+
फिफा विश्वकप २०२६ :

स्टार खेलाडीले भरिएको फ्रान्स विरुद्ध सरप्राइज टोली पाराग्वे (प्रिभ्यू)

२०८३ असार  २० गते १२:५८ २०८३ असार २० गते १२:५८

फ्रान्स र पाराग्वे अहिलेसम्म विश्वकपमा दुई पटक भेट हुँदै दुवै खेल फ्रान्सले जितेको छ र दुवै खेलमा ठूलो विशेषता पनि छ । जायन्ट किलर पाराग्वे र उपाधिको ठूलो दाबेदार फ्रान्सबीचको खेल आइतबार विहान पौने ३ बजे सुरु हुनेछ ।

२० असार, काठमाडौं । एकातिर वर्तमान विश्व फुटबलकै स्टार खेलाडीहरुले भरिएको फ्रान्स । अर्कोतिर यस विश्वकपमा सरप्राइज नतिजा ल्याउने पाराग्वे ।

यी दुई टोली फिफा विश्वकप २०२६ को दोस्रो प्रिक्वाटरफाइनलमा खेल्दैछन् र सबैको नजर अहिले यही खेलमा छ ।

साविक उपविजेता फ्रान्स र पाराग्वेबीचको खेल आइतबार राती २:४५ बजे अमेरिकाको फिलाडेल्फिया स्टेडियममा सुरु हुनेछ ।

नकआउट चरणमा यस विश्वकपमा सबैभन्दा ठूलो अपसेट नतिजा निकालेको पाराग्वेले चार पटकको विश्व विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।

फ्रान्सले भने स्वीडेनलाई रेगुलर टाइममा ३-० ले पराजित गरेको थियो ।

यस पटक उपाधिको सबैभन्दा ठूलो दाबेदारको रुपमा रहेको फ्रान्स अहिले गज्जबको लयमा छ । फ्रान्सलाई रोक्नु अहिले जुनसुकै टिमका लागि पनि ठूलो चुनौती बन्ने गरेको छ ।

सन् २०१८ मा रुसमा भएको विश्वकपको उपाधि जितेको फ्रान्स सन् २०२२ मा कतारमा पनि फाइनल पुगेको थियो । जहाँ अर्जेन्टिनासँग पेनाल्टीमा पराजित हुँदै उपविेता बनेको थियो ।

लगातार तेस्रो पटक फाइनल पुग्ने र विश्वकप पनि तेस्रो पटक जित्ने लक्ष्यमा फेन्च टोली छ । त्यसैले पनि पाराग्वेका लागि फ्रान्सको चुनौती ठूलो छ ।

तर नकआउटको पहिलो खेलमै जर्मनीलाई हराएपछि दक्षिण अमेरिकी टोली पाराग्वे पनि हौसिएको छ । त्यो जितले पाराग्वे टिमको मोरल समेत बुस्ट भएको छ ।

नकआउट चरणको खेल भएकोले खेलको दिन जस्तो पनि नतिजा आउन सक्छ भने पाराग्वे प्रमाणित गरिसकेको छ ।

अहिलेसम्मको यात्रा

फ्रान्यस जारी विश्वकपमा अपराजित छ । समूह चरणको तीनवटै खेल जित्ने तीन टिम मध्ये एक रहेको फ्रान्सले सबै खेल रेगुलर टाइमम जितेको छ ।

कप्तान किलियन एमबाप्पेसँगै फरवार्ड उसमान डेम्बेले, ब्राडली बार्कोला उत्कृष्ट लयमा छन् र गोल स्कोर पनि गरिरहेका छन् । उनीहरुका लागि मिडफिल्डबाट बल सप्लाई गर्ने असिस्ट किङको रुपमा माइकल ओलिसे छन् ।

समूहको पहिलो खेलमा सेनेगललाई ३-१ ले पराजित गरेको फ्रान्सले त्यसपछि इराकलाई ३-० र नर्वेलाई ४-१ ले पराजित गर्दै समूह विजेता बनेको थियो । एमबाप्पेको २ गोलमा स्वीडेनलाई राउण्ड अफ ३२ मा ३-० ले नै पराजित गर्दै फ्रान्स समूह विजेता बनेको हो ।

फ्रान्सले यस विश्वकपमा खेलेको सबै खेलमा ३ वा सो भन्दा बढी गोल गरेको छ र विश्वकपमा लगातार पाँच खेलमा ३ वा सो भन्दा बढी गोल गर्ने फ्रान्स पहिलो टिम समेत बनेको छ ।

