News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को पहिलो खेलमा सहआयोजक क्यानडाले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ।
- इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेका दुवै टोली सोमबार बिहान पौने १ बजे लस एन्जलस स्टेडियममा आमने–सामने हुनेछन्।
- क्यानडाका जोनाथान डेभिड र दक्षिण अफ्रिकाका कप्तान रोनवेन विलियम्सलाई यस खेलका निर्णायक खेलाडीका रूपमा हेरिएको छ।
१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरणका खेलहरु सुरु हुँदैछ । नकआउट चरण अन्तर्गत राउण्ड अफ ३२ को पहिलो खेलमा सहआयोजक क्यानडाले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ ।
दुवै टोलीले आफ्नो फुटबल इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाएका हुन् । दुवै टोली आफ्नो समूहमा उपविजेता बनेका थिए ।
विश्वकपमा पहिलो पटक नआउट चरण खेल्न लागेका यी दुई टोली पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका हुन् ।
बफाना बफाना उपनामले चिनिने दक्षिण अफ्रिका समूह ए को उपविजेताको रुपमा नकआउट चरण पुगेको हो भने क्यानडा समूह बी को उपविजेताको रुपमा समूह चरणबाट अघि बढेको हो ।
यसै विश्वकपबाट थपिएको नयाँ राउण्ड राउण्ड अफ ३२ मा दुई नयाँ टोली दक्षिण अफ्रिका र क्यानडा इतिहास रच्दै पहिलो पटक पुगेका छन् र अब प्रिक्वाटरफाइनल पुग्दै अर्को इतिहास रच्ने लक्ष्यमा छन् ।
दषिण अफ्रिका र क्यानडाबीचको खेल नेपाली समय अनुसार सोमबार बिहान पौने १ बजे सुरु हुनेछ । यो खेल अमेरिकाको लस एन्जलस स्टेडियममा हुनेछ ।
यस खेलको विजेता नेदरल्यान्ड्स र मोरक्कोबीचको खेलको विजेतासँग अन्तिम १६ अर्थात प्रिक्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
राउण्ड अफ ३२ को यो खेल दुई फरक खेल शैली भउको टोलीबीचको प्रतिस्पर्धा हुनेछ ।
क्यानडा आफ्नो शारीरिक शक्ति र गतिको प्रयोग गर्दै खेललाई तीव्र र आक्रामक तरिकाले खेल्न चाहन्छ । क्यानडा उनीहरू दक्षिण अफ्रिकाको मिडफिल्डलाई दबाबमा राख्दै तीव्र गतिको काउन्टर-अट्याक खेल्न मन पराउँछ ।
अर्कोतर्फ, दक्षिण अफ्रिका खेलको विपक्षीको गतिलाई रोक्न ढिलो गतिमा खेल्दै, आफ्नो सङ्गठित संरचनामा रहेर खेल्नेछ । दक्षिण अफ्रिका प्राविधिक रूपमा बलियो टोलीको रूपमा देखिएको छ ।
धेरै जसो टोलीहरू युरोपमा खेल्ने खेलाडीहरूमा निर्भर रहँदा दक्षिण अफ्रिका भने आफ्नो आन्तरिक लिग खेलेका खेलाडीहरुमा निर्भर छ । त्यहाँको लिग च्याम्पियन मामेलोडि सनडाउन्स का खेलाडीहरू बीचको आपसी तालमेल गज्जबको छ ।
यस्तै क्यानडा घरेलु दर्शकहरूको राम्रो समर्थनका साथ नकआउट चरणमा प्रवेश गरेको छ ।
लस एन्जलसमा खेल हुने भएकाले उनीहरूलाई घरेलु मैदान जस्तै वातावरणको फाइदा मिल्नेछ । साथै, युरोपियन लिगहरू खेलेका उनीहरूका खेलाडीहरूसँग यस्ता दबाबपूर्ण नकआउट खेलहरूको राम्रो अनुभव छ ।
समूह चरणको प्रदर्शन
समूह चरणमा दक्षिण अफ्रिका र क्यानडा दुवैको प्रदर्शन मिश्रित रह्यो । दुवैले समान १ खेलमा जित हात पार्दा एक बराबरी खेले भने एक खेलमा पराजित भए । दुवैले आफ्नो समूहमा ४ अंक जोड्यो ।
यस विश्वकपको उद्घाटन खेलमै दक्षिण अफ्रिका सहआयोजक मेक्सिकोसँग २-० पराजित भएको थियो ।
सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको उद्घाटन खेलमा यी दुई टोली भिड्दा १-१ को बराबरी भएको थियो । तर १६ वर्षपछि फेरि उद्घाटन खेलमा भेट हादा दक्षिण अफ्रिका मेक्सिकोसँग पराजित भयो ।
तर त्यसपछि चेक रिपब्लिकलाई १-१ को बराबरीमा रोक्दै पहिलो अंक जोडेको थियो ।
त्यसपछि समूहको तेस्रो तथा निर्णायक खेलमा दक्षिण कोरियालाई १-० ले पराजित गर्दै दषिण अफ्रिका अघि बढेको हो ।
दषिण अफ्रिकाले समूह चरणमा २ गोल मात्र गर्दा ३ गोल बेहोरेको थियो ।
चेक रिपब्लिक विरुद्ध एक गोलले पछि पर्दा तेबोहो मोकोएनाले ८३औं मिनेटमा पेनाल्टीमा बराबरी गोल फर्काएका थिए । कोरिया विरुद्ध दक्षिण अफ्रिकाको लागि थापेलो मासेकोले ६३औं मिनेटमा विजयी गोल गरे ।
अर्कोतर्फ जेसी मार्सको प्रशिक्षणमा रहेको क्यानडाले पहिलो खेलमै बवस्निया एण्ड हर्जगोभिनालाई १-१ को बराबरीमा रोक्दै सुखद सुरुवात गरेको थियो । दोस्रो खेलमा जोनाथान डेभिडको ह्याट्रकिमा कतारलाई ६-० को फराकिलो अन्तरले पराजित गर्दै क्यानडाले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको थियो ।
तर तेस्रो खेलमा स्विट्जरल्यान्डसँग क्यानडा २-१ ले पराजित भयो । समूहमा बवस्नियासागै समान ४ अंक भएपनि गोल अन्तरमा क्यानडा अघि रहेको हो । क्यानडा र बोस्नियाले बराबरी खेलेकोले गोल अन्तरबाट समूह उपविजेताको निर्णय भएको हो ।
दक्षिण अफ्रिकाको पछिल्लो पाँच खेलको नतिजा मिश्रित छ । २ खेल जित्दा २ खेलमा बराबरी गरेको छ भने एक खेलमा पराजित भएको थियो । त्यो हार यसै विश्वकपमा मेक्सिको विरुद्ध थियो ।
यस्तै क्यानडाको पनि पछिल्लो पाँच खेलमा २ जित २ बराबरी र २ हारको नतिजा छ । समूह चरणमा बोस्निया एण्ड हर्जगोभिना विरुद्ध हार पछिल्लो पाँच खेलमा एक मात्र हार थियो ।
हेड टु हेड
दक्षिण अफ्रिका र क्यानडा फिफा विश्वकपमा पहिलो पटक आमने सामने हुन लागेका हुन् ।
यस्तै अन्तर्राष्ट्रिय फुटबलमा भने यी दुई टोलीको यो दोस्रो भेट हुनेछ । सन् २००७ मा डर्बानमा भएको मैत्रीपूर्ण खेलमा दक्षिण अफ्रिकाले क्यानडलाई २-० ले पराजित गरेको थियो ।
क्यानडाका लागि घरेलु मैदानमा खेल्नु फाइदा भएपनि अफ्रिकी टिमहरुसँगको प्रदर्शन भने विगतमा राम्रो छैन । सन् २००१ मा कन्फेडेरेसन कप्मा क्यानडा क्यामरुनसँग २-० ले पराजित भएको थियो भने सन् २०२२ को विश्वकपमा मोरक्कोसँग २-१ ले पराजित भएको थियो ।

हेर्न लायक खेलाडीहरु
यो खेल क्यानडाको अट्याक भर्सेस दक्षिण अफ्रिकाको डिफेन्स जस्तै हुनेछ ।
जोनाथान डेभिड (क्यानडा)
समूह चरणमा कूल ८ गोल गरेको क्यानडाको आक्रमण जोनाथान डेभिडले सम्हालिरहेका छन् । इटालियन क्लब युभेन्ट्सबाट खेल्ने उनले कतार विरुद्ध ह्याट्रिक गरेका थिए ।
क्यानडाका लागि सर्वाधिक गोलकर्ता र समूहको एक खेलमा कप्तानी समेत गरेका जोनाथान डेभिड क्यानडाको लागि हेर्न लायक खेलाडीको रुपमा रहनेछन् र विपक्षी डिफेन्सको नजर उनीमाथि हुनेछ ।
रोनवेन विलियम्स (दक्षिण अफ्रिका)
रोनवेन विलयम्स दषिण अफ्रिकाको गोलकिपर तथा कप्तान हुन् । गोल बचाउने देखि मैदानमा पूर टिमलाई नेनतृत्व गर्ने भूमिकामा उनी छन् ।
दक्षिण अफ्रिकाकै घरेलु टोली मामेलोडि सनडाउन्सबाट खेल्ने विलियम्स विशेषगरी पेनाल्टी बचाउने किपरको रुपमा चिनिन्छन् । उनी बफाना बफाना ब्याकबोन जस्तै हुन् र नकआउट चरणमा हुने दबाबपूर्ण खेलका लागि अझ विशेष हुनेछन् । यदी खेल पेनाल्टी सुटआउटसम्म पुगेमा उनको प्रदर्शन निर्णायक हुनेछ ।
प्रतिक्रिया 4