+
फिफा विश्वकप २०२६ :

समूह ‘के’: रोनाल्डोको पोर्चुगललाई रोक्ला त कोलम्बियाले ?

२०८३ असार  १३ गते १८:०८ २०८३ असार १३ गते १८:०८

आइतबार बिहान सवा ५ बाट एकैसाथ सुरु हुने खेलहरूमा पोर्चुगल र कोलम्बिया तथा डीआर कंगो र उज्वेकिस्तान भिड्नेछन्  ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ का निर्णायक खेलहरू आइतबार बिहान सवा ५ बजेदेखि सुरु हुँदैछन्।
  • समूह विजेता बन्नका लागि पोर्चुगल र कोलम्बियाबीच मियामी स्टेडियममा प्रतिस्पर्धा हुनेछ भने डीआर कंगो र उज्वेकिस्तान एटलान्टा स्टेडियममा आमनेसामने हुनेछन्।
  • कोलम्बिया र पोर्चुगल यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेका छन् भने डीआर कंगो र उज्वेकिस्तान पहिलो जितको खोजीमा छन्।

१३ असार, काठमाडौं  । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ का अन्तिम चरणका निर्णायक खेलहरू आइतबार बिहान हुँदैछन्  । आइतबार बिहान सवा ५ बाट एकैसाथ सुरु हुने खेलहरूमा पोर्चुगल र कोलम्बिया तथा डीआर कंगो र उज्वेकिस्तान भिड्नेछन्  ।

पोर्चुगल र कोलम्बियाबिचको खेल मियामी स्टेडियममा तथा डीआर कंगो र उज्वेकिस्तानबिचको खेल एटलान्टा स्टेडियममा सञ्चालन हुनेछ  । उक्त समूहमा २ खेलबाट ६ अंक जोड्दै कोलम्बिया शीर्ष स्थानमा छ भने ४ अंक जोडेको पोर्चुगल दोस्रो स्थानमा छ  । दुवै टोली यसअघि नै नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गरिसकेका छन्  । २ खेलबाट १ अंक जोडेको डीआर कंगो र अंकविहीन उज्वेकिस्तानको भने नकआउट चरणमा पुग्ने गणितीय सम्भावना मात्र बाँकी छ  ।

पोर्चुगललाई रोक्ने रणनीतिमा कोलम्बिया

समूह ‘के’ को शीर्ष स्थान तय गर्नका लागि आज दुई हेभिवेट टोली कोलम्बिया र पोर्चुगल आमनेसामने हुँदैछन्  । मियामी स्टेडियममा हुने यस बहुप्रतीक्षित भिडन्तमा दुवै टोली समूह विजेता बन्दै नकआउट चरणमा सहज प्रतिस्पर्धीको बाटो तय गर्ने लक्ष्यमा हुनेछन् ।

कोलम्बिया हाल उत्कृष्ट लयमा छ । आफ्नो पहिलो खेलमा उज्वेकिस्तानलाई पराजित गरेको कोलम्बियाले दोस्रो खेलमा डीआर कंगोमाथि १–० को कठिन जित निकाल्दै शीर्ष दुईमा स्थान पक्का गरिसकेको हो । विपक्षी डिफेन्डरहरूलाई व्यस्त राख्न सक्ने आक्रामक अग्रपङ्क्तिका साथ मैदान उत्रने कोलम्बियालाई मियामीमा दक्षिण अमेरिकी समर्थकहरूको ठुलो साथ रहनेछ ।

यता, स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले भने प्रतियोगितामा मिश्रित सुरुआत गरेको छ । पहिलो खेलमा डीआर कंगोसँग १–१ को आश्चर्यजनक बराबरीमा रोकिएको पोर्चुगलले दोस्रो खेलमा उज्वेकिस्तानलाई ५–० को भारी अन्तरले पराजित गर्दै उत्कृष्ट पुनरागमन गर्‍यो । उपाधि यात्रालाई बलियो बनाउन पोर्चुगल आज कोलम्बियालाई रोक्दै समूह विजेता बन्ने दाउमा हुनेछ ।

पहिलो जितको खोजीमा कंगो र उज्वेकिस्तान

एटलान्टामा हुने खेलमा डीआर कंगो र उज्वेकिस्तान आफ्नो पहिलो जितको खोजीमा मैदान उत्रनेछन् । सन् १९७४ मा पहिलोपटक विश्वकप खेलेको डीआर कंगोको यो दोस्रो विश्वकप सहभागिता हो । उज्वेकिस्तान भने इतिहासमै पहिलोपटक विश्वकपमा छनोट भएको हो ।

डीआर कंगोले आफ्नो पहिलो खेलमा बलियो पोर्चुगललाई १–१ को रोमाञ्चक बराबरीमा रोकेर सबैलाई आश्चर्यमा पारेको थियो । तर, दोस्रो खेलमा कोलम्बियासँग १–० को हार बेहोरेपछि कंगोलाई यो खेल जित्नैपर्ने दबाब छ । उज्वेकिस्तानमाथि जित हात पारेमा डीआर कंगो ४ अंकका साथ तेस्रो स्थानमा रहँदै ‘उत्कृष्ट तेस्रो’ टोलीका रूपमा वा पोर्चुगल पराजित भएमा गोलअन्तरका आधारमा सिधै उप–विजेता बन्दै अन्तिम ३२ मा पुग्न सक्छ ।

पहिलो पटक विश्वकप खेलिरहेको उज्वेकिस्तानका लागि सुरुआती दुई खेलहरू निकै कठिन रहे । पहिलो खेलमा कोलम्बियासँग ३–१ र दोस्रो खेलमा पोर्चुगलसँग ५–० को भारी पराजय ब्यहोरेको उज्वेकिस्तान ऐतिहासिक जितका साथ प्रतियोगिताको सुखद अन्त्य गर्न वा अन्य समूहको नतिजामा निर्भर रहने झिनो गणितीय सम्भावना बलियो बनाउन मैदान उत्रनेछ ।

यो समूहको विजेता हुने टोलीले नकआउटमा समूह ‘डी’, ‘ई’, ‘आई’, ‘जे’ वा ‘एल’ मध्ये एक समूहको तेस्रो स्थानमा रहने टोलीसँग खेल्नेछ । उपविजेता हुने टोलीले समूह ‘एल’ को उप–विजेतासँग प्रतिस्पर्धा गर्नेछ भने तेस्रो स्थानमा रहेर अगाडि बढेमा सो टोलीले समूह ‘एल’ को विजेताको सामना गर्नुपर्नेछ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय