१२ असार, काठमाडौं । हिजो अत्यधिक गर्मी झेलेका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरूमा आज पनि तातो हावा चल्ने सम्भावना कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा चल्ने तथा बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा तापक्रम बढेर तातो दिन हुने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो असार ११ गते देशका अधिकांश सहरहरूमा अत्यधिक गर्मी महसुस गरिएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो कैलालीको धनगढी, बाँकेको नेपालगञ्ज र रुपन्देहीको भैरहवामा तातो हावाको लहर (लु) चलेको थियो ।
हिजो नेपालगञ्जमा सबैभन्दा बढी ४०.७ डिग्री सेल्सियस अधिकतम तापक्रम रेकर्ड गरिएको थियो । यसैगरी धनगढीमा ३९.८ र भैरहवामा ३९.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।
यस्तै डडेलधुरा, डोटीको दिपायल, सुुर्खेतको वीरेन्द्रनगर, जुम्ला, दाङको घोराही, कास्कीको पोखरा, बाराको सिमरा, चितवनको भरतपुर र संघीय राजधानी काठमाडौंमा तातो दिन थियो ।
हिजो दिपायलमा ३८.७, वीरेन्द्रनगरमा ३७.९, भरतपुरमा ३७.५, सिमरामा ३७, पोखरामा ३२.५, काठमाडौंमा ३१, जुम्लामा २९.५ र डडेलधुरामा २८.९ डिग्री सेल्सियस अधिकतम तापक्रम पुगेको थियो ।

आजको मौसम पूर्वानुमान
आज दिउँसो र राति देशका हिमाली तथा पहाडी भागहरूमा सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, उच्च हिमाली क्षेत्रमा हिमपातको समेत पूर्वानुमान गरिएको छ ।
साथै तराईका जिल्लामा तातो हावा चल्ने र तातो दिन कायम रहने सम्भावना छ ।
महाशाखाले तातो हावा चल्ने र तापक्रम वृद्धि हुने क्षेत्रका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन विशेष आग्रह गरेको छ ।
प्रतिक्रिया 4