+
+
Shares

रास्वपा महाधिवेशनमा गएका गगन, नगएका हर्क

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते २०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा आमन्त्रण गरिए पनि श्रम संस्कृति पार्टीका नेता एवं धरानका मेयर हर्क साम्पाङ सहभागी भएनन् ।
  • चितवनमा आयोजित महाधिवेशनमा नेपाली कांग्रेसका नेता गगन थापा र एमाले नेता प्रदीप ज्ञवाली लगायतका विभिन्न दलका नेताहरू सहभागी भए ।
  • महाधिवेशनमा सहभागी नभई धरानका मेयर साम्पाङले दिनभर रुखबिरुवा गोडमेल गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेर समय बिताए ।

७ असार, काठमाडौं । संसद्को सबैभन्दा ठूलो पार्टी रास्वपाको पहिलो महाधिवेशनमा हर्क साम्पाङ गएनन् । दोस्रो ठूलो पार्टी कांग्रेसका सभापति गगन थापा चितवन गएर आधारभूत राजनीतिक संस्कारलाई निरन्तरता दिएको प्रसंग भन्दा संसदको पाँचौँ दल श्रम संस्कृति पार्टीका तर्फबाट रास्वपालाई शुभकामना दिन नगएका हर्क साम्पाङको प्रसंग महाधिवेशनका क्रममा उठेको छ ।

हर्क साम्पाङ र रास्वपा नेताहरुबीच सुमधुर सम्बन्ध छैन । बालेनले हर्कलाई संसद्‌मा, फेसबुकमा स्नेह दर्शाएको देखिए पनि व्यवहारमा हर्क विरक्तिएकै छन् । रास्वपा महाधिवेशनको उद्घाटनका बेला उनले फेसबुकमा गरेका परोक्ष टिप्पणी हेर्दा त्यो अझै स्पष्ट हुन्छ ।

रास्वपा उम्मेदवारबाट स्वयं चुनावमा हराइएका कांग्रेस सभापति गगन थापाले उद्घाटनमा बधाई दिँदै भने, ‘हामी प्रतिष्पर्धी हौं, दुस्मन होइनौं ।’ उनले मुद्दाका आधारमा समर्थन र विरोध हुनसक्ने, तर त्यसलाई दुश्मनीको विषय बनाउन नहुनेतर्फ सचेत गराए ।

तर हर्कले भने रास्वपा मेलामा जानु साटो दिनभर रुखबिरुवा गोडमेल गरेको सातवटा भिडियो फेसबुकमा हालेर बसे । झाडीमा जाँदा लगाएको सेतो निलो टिसर्टमा उनले आफ्नै अनुहारजत्रो तस्वीर सजाएका थिए । उनी हर्कवादका प्रणेता पनि हुन् ।

आज पोस्ट गरेको एउटा भिडियोमा हर्कले भनेका छन्, ‘यी ठूला बिरुवाहरुले गर्दा यो सानो बिरुवालाई हेर त, कस्तो मार परेको रहेछ ।’ त्यसको कमेन्टमा धेरै फेसबुक प्रयोगकर्ताले चितवन नगएको, रास्वपालाई शुभकामना नभनेकोमा कटाक्ष र आलोचना गरेका छन् ।

हर्क साम्पाङ उनै हुन्, जो धरानमा मेयर छँदा उपमेयर र वडाध्यक्षले शुभकामना, शुभयात्रा नभनेको विषयलाई चर्काएका थिए । शिष्टाचारका विषयमा संवेदनशील देखिने हर्क साम्पाङ राजनीतिक औपचारिकताकै खातिर भए पनि किन रास्वपा सम्मेलनमा गएनन् त ?

श्रम संस्कृतिका केन्द्रीय तहका एक नेताले भने, ‘उहाँलाई संसद्‌मा सत्तापक्षले गरेको, सभामुखले गरेको व्यवहार चित्त बुझेको छैन । राष्ट्रियतामा सरकार चुक्यो भन्ने पनि छ । अरु पार्टीले के गर्छन् भन्नेमा चासो छैन, आफ्नै तरिकाको हुनुहुन्छ ।’

साम्पाङ नगए पनि पार्टी प्रतिनिधि किन महाधिवेशनमा नपठाएको भन्ने प्रश्नको जवाफमा ती नेताले त्यो विषय साम्पाङलाई नै सोध्नु उचित हुने बताए ।

साम्पाङसँग फोनमा कुरा गर्न खोज्दा सफल हुन सकेन ।

कवि भीमनिधि तिवारीले कुनै बेला लेखेका थिए:

‘ओठले नहाँसे पनि दाँतले हाँस्नुपर्छ
मनले बहिष्कार गरे पनि मुखले नमस्कार गर्नुपर्छ ।’

प्रचण्डले कुनै बेला संसद्‌मा बालेन र हर्कलाई लोकतान्त्रिक गणतन्त्रका सुन्दर फूल भनेका थिए । बालेन चितवनमा पुग्दा हर्क भने रुखबिरुवा गोडमेल गर्दैगरेका आधा दर्जनभन्दा बढी भिडियो बढ्तै पोस्ट गरिरहेका थिए ।

गगन थापादेखि, प्रदीप ज्ञवाली र वर्षमान पुनसम्म, राजेन्द्र लिङदेनदेखि सीके राउतसम्म, बाबुराम भट्टराईदेखि विभिन्न नेताहरु रास्वपा महाधिवेशनमा पुग्दा हर्क साम्पाङले सामान्य राजनीतिक शिष्टाचार देखाउन चुके । अनि त उनले भीमनिधि तिवारीको यो कविता कार्यान्वयन गर्ने चाहना राखेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?