अर्कोतर्फ पाराग्वेको लागि भने यस विश्वकपको यात्रा केही उतारचढावपूर्ण रहेको छ । समूह चरणमा तीन मध्ये एक खेल मात्र जितेको पाराग्वे उत्कृष्ट तेस्रो उपविजेता टोलीमा पर्दै नकआउट चरणमा छनोट भएको थियो । पहिलो खेलमै सहआयोजक अमेरिकासँग ४-१ ले पराजित भएको पाराग्वे दोस्रो खेलमा टर्किएलाई दश खेलाडीमा समेटिएर पनि १-० ले पराजित गरेको थियो । तेस्रो खेलमा अस्ट्रेलियासँग गोलरहित बराबरी खेल्दै समान ४ अंक जोडेपनि अस्ट्रेलिया भन्दा गोल अन्तरमा पछि पर्दै समूहमा तेस्रो भएको थियो ।

राउण्ड अफ ३२ मा जर्मद्दी विरुद्ध गुलियो इन्सिसोको गोलमा पहिलो हाफमा अग्रता समेत लिएको थियो । तर काई हाभार्टले दोस्रो हाफमा बराबरी गोल फर्काएपछि निर्धारित समयम र अतिरिक्त समय १-१ को बराबरीमा सकियो । त्यसपछि पेनाल्टीसुटआउटमा जर्मनीाई ४-३ ले पराजित गर्दै पाराग्वे अन्तिम १६ मा पुगेको हो । जर्मनीका जोनाथान ताहले सडनडेथमा पेनाल्टी मिस गरेपनि जोसे कानालेले पाराग्वेका लागि निर्णायक पेनाल्टीमा गोल गरेका थिए ।

पाराग्वे विश्वकपमा दोस्रो पटक नकआउट चरणको खेल जितेको हो । सन् २०१० मा जापानलाई अन्तिम १६ मा हराउँदै क्वाटरफाइनल पुगेको पाराग्वे फ्रान्सलाई स्तब्ध पार्दै दोस्रो पटक क्वाटरफाइनल पुग्ने लक्ष्यमा छ ।

हेड टु हेड

पाराग्वे र फ्रान्स अहिलेसम्म फिफा विश्वमपा दुई पटक आमने सामने हुँदा दुवै खेल फ्रान्सले जितेको छ । फ्रान्सको लागि ति दुवै जित विशेष छ । सन् १९५८ मा फ्रान्सले पाराग्वेलाई ७-३ ले पराजित गर्दा जस्ट फोन्टेनले ह्याट्रिक गरेका थिए । उक्त विश्वकपमा फोन्टेनले १३ गोल गरेका थिए । यस्तै त्यसको ३० वर्षपछि फ्रान्सले घरेलु मैदानमा विश्वकप आयोजना गर्दा अन्तिम १६ मै फ्रमान्स र पाराग्वेको भेट भएको थियो । जहाँ फ्रान्सले पाराग्वेलाई २-१ ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो । त्यस खेलको विशेषता के थियो भने फ्रान्सका लागि लरेन्ट ब्लाङकले निर्णायक गोल गरेका थिए । फिफा विश्वकपको इतिहासमा त्यो पहिलो गोल्डेन गोल समेत थियो ।

अहिलेसम्म भने फ्रान्स र पाराग्वेबीच कूल ५ खेल भएका छन् जसमा फ्रान्स अपराजित छ । फ्रान्सले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएको थियो । पछि्लो पटक यी दुई टोली सन् २०१७ मा भेट हुँदा फ्रान्स ५-० ले विजयी भएको थियो ।

टिम न्युज

फ्रान्सका मार्कुस थुरामले काल्फ इन्जुरीका कारण नर्वे र स्वीडेन विरुद्धको खेल गुमाएका थिए । यी सेन्टर फरवार्ड पाराग्वे विरुद्धको खेलका लागि पनि शंकामा छन् । यद्यपी डिडियर डेसच्याम्प्सका लागि अट्याकिङ लाइनमा धेरै विकल्पहरु छन् ।

पाराग्वेका लागि सेन्टर ब्याक ओमार अल्डेरेट मांसपेशी चोटका कारण टिमको ट्रेनिङमा उपस्थित छैनन् । उनले जर्मनी विरुद्ध राउण्ड अफ ३२ को खेल पनि गुमाएका थिए । ओमारको उपस्थित शंका रहेपनि पाराग्वेका अन्य खेलाडीहरु भने फ्रान्स विरुद्ध उपलब्ध हुनेछन् ।

मिडफिल्डर डिएगो गोमेजको आगमन पाराग्वेका लागि सकरात्मक खबर बनेको छ ।

पाराग्वेका प्रशिक्षक गुस्ताभो अल्फारोले खेलाडीहरुले पहिलो पटक विश्वकप