साथीभाइ गुहारिनन् । बरु, आर्टिफिसियल इन्टेलिजेन्सको सहारा लिइन्।

गत जनवरी महिनामा पश्चिमी टोकियोको हाचियोजी सहरमा सो आक्रमण भएको थियो। विज्ञहरूका अनुसार यस घटनाले जापानमा एक डरलाग्दो सामाजिक प्रवृत्तिको उजागर गरेको छ । जापानी किशोरकिशोरीहरू आफ्नो विवेक वा संयमता प्रयोग गर्नुको साटो आपराधिक कार्यमा समेत मार्गदर्शन लिनका लागि स्वाभाविक रूपमा एआईतर्फ आकर्षित भइरहेका छन्।

प्रहरीका अनुसार कुटपिटबाट ती हाई–स्कुलका विद्यार्थी गम्भीर घाइते भएका थिए । र, सो आक्रमणमा संलग्न पाँचै जना केटीहरूमाथि आरोप दर्ता गरिएको छ। तर, जापानको खेलकुद जगत्का एक चर्चित सेलिब्रेटी जोडिएको दोस्रो घटना सार्वजनिक भएपछि मात्र एआईले समाजमा पारेको गम्भीर प्रभावप्रति देशको ध्यान केन्द्रित भयो।

जापानको प्रतिष्ठित बेसबल टोली ‘योमियुरी जायन्ट्स’ का ४७ वर्षीय प्रबन्धक शिन्सुके आबेलाई आफ्नी १८ वर्षीया छोरीमाथि कुटपिट गरेको आशंकामा मे २५ मा टोकियोस्थित उनकै निवासबाट पक्राउ गरियो। त्यसको भोलिपल्टै टोलीले उनको राजीनामाको घोषणा गर्‍यो।

सञ्चारमाध्यमका अनुसार आबेले आफ्ना दुई छोरीहरूबीच भइरहेको झगडालाई मिलाउने प्रयास गरेका थिए। ठूली छोरीले मुखमुखै जवाफ फर्काएपछि आफूले रिस नियन्त्रण गर्न नसकी उनको काँधमा समातेर भुइँमा लडाएको आबेले प्रहरीसमक्ष स्वीकार गरेका थिए।

नाबालक भएकाले नाम गोप्य राखिएकी ती छोरीले तत्कालै सल्लाहका लागि ‘च्याटजीपीटी’ खोलीन्।

‘म मेरो बुबाबाट हिंसाको सिकार भएँ। मैले के गर्नुपर्छ?’ भनी सोधिएको प्रश्नको जवाफमा च्याटबोटले उनलाई बाल परामर्श केन्द्रमा सम्पर्क गर्न सल्लाह दियो। उनले त्यही गरिन्।

उनले बाल संरक्षण सेवामा सम्पर्क गरेको यो पहिलो पटक थियो। यसबारे प्रहरीलाई तुरुन्तै जानकारी दिइयो र आबेलाई पक्राउ गर्न अधिकारीहरू उनको घर पुगे।

मे २६ मा जारी गरिएको एक विज्ञप्तिमा आबेकी छोरीले आफ्नो उजुरी प्रहरीसम्म पुग्ला भन्ने कुरा आफूले नसोचेको बताएकी छन्। उनले भनिन्, ‘प्रहरी हाम्रो घरमा आइपुग्दा म स्तब्ध भएँ। मेरो बुबालाई प्रहरीले समातेर लैजाँदै गरेको देख्दा मेरो मुटु फुट्यो।’

गत सोमबार टोकियोका सरकारी वकिलहरूले आबेविरुद्धको मुद्दा अगाडि नबढाई स्थगित गर्ने घोषणा गरेका छन्। उनको कानुनी झमेला त समाप्त भयो होला, तर उनको प्रतिष्ठा र खेल जीवन भने पूर्ण रूपमा ध्वस्त भएको छ।

जापानको नेशनल इन्स्टिच्युट अफ इन्फर्मेटिक्सका सूचना सुरक्षा प्राध्यापक इसाओ एचिजेन भन्छन्, ‘धेरै जापानी बालबालिकाहरू एआई प्रयोग गर्ने लतमा फसिसकेका छन्। यो प्रयोग गर्न सजिलो छ, २४ सै घण्टा उपलब्ध हुन्छ, र उनीहरूका लागि आफ्ना आमाबुबा वा साथीहरूसँग कुरा गर्नुभन्दा एआईसँग सल्लाह माग्नु धेरै सजिलो महसुस हुन्छ।’

तीन सन्तानका पिता समेत रहेका एचिजेनले युवा पुस्तामा एआईको यस्तो पकडप्रति आफू ‘निकै चिन्तित’ रहेको बताए। उनका अनुसार समस्या प्रविधिमा होइन, बरु मानिसले दिने इनपुटमा छ – जसलाई कम्प्युटर विज्ञानको आधारभूत सिद्धान्तमा ‘ गार्बेज इन, गार्बेज आउट’ भनिन्छ।

उनले थपे, ‘एआईलाई सूचना मानिसहरूले नै दिने हुन्। यस मामिलामा बालबालिकाहरू आफैँले सोधिरहेका छन्, जो समस्याको पृष्ठभूमि वा गहिराइ बुझाउन विशेषज्ञ होइनन्। एआईले आफ्नो नियम अनुसार सही जवाफ त दिइरहेको छ, तर उसलाई प्रश्नसँग जोडिएका भित्री विवरणहरू थाहा हुँदैन, जसले गर्दा अधुरो वा गलत तथ्याङ्कका आधारमा जवाफ निस्कन्छ।’

यस प्रवृत्तिको दायरा निकै ठूलो छ। मे १ मा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जापानका आधाभन्दा बढी (५२.४ प्रतिशत) किशोरकिशोरीहरूले आफ्ना व्यक्तिगत समस्याहरूका बारेमा एआईसँग परामर्श लिने गरेका छन्।

त्यसैगरी, २०, ३० र ४० वर्ष उमेर समूहका ३० प्रतिशतभन्दा बढी महिलाहरूले पनि व्यक्तिगत विषयमा एआईको सल्लाह लिने गरेको पाइएको छ, जबकि सोही उमेर समूहका पुरुषहरूको संख्या भने ३० प्रतिशतभन्दा कम छ।

एआईको सल्लाह खोज्नेहरूमध्ये ३८ प्रतिशतभन्दा बढीले व्यक्तिगत सम्बन्ध र सामाजिक अन्तर्क्रियामा यसको मार्गदर्शनलाई विश्वास गर्ने बताएका छन्। किशोरकिशोरीहरूको हकमा त यो संख्या ६३.१ प्रतिशत पुगेको छ।

जापानमा एआईको सम्भावित हानिकारक प्रभावहरूको सूक्ष्म निगरानी भइरहेकै बेला अमेरिकामा ओपनएआई विरुद्ध धेरै मुद्दाहरू दर्ता भएका छन्। जसमा च्याटजीपीटीले मानिसहरूमा हानिकारक भ्रमहरू बढाएको र चार जनालाई आत्महत्या गर्न उक्साएको आरोप समेत लगाइएको छ।

गत वर्षको अन्त्यमा क्यालिफोर्नियामा ‘सोसल मिडिया भिक्टिम्स ल सेन्टर’ र ‘टेक जस्टिस ल प्रोजेक्ट’ द्वारा दायर गरिएको मुद्दामा यस प्रविधिलाई ‘खतरनाक रूपमा चाप्लुसी गर्ने र मनोवैज्ञानिक रूपमा आफ्नो स्वार्थ अनुकूल नियन्त्रणमा लिने’ भनी वर्णन गरिएको छ। यसबारे प्रतिक्रियाका लागि ‘दिस वीक इन एसिया’ ले ओपनएआईसँग सम्पर्क गरेको छ।

टोकियोको चुओ विश्वविद्यालयका सांस्कृतिक समाजशास्त्रका प्राध्यापक तथा ‘जापान युथ स्टडी ग्रुप’ का सदस्य इजुमी सुजीका अनुसार, जोखिमका बाबजुद जापानी युवाहरू अन्य देशका साथीहरूको तुलनामा एआईको सहजताप्रति बढी आकर्षित देखिएका छन्।

उनले भने, ‘जब म मेरा विद्यार्थीहरूसँग कुरा गर्छु, उनीहरू आफूसँग ‘साथी’ भन्न मिल्ने करिब १०० जना मानिसहरू भएको बताउँछन्। तर, कुनै कठिन मोडमा सल्लाह माग्नका लागि साँच्चिकै नजिकको ठानिने साथी भने उनीहरूसँग कोही हुँदैन। र जोसँग नजिकका साथीहरू छन्, उनीहरू पनि साथीलाई झन्झट होला वा मित्रतामा दरार आउला भन्ने डरले कडा वा गाह्रो प्रश्न सोध्दै सोध्दैनन्। आफ्नो निकट मित्रता जोगाउन उनीहरू कठीन प्रश्न सोध्नबाट बच्छन् र एआईतर्फ मोडिन्छन्।’

सुजीका अनुसार किशोरकिशोरीहरूले गृहकार्य र मित्रतादेखि लिएर प्रेम सम्बन्धसम्मका हरेक कुरामा यस प्रविधिको सल्लाह लिने गरेका छन्।

उनले धेरै देशहरूले युवाहरूको सामाजिक सञ्जालमा पहुँच नियन्त्रण गरे जस्तै एआईको प्रयोगमा पनि उमेरको हदबन्दी तोकिनुपर्ने कुरामा जोड दिए। ‘यदि यसमा कुनै सीमा तोकिएन भने स्थिति अझै भयावह हुनेछ।’

एचिजेन पनि युवाहरूको सुरक्षाका लागि कडा नियम र सुरक्षाका घेराहरू आवश्यक रहेको कुरामा सहमत छन्।

‘अहिलेका किशोरकिशोरीहरू १० वा २० वर्षपछि समाज र विभिन्न कम्पनीहरूको जिम्मेवार पदमा पुग्नेछन्। यदि उनीहरूले आजैदेखि आफ्ना अधिकांश निर्णयहरू एआईको भनाइका आधारमा गर्न थाले भने उनीहरूले आफैँ सही निर्णय लिन कहिले सिक्ने?’ उनले प्रश्न गरे, ‘उनीहरूको सम्पूर्ण ज्ञान र अनुभव एआईकै मात्र हुनेछ। मेरा लागि यो स्थिति अत्यन्तै चिन्ताजनक हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?