+
फिफा विश्वकप २०२६ :

समूह ‘एल’: इंग्ल्यान्डलाई समूह विजेता बन्ने मौका, नकआउट पुग्न ‘गर या मर’ को अवस्थामा क्रोएसिया

२०८३ असार  १३ गते १५:०८ २०८३ असार १३ गते १५:०८

इंग्ल्यान्डले पानामाको र क्रोएसियाले घानाको सामना गर्नेछन्

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को समूह ‘एल’ अन्तर्गत आइतबार बिहान हुने अन्तिम खेलहरूले नकआउट चरणमा पुग्ने बाँकी टोलीहरूको टुंगो लगाउनेछन् ।
  • अंक तालिकाको शीर्ष स्थानमा रहेको इंग्ल्यान्ड समूह विजेता बन्ने लक्ष्यका साथ पानामाको सामना गर्दैछ ।
  • क्रोएसिया घानालाई हराएर वा बराबरी खेल्दै नकआउट चरणमा आफ्नो स्थान पक्का गर्ने रणनीतिका साथ मैदान उत्रनेछ ।

१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । ९ समूहका खेलहरू सकिँदा आइतबार बाँकी ३ समूहका ६ खेल हुन लागेका हुन् । यी खेलहरूले नकआउट चरण (राउन्ड अफ ३२) मा पुग्ने अन्तिम टोलीहरूको टुंगो लगाउनेछन् । हालसम्म २८ टोलीले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् ।

आइतबार बिहान पौने २ बजे समूह ‘एल’ अन्तर्गतका दुई खेलहरू एकैसाथ सुरु हुनेछन् । जसमा इंग्ल्यान्डले पानामाको र क्रोएसियाले घानाको सामना गर्नेछन् । इंग्ल्यान्ड र पानामाबिचको खेल न्यूयोर्क न्यू जर्सी रंगशालामा हुनेछ भने सोही समयमा फिलाडेल्फिया रंगशालामा क्रोएसिया र घाना आमनेसामने हुनेछन् ।

समूह विजेता बन्ने इंग्ल्यान्डको दाउ

समूह ‘एल’ को आफ्नो अन्तिम खेलमा इंग्ल्यान्डले पानामाको सामना गर्दैछ । नकआउट चरण पुगेको इंग्ल्यान्ड यो खेल जित्दै समूह विजेता बन्न चाहन्छ । क्रोएसियालाई ४–२ ले हराएको इंग्ल्यान्ड दोस्रो खेलमा घानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

इंग्ल्यान्ड २ खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा छ । इंग्ल्यान्डसँग खेल्न लागेको पानामा २ खेलबाट अंकविहीन रहँदै पुछारमा छ । पानामाको यो विश्वकपको यात्रा समूह चरणमै टुंगिइसकेको छ । यसअघिका खेलहरूमा घाना र क्रोएसियासँग समान १–० ले पराजित भइसकेकाले पानामा प्रतियोगिताबाट बाहिरिएको हो । आजको खेल पानामाका लागि केवल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।

कप्तान ह्यारी केन इंग्ल्यान्डका लागि प्रमुख गोलकर्ता हुन्, जसले लगातार तेस्रो पटक विश्वकपमा इंग्ल्यान्डको नेतृत्व गरिरहेका छन् । पहिलो खेलमा २ गोल गरेका केन पानामाका लागि घातक बन्न सक्छन् । अर्कोतर्फ, मिडफिल्डर अडालबर्टो कारास्किला पानामाको मिडफिल्डका मुख्य हतियार हुन् । उनी खेलको गति निर्धारण गर्न र अवसरहरू सिर्जना गर्न माहिर छन् ।

घानालाई रोक्दै नकआउटमा पुग्ने क्रोएसियाको लक्ष्य

पछिल्ला दुई विश्वकपमा क्रमश: दोस्रो र तेस्रो स्थान हासिल गरेको क्रोएसियाले आज घानाको सामना गर्दैछ । सन् २०२२ को विश्वकपको निराशाजनक यात्रापछि उत्कृष्ट पुनरागमन गरेको घाना यो खेलमा कम्तीमा बराबरी खेल्दै नकआउट चरण सुरक्षित गर्न चाहन्छ । क्रोएसिया पनि घानालाई रोक्दै अर्को चरणमा पुग्ने दाउमा छ । घानालाई हराएमा क्रोएसिया सिधै अर्को चरणमा पुग्नेछ भने बराबरीले पनि टोली अगाडि बढ्ने बलियो सम्भावना रहन्छ ।

आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित भए पनि क्रोएसियाले पानामामाथि जित निकाल्दै प्रतियोगितामा पुनरागमन गरेको थियो । अर्कोतर्फ, घाना पनि उच्च मनोबलका साथ मैदान उत्रनेछ । उसले पहिलो खेलमा पानामालाई हराएको थियो भने दोस्रो खेलमा बलियो इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो । यी दुई टोली इतिहासमै पहिलो पटक फिलाडेल्फिया रंगशालामा आमनेसामने हुँदैछन् ।

४० वर्षीय भेट्रान लुका मोड्रिच अझै पनि क्रोएसियाको ‘हार्टबिट’ हुन् । खेललाई नियन्त्रण गर्ने र उत्कृष्ट पासहरू निकाल्ने उनको कला घानाको बलियो रक्षापङ्क्ति तोड्न मुख्य साबित हुन सक्छ । यता, स्ट्राइकर एन्टोइन सेमेन्यो घानाको आक्रमणका सबैभन्दा खतरनाक हतियार हुन् । उनको तीव्र गति र काउन्टर–अट्याक गर्ने क्षमता क्रोएसियाली डिफेन्सका लागि टाउको दुखाइ बन्न सक्छ ।

यो समूहको विजेताले नकआउट चरणमा समूह ई, एच, आई, जे वा के मध्ये कुनै एक समूहको तेस्रो स्थानमा रहने टोलीसँग खेल्नेछ । उपविजेताले भने समूह ‘के’ को दोस्रो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्ने समीकरण छ । यदि यस समूहको तेस्रो स्थानमा रहने टोली उत्कृष्ट बन्दै नकआउटमा पुगेमा उसले समूह ‘के’ को विजेतासँग खेल्नुपर्नेछ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय