+
फिफा विश्वकप २०२६ :

२०२२ को सेमिफाइनलिस्ट मोरक्कोलाई स्तब्ध पार्ने लक्ष्यमा क्यानडा (प्रिभ्यू)

२०८३ असार  २० गते १२:०४ २०८३ असार २० गते १२:०४

चार वर्षअघि इतिहास रच्दै सेमिफाइनल पुगेको मोरक्को र घरेलु मैदानमा सुखद नतिजा निकालेर इतिहास बनाइरहेको क्यानडाबीच प्रिक्वाटरफाइनलको पहिलो खेल शनिबार राती १०:४५ बजे हुनेछ ।

२० असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा राउण्ड अफ ३२ को खेलहरु सकिएपछि आज राती देखि नै अन्तिम १६ अर्थात प्रिक्वाटरफाइनलका खेलहरु सुरु हुनेछन् ।

नकआउट चरण भएकोले एक खेल हार्दा नै विश्वकपबाटै बाहिरिने भएकोले अहिले हरेक खेल फाइनल जस्तै बनेको छ ।

राउण्ड अफ ३२ को खेलमा पनि चर्को प्रतिस्पर्धा, अप्रत्यासित नतिजाहरु देखिएको छ ।

अन्तिम १६ को पहिलो खेलमा सहआयोजक क्यानडाले चार वर्षअघि सेमिफाइनल पुगेको मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ ।

सन् २०२२ मा कतारमा भएको विश्वकपमा सेमिफाइनल पुगेर सनसनी मच्याएको अफ्रिकन जायन्ट्स मोरक्को र घरेलु मैदानमा पहिलो पटक विश्वकप आयोजना गर्दै नकआउट सम्म पुग्दै खेल नै जितेर इतिहास बनाएको क्यानडाबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।

यो खेल नेपाली समय अनुसार आज राती पौने ११ बजे अमेरिकाको ह्युस्टन स्टेडियममा सुरु हुनेछ ।

पहिलो पटक नकआउट चरणमा पुगेको क्यानडाले राउण्ड अफ ३२ मा अफ्रिकन टोली दक्षिण अफ्रिकालाई नै १-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

यस्तै मोरक्कोले भने राउण्ड अफ ३२ मा तीन पटक विश्वकप उपविजेता बनेको युरोपियन टोली नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।

राउण्ड अफ ३२ मा सबै भन्दा ठूलो भिडन्तको रुपमा हेरिएको खेल जितेको मोरक्को अहिले उच्च लयमा छ र चार वर्षअघिको प्रदर्शनलाई यस पटक पनि निरन्तरता दिने लक्ष्यमा छ ।

उता क्यानडाले यसै विश्वकपमा पहिलो जित हात पार्ने, समूह चरण पार गर्ने र नकआउट चरणमा पनि जित हात पार्ने इतिहास रचिसकेको छ । घरेलु मैदानमै विश्वकप आयोजना हुँदा क्यानडाका लागि यो सबै ऐतिहासिक उपब्धि बनिसकेको छ । अबको यात्रा क्यानडाको फुटबलको लागि बोनस जस्तै हुनेछ ।

फिफा वरियतामा मोरक्को सातौं र क्यानडा ३०औं स्थानमा छ । तर घरेलु मैदानमा इतिहास बनाइरहेको क्यानडा मोरक्कोलाई स्तब्ध पार्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा छ ।

अहिलेसम्मको यात्रा

अमेरिका र क्यानडासँगै सहआयोजकको रुपमा पहिलो पटक विश्वकप आयोजना गरिरहेको क्यानडाले घरेलु मैदानमा इतिहास रचिसकेको छ ।

समूह बी मा रहेको क्यानडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग १-१ को बरारी खेल्दै पहिलो अंक जोडेको थियो । त्यसपटि जोनाथान डेभिडको ह्याट्रिक मदतमा कतारमाथि ६-० को जित निकाल्दै विश्वकपमा पहिलो जित हात पार्‍यो । अन्तिम खेलमा स्विटरज्लयान्डसँग २-१ ले पराजित भएपनि क्यानडा ४ अंक जोडेर समूह उपविजेता हुँदै नकआउट चरणमा प्रवेश गरेको थियो ।

पहिलो पटक नकआउट चरणमा पुगेको क्यानडाले दक्षिण अफ्रिकालाई १-० ले हराएर नकआउट चरणमा पहिलो जित समेत हात पार्‍यो ।

अर्कोतर्फ मोरक्को यस संस्करणमा अपराजित छ । पहिलो खेलमै पाँच पटकको च्याम्पियन ब्राजिल विरुद्ध १-१ को बराबरी खेलेको मोरक्कोले त्यसपछि स्कटल्यान्डलाई १-० र हाइटीलाई ४-२ ले पराजित गरेको थियो । ब्राजिल समान ७ अंक जोडेपनि गोल अन्तर पछि रहँदै मोरक्को समूह सी मा उपविजेता बनेको थियो ।

नकबउट चरणको पहिलो खेलमै नेदरल्यान्ड्ससँग परेको मोरक्कोले डच टोलीलाई पेनाल्टीसुटआउटमा ३-२ ले हरायो । जहाँ गोलकिपर यासिन बोनोउले एक पेनाल्टी बचाएका थिए ।

हेड टु हेड

क्यानडा र मोरक्को अहिलेसम्म फिफा विश्वकपमा दोस्रो पटक आमनेसामने हुन लागेका हुन् । चार वर्षअघि कतारमा भएको विश्वकपमा यी दुई टोली समूह चरणमा भिडेका थिए जहाँ मोरक्को २-१ ले विजयी भएको थियो ।

यस्तै अहिलेसम्म यी दुई टोली चार पटक भेट हुँदा मोरक्को अपराजित छ । मोरक्कोले ३ खेल जित्दा १ खेल बराबरीमा सकिएको छ ।

टिम न्युज

क्यानडाका नियमित कप्तान अल्फोन्सो डेविसले समूह चरणका तीन खेल खेलेका थिएनन् । तर राउण्ड अफ ३२ मा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै उनले यस विश्वकपमा पहिलो खेल खेले । यो क्यानडाको लागि राम्रो खबर हो । तर उनी अझै पहिले जस्तो पूर्ण रुपमा फिट छैनन् । मोरक्को विरुद्ध उनलाई प्रशिक्षक मार्सले पहिलो रोजाईँमा खेलाउने/नखेलाउने निर्णय गरिसकेका छैनन् ।

क्यानडाका इस्माइल कोने चोटका कारण बाहिरिसकेका छन् ।

यस्तै मोरक्को टिममा सबै फिट छन् । नाएफ एगुएर्ड र अब्दे इजालजोउलीलाई लिएर केही शंका भएपनि प्रशिक्षक मोहमेद ओउहेबीका लागि टिम छनोट गर्न सबै खेलाडीहरु उपलब्ध हुनेछन् ।

प्लेअर्स टु वाच

क्यानडाका कप्तान अल्फोसो डेविसको आगमन क्यानडाको लागि प्रेरणा बन्न सक्छ । समूह चरणको खेल गुमाएपनि नकआउट चरणमा दक्षिण अफ्रिका विरुद्ध मैदान फर्केका डेविसको पेस मोरक्कोका डिफेन्सको लागि चुनौती बन्न सक्छ ।

यस्तै दक्षिण अफ्रिका विरुद्ध अन्तिम समयमा गोल गरेका जिताएका मिडफिल्डर स्टेफेन इस्ताक्यियो हेर्न लायक खेलाडी हुनेछन् । यस्तै कतार विरुद्ध समूह चरणमा ह्याट्रिक गरेका मुख्य फरवार्ड जोनाथान डेविडमा पनि नजर हुनेछ ।

मोरक्कोका लागि यस विश्वकपमा मुख्य गोलकर्ता बनेको इस्माइल साइबरीले गज्जबकै प्रदर्शन गरिरहेका छन् । नेदरल्यान्ड्स विरुद्ध साइबरीले निर्णायक पेनाल्टीमा गोल गर्दै मोरक्कोलाई अन्तिम १६ मा पुर्‍याएका थिए । कप्तान तथा डिफेन्सका खम्बा अचरफ हाकिमी मुख्य खेलाडीको रुपमा रहनेछन् । यस्तै ब्राहिम डियाज पनि हेर्न लायक खेलाडी बन्न सक्छन् ।

खेल : क्यानडा भर्सेस् मोरक्को, प्रि क्वाटरफाइनल

फिफा वरियता : क्यानडा ३०, मोरक्को ७
मिति र समय : २० असार, राती २२:४५
स्थान : ह्युस्टन स्टेडियम, अमेरिका
प्रत्यक्ष प्रसारण : हिमालय स्पोर्ट्स

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय