+
+
Shares

संवैधानिक परिषद्कै बैठकमा बालेनलाई आङ्देम्बेले भने- अब प्रधानमन्त्रीको हैसियतमा चिन्दिनँ

‘तपाईंले संवैधानिक परिषद्का सदस्यहरूबीच चिया खाएर शिष्टाचार कायम राख्दा पनि हुन्थ्यो । त्यसो भएको छैन । प्रधानमन्त्री र संवैधानिक परिषद्का अध्यक्षको हिसाबले हाम्रो चिनजान नै भएको छैन । व्यक्तिगत रूपमा त चिन्छु’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते २१:४८

१९ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले संवैधानिक परिषद्मा प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले अपनाएको कार्यशैलीको विरोध जनाएका छन् ।

संवैधानिक परिषद्का सदस्यसमेत रहेका आङ्देम्बेले निर्वाचन आयोगको रिक्त प्रमुख आयुक्त र आयुक्त सिफारिस प्रक्रियामा संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका हुन् ।

उनले संवैधानिक निकायमा नियुक्ति गर्दा परिषद् सदस्यहरूसँग संवाद गर्नुपर्नेमा त्यसो नगरिएको भन्दै सैद्धान्तिक असहमति जनाएको उनको सचिवालयले जानकारी दिएको छ ।

संवैधानिक परिषद्को बैठक शुक्रबार बसेको थियो । यही बैठकमा आङ्देम्बेले संवेदनशील संवैधानिक निकाय निर्वाचन आयोग लामो समय रिक्त रहन नहुने, तर नियुक्तिको प्रक्रिया अघि बढाउनुअघि परिषद्का सदस्यहरूसँग पर्याप्त छलफल हुनुपर्ने भनाइ राखेको उनको सचिवालयले जनाएको छ ।

‘निर्वाचन आयोगजस्तो संवैधानिक निकाय रिक्त राख्नु हुँदैन, त्यसमा मेरो पनि सहमति छ,’ आङ्देम्बेको भनाइ उधृत गर्दै उनको सचिवालयले भन्यो, ‘तर, तपाईंको जुन खालको शैली छ, त्यसमा सैद्धान्तिक असहमति त छँदैछ । प्रमुख आयुक्तसँगै आयुक्त सिफारिस गर्ने विषयमा यसअघि नै छलफल गर्नुपर्थ्यो । त्यसो नगरेकोमा मेरो घोर आपत्ति छ ।’

आङ्देम्बेको यस्तो असन्तुष्टिपछि प्रधानमन्त्री बालेनले आफूले व्यक्तिगत रूपमा संवादको प्रयास गरेको दाबी गरे । ‘मैले छुट्टाछुट्टै संवाद गर्न खोजेको थिएँ । श्रीमान् (प्रधानन्यायाधीश)सँग पनि कुरा गर्न खोजेको थिएँ । तर बाहिर पत्रकारहरूले उल्टो अर्थ लगाउने रहेछन्,’ बालेनको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।

प्रधानमन्त्रीको जवाफप्रति पुन: प्रतिक्रिया दिँदै आङ्देम्बेले त्यसो भए विपक्षी नेता, सभामुख र राष्ट्रियसभा अध्यक्षसँग प्रत्यक्ष संवाद गर्नु उपयुक्त हुने धारणा राखे ।

‘प्रधानन्यायाधीशलाई किन बोलाउनुहुन्छ तपाईं ? प्रमुख प्रतिपक्षी नेता, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षलाई बोलाएर छलफल गर्न सक्नुहुन्थ्यो,’ उनले भने ।

आङ्देम्बेले प्रधानमन्त्री र संवैधानिक परिषद्का अध्यक्षका रूपमा बालेनलसँग चिनजानसम्म नभएको पनि बताए । ‘तपाईंले संवैधानिक परिषद्का सदस्यहरूबीच चिया खाएर शिष्टाचार कायम राख्दा पनि हुन्थ्यो । त्यसो भएको छैन । प्रधानमन्त्री र संवैधानिक परिषद्का अध्यक्षको हिसाबले हाम्रो चिनजान नै भएको छैन । व्यक्तिगत रूपमा त चिन्छु,’ उनले भने, ‘अस्ति पनि यही कुरा भनेको थिएँ, अहिले पनि अवस्था उस्तै छ । तेस्रोपटक यस्तो नहोस् ।’

यस्तै आङ्देम्बेले राष्ट्रपतिसँग प्रधानमन्त्रीको संवादहीनताप्रति पनि असन्तुष्टि जनाएको स्रोतले बतायो ।

‘हामीबीच संवादहीनता छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच पनि संवादहीनता छ । अब संवैधानिक परिषद्मा पनि त्यही अवस्था देखिन थालेको हो कि, या नियत नै त्यस्तो हो ?,’ आङ्देम्बेले सोधेको प्रश्न उधृत गर्दै उनको सचिवालयले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?