+
+
Shares

बीसीए विद्यार्थी केन्द्रित राष्ट्रिय ह्याकाथन ‘केएमसी ह्याकभर्स’ सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १६:५४

९ असार, काठमाडौं । बागबजारस्थित काठमाडौं मोडल कलेज (केएमसी)को टेकभर्स क्लबद्वारा आयोजित बीसीए विद्यार्थीका लागि समर्पित राष्ट्रियस्तरको ह्याकाथन ‘केएमसी ह्याकभर्स’ सफलतापूर्वक सम्पन्न भएको छ। बीसीए विद्यार्थीका लागि यस्तो ह्याकाथन नेपालमै पहिलो पटक आयोजना गरिएको कलेजको दाबी छ ।

असार ५ देखि ७ गतेसम्म केएमसी परिसरमा सञ्चालन गरिएको ४८ घण्टे ह्याकाथनमा देशभरका विभिन्न कलेजबाट छनोट भएका विद्यार्थी टोलीले सहभागिता जनाएका थिए।

कार्यक्रममा सहभागी टोलीहरूले वास्तविक जीवनका समस्या समाधान गर्न लक्षित विभिन्न नवप्रवर्तनात्मक तथा प्रविधिमूलक परियोजनाहरू विकास गरेका थिए ।

उद्घाटन सत्रमा सहभागी विद्यार्थीलाई ह्याकाथनको उद्देश्य, नियमावली तथा मूल्याङ्कन प्रक्रियाबारे जानकारी गराइएको थियो। कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान फेडेरेसन) का कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले प्रविधि, नवप्रवर्तन र सहकार्यमार्फत समाजका वास्तविक समस्याहरूको समाधान खोज्न सहभागीहरूलाई प्रेरित गरे ।

प्रतियोगिताका क्रममा सूचना प्रविधि तथा नवप्रवर्तन क्षेत्रका विज्ञ र उद्योगसँग आबद्ध मेंटरहरूले सहभागी टोलीहरूलाई आवश्यक मार्गदर्शन प्रदान गरेका थिए।

समापन समारोहमा टोलीहरूले आफ्ना परियोजना तथा प्रोटोटाइपहरू विशेषज्ञ निर्णायक मण्डलसमक्ष प्रस्तुत गरेका थिए। परियोजनाहरूको मूल्याङ्कन नवप्रवर्तन, प्राविधिक कार्यान्वयन, व्यवहारिकता, प्रभावकारिता तथा प्रस्तुतीकरणका आधारमा गरिएको थियो।

प्रतियोगितामा काठमाडौं मोडल कलेजका कसम थापा मगर, सम्राट घिमिरे र अशोक चौधरी सम्मिलित ‘टिम इनोभेटर्स’ले प्रथम स्थान हासिल गर्न सफल भएको थियो। त्यसैगरी, प्राइम कलेजका उत्सव डंगोल, संचित महर्जन, अमित राउत तथा बिशेष महर्जन सम्मिलित ‘टिम मेन्टोस’ प्रथम उपविजेता बनेको थियो । न्यु समिट कलेजका अंकिता मैनाली, योगेश दाहाल र आयुष श्रेष्ठ सम्मिलित ‘टिम ए सोल्भ जेड’ द्वितीय उपविजेता घोषित भयो ।

विजेता तथा उपविजेता टोलीहरूलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। साथै विभिन्न साझेदार संस्थाहरूबाट प्रायोजित गिफ्ट भौचर, तालिम तथा प्रविधिसम्बन्धी विशेष सुविधासमेत उपलब्ध गराइएको आयोजकले जनाएको छ। प्रतियोगितामा प्रदान गरिएका पुरस्कारहरूको कुल मूल्य एक लाख रुपैयाँभन्दा बढी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?