+
फिफा विश्वकप २०२६ :

नेपाल आइपुगे भारतीय लेजेन्ड भाइचुङ भुटिया (तस्वीरहरू)

२०८३ असार  ९ गते १६:४७ २०८३ असार ९ गते १६:४७

भुटिया विशेष प्रिम्याच तथा पोस्ट म्याच शोमा सहभागी हुनेछन् । आजै बेलुका उनी प्रिम्याच र पोस्टमा सहभागी हुने हिमालय स्पोर्ट्सले जनाएको छ ।

९ असार, काठमाडौं । दक्षिण एसियाली फुटबलका चर्चित खेलाडी तथा भारतीय फुटबलका पूर्व कप्तान भाइचुङ भुटिया फिफा विश्वकप २०२६ को विशेष प्रिम्याच र पोस्ट म्याच कार्यक्रममा सहभागी हुन नेपाल आइपुगेका छन् ।

भुटिया मंगलबार दिउँसो नेपाल आइपुगेका हुन् । उनलाई हिमालय स्पोर्ट्स टेलिभिजनका सीईओ सुरज गिरीलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

नेपालमा फिफा विश्वकप २०२६ को आधिकारिक तथा विशेष प्रसारणकर्ता हिमालय स्पोर्टस्‌ले भुटियाको सहभागितासहित विश्वकप प्रसारण अभियानलाई थप आकर्षक बनाउने घोषणा गरिसकेको छ ।

यस अवसरमा हिमालय स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक सुरज गिरीले विश्वकप प्रसारणको हिस्सा बन्न भाइचुङ भुटियालाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । नेपाली फुटबल स्टारहरूसँगै उनको उपस्थितिले देशभरका फुटबल समर्थकका लागि विश्वकप अनुभवलाई अझ स्मरणीय बनाउने उनको भनाइ छ ।

भुटिया विशेष प्रिम्याच तथा पोस्ट म्याच शोमा सहभागी हुनेछन् । आजै बेलुका उनी प्रिम्याच र पोस्टमा सहभागी हुने हिमालय स्पोर्ट्सले जनाएको छ । कार्यक्रममा नेपालका चर्चित फुटबल खेलाडी तथा फुटबलसँग सम्बन्धित व्यक्तित्वहरूको समेत सहभागिता रहने छ।

भुटिया भारतीय फुटबलका पूर्व कप्तान तथा देशकै सर्वाधिक सफल र चर्चित खेलाडी हुन्, जसलाई ‘सिक्किमीज स्निपर’ उपनामले चिनिन्छ । सिक्किमको एक मध्यमवर्गीय किसान परिवारमा जन्मिएका उनले सानै उमेरदेखि फुटबलमा असाधारण प्रतिभा देखाउँदै अन्तर्राष्ट्रिय स्तरमा भारतको प्रतिनिधित्व गरे ।

सन् १९९० र २००० को दशकमा भारतीय फुटबललाई नयाँ उचाइमा पुर्‍याएका भुटिया युरोपेली क्लब (बेरी एफसी) सँग सम्झौता गर्ने पहिलो भारतीय फुटबलर हुन् । उनले भारतका लागि १०० भन्दा बढी खेल खेल्दै ४० भन्दा बढी अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

विश्वकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिताप्रति दर्शकको उत्साह बढिरहेका बेला भुटिया तथा नेपाली फुटबल हस्तीहरूको उपस्थितिले नेपाली दर्शकका लागि विश्वकप अनुभवलाई थप विशेष बनाउने अपेक्षा गरिएको छ।

फिफा विश्वकप २०२६ का खेलहरू नेपालमा हिमालय स्पोर्टस् एचडीमार्फत टेलिभिजनमा तथा डिजिटल प्लेटफर्म डीजीओमार्फत प्रसारण भइरहेको छ । दर्शकले टेलिभिजनका लागि ९९९ रुपैयाँ र मोबाइलमार्फत डीजीओमा ५४९ रुपैयाँको प्याकेज खरिद गरी प्रतियोगिता हेर्न सक्नेछन् ।

विश्वकप प्रसारण अभियानमा रेड बुल शीर्ष प्रायोजकका रूपमा रहेको छ भने प्रोटोन ईमास सह–प्रायोजकका रूपमा जोडिएको छ। त्यसैगरी कोकाकोला प्रस्तुतकर्ता साझेदारका रूपमा सहभागी रहेको छ।

रियल जुस, वाईवाई चाउचाउ तथा टीभीएस मोटरसाइकल पनि साझेदारका रुपमा जोडिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिताले विश्वकपको नेपाली प्रसारण अभियानलाई थप व्यापक र प्रभावकारी बनाउने विश्वास गरिएको छ।

हिमालय स्पोर्ट्स नेपालमा स्थानीय तथा अन्तर्राष्ट्रिय खेलकुद सामग्री प्रसारण गर्ने प्रमुख स्पोर्ट्स प्लेटफर्म हो । जुन फिफा विश्वकप २०२६ को नेपालका लागि आधिकारिक तथा विशेष प्रसारणकर्ता पनि हो ।

तस्वीरहरू

फिफा विश्वकप फिफा विश्वकप २०२६ भाइचुङ भुटिया हिमालय स्पोर्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय