+

एनओसी अवार्डमा उसुका विजय र कराँतेकी एरिका सर्वश्रेष्ठ खेलाडी

२०८३ असार  ९ गते २२:३६ २०८३ असार ९ गते २२:३६

९ असार, काठमाडौं । जुडोका विजय सिंजाली र कराँतेकी एरिका गुरुङ मङगलबार एनओसी अवार्ड २०२६ मा सर्वश्रेष्ठ खेलाडी घोषित भएका छन् ।

पुरुषतर्फ विजय र महिलातर्फ एरिकाले एनओसी अवार्ड हासिल गरेका हुन् । यसैगरी कराँतेकै कुशल श्रेष्ठ एनओसी उत्कृष्ट पुरुष प्रशिक्षक र कबड्डीकी हरिना थापा एनओसी उत्कृष्ट महिला प्रशिक्षक चुनिए ।

एनओसी उत्कृष्ट युवा खेलाडी २०२६ बाट बक्सिङका नुर्बु थेन्डुप शेर्पा र टेनिसकी शिभाली गुरुङ पुरस्कृत भए । बक्सर नुर्बु एनओसी सर्वश्रेष्ठ युवा पुरुष खेलाडी र शिवाली एनओसी उत्कृष्ट महिला युवा खेलाडी घोषित भएका हुन् ।

एनओसी उत्कृष्ट खेल पत्रकार प्रिन्टको अवार्ड खेलाडी डटकमका सम्पादक अजय फुयालले प्राप्त गरे । हाम्रो खेलकुदकी वरिष्ठ संवाददाता सरिता श्रेष्ठले एनओसी उत्कृष्ट अनलाइन खेल पत्रकारको अवार्ड प्राप्त गरिन् ।

एनओसी सर्वश्रेष्ठ क्यामरापर्सनबाट सुदर्शन रञ्जित पुरस्कृत भए । नेपाल कराँते महासंघ उत्कृष्ट संघ घोषित भयो । हरेक विधाका विजेता खेलाडीहरुले ५० हजार रुपियाँ, ट्रफीसहित कार्पेट पुरस्कारस्वरुप प्राप्त गरे । न्यु होराइन कार्पेट प्रा.लिले विजेताहरुलाई कार्पेट प्रायोजन गरेको हो ।

यसैगरी एनओसी प्रेसिडेन्सिल अवार्डबाट अशोकरत्न वज्राचार्य, गीता राणा, चतुरानन्द राजवैद्य, नेपाल भूतपूर्व खेलाडी मञ्च, शरदचन्द्र शाह मेमोरियल फाउन्डेसन, थन्डरबोल्ट स्पोर्ट्स एकेडेमी (जेम्स स्कुल), सुर्यलाल भण्डारी र लक्ष्मी श्रेष्ठ सम्मानित भए ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले विजेताहरुलाई बधाई दिँदै हरेक वर्ष जुन २३ को दिन ओलम्पिक दिवस मनाउने क्रममा एनओसीले अवार्ड कार्यक्रम गर्दै आएको बताए ।

यसैगरी एनओसीका महासचिव राजीव श्रेष्ठले धन्यवाद ज्ञापन गरे भने अवार्ड कार्यक्रमका संयोजक तथा एनओसीका उपाध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले स्वागत मन्तव्य राखेका थिए ।

एनओसी अवार्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय