News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरूले सुशासन र परिवर्तनका लागि रास्वपासँग आफ्नो विचार मिलेको बताएका छन् ।
- नेता वर्षमान पुनले रास्वपा र आफ्नो पार्टीबीच सुशासनको एजेण्डामा निकट सहकार्य भएको भन्दै भने, "तपाईंहरू र हाम्रा विषयमा कैयौं समानताहरू छन् ।"
- जनमत पार्टीका अध्यक्ष सिके राउतले रवि लामिछानेलाई "तपाईं विपी कोइरालापछिको नेता हुन सक्नुहुन्छ जसले यो देशलाई डोर्याउन सक्दछ" भनी बताएको स्मरण गरे ।
७ असार, काठमाडौं । पुराना राजनीतिक दलहरूले आफूहरू राष्ट्रिय स्वतन्त्र पार्टीसँगै रहेको सन्देश दिन खोजेका छन् । रास्वपा महाधिवेशनमा सम्बोधन गर्दै उनीहरूले खासगरी सुशासन,आर्थिक विकास र जनताको परिवर्तनको चाहना सम्बोधनका सन्दर्भमा सँगै रहेको सन्देश दिने प्रयास गरेका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले आफ्नो पार्टीसँग रास्वपाको तुलना गर्दै भने,‘तपाईंहरू र हाम्रा विषयमा कैयौं समानताहरू छन् । हामी दुवै शक्ति निरन्तरतालाई क्रम भंग गरेर आफ्नो राजनीतिक बाटो तय गरेका हौं ।’
नेपाली कम्युनिस्ट पार्टी नेपालमा समावेशितासहितको गणतन्त्रको परिकल्पना गर्दै १० वर्षे सशस्त्र युद्धबाट स्थापित भएको दल हो । रास्वपा नेपालका सुशासन र समृद्धिको चाहना पूरा गर्ने सपना बोकेर उदाएको दल हो ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि भएको गत २१ फागुनको निर्वाचनमा रास्वपाले दुई सिट कम दुई तिहाइ बहुमत ल्यायो र सरकार चलाइरहेको छ ।
हालको नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन नेकपा माओवादी) पनि शान्ति प्रक्रियापछिको २०६४ सालको पहिलो संविधान सभामा सबैभन्दा ठूलो दलको रुपमा उदाएको हो ।
यी पृष्ठभूमलाई एकै ठाउँमा राखेर नेता पुनले रास्वपा र आफूहरूको पार्टीलाई निरन्तरतालाई क्रमभंग गरेर आएको दल भनेका हुन् ।
पृष्ठभूमि भएपनि एजेण्डामा आफूहरू नजिक रहेको उनले बताए । विगतमा सरकारमा रहँदा सुशासनको पक्षमा काम गरेको पनि स्मरण गरे ।
‘सुशासनको एजेण्डामा नेकपा र रास्वपा जतिको निकट सहकार्य सायद अरूका बीचमा भएको छैन’ उनले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि रास्वपा र आफूहरूले फरक मोर्चाबाट एउटै कुरा उठाउँदै आएको स्मरण गरे ।
२०४६ सालपछि निश्चित दलको सेटिङमा मुलुक चलेको र त्यो तोड्नुपर्छ भन्नेमा आफूहरूको समान धारणा रहेको बताए । चुनावमा जनताले रास्वपालाई विश्वास गरेको स्मरण गर्दै उनले रास्वपासँगको निकटा देखाउने प्रयास गरे ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले त आफूले रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लाग्दा त्यो राजनीतिक प्रतिशोध भएको भनेर चलेको हस्ताक्षर अभियानमा सरिक भएको स्मरण गरे ।
रवि लामिछानेसँग अघिल्लो प्रतिनिधिसभामा रहँदा घण्टौं छलफल गरेको, रवि लामिछाने जेलमा रहँदा भेट्न गएर छलफल गरेको स्मरण गरे ।
रास्वपालाई जस्तै देश बनाउने हुटहुटी लिएर राजनीतिमा लागेको स्मरण गरे । यहाँनेर उनले रास्वपा सभापति लामिछानेलाई कांग्रेसका संस्थापक नेता विपी कोइरालासँग तुलना गरे ।
‘मैले एउटा सार्वजनिक कार्यक्रममा भनेको थिँए । तपाईं विपी कोइरालापछिको नेता हुन सक्नुहुन्छ जसले यो देशलाई डोर्याउन सक्दछ’ राउतले भने, ‘तपाईं आन्दोलन गर्नेतिर लाग्नुहोस्, सत्तातिर नलाग्नुहोस् भनेको थिएँ ।’
आन्दोलन पनि भएको र जनताले दुई तिहाइ बहुमत दिलाइएको बताए । रवि लामिछानेसँग आफूले भविष्य देख्दै आएको पनि बताए ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा त्रुटि रहेको भन्दै सच्याउन आग्रह गरे । खुलेरै उनले रास्वपासँग निकटता देखाउने प्रयास गरेनन् तर संविधानमा आवश्यक सुधार गर्ने गरी रास्वपा नेतृत्वको सरकार अगाडि बढ्दा साथ रहने विश्वास दिलाउने प्रयास गरे ।
गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता जस्ता संविधानमा रहेका महत्वपूर्ण पक्षलाई थब सबल र बलियो बनाउँदै संविधानलाई सर्वस्वीकार्य बनाउन अध्यक्ष यादवले गरेका छन् । महाधिवेशनमै शुभकामना दिनेक्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि रास्वपाले फागुन २१ को निर्वाचनमा पाएको मतलाई सम्मान गरेर अझै १५/२० वर्ष सरकार सञ्चालन गर्न शुभकामना दिए ।
उनले आफूले नेपालमा वैकल्पिक शक्तिको आवश्यक ठानेर नयाँ शक्तिको स्थापना गरेको पनि बताए । उनले आफूले सुरु गरेको अभियानको संस्थागत रुप रास्वपा भएको पनि बताए ।
प्रतिक्रिया 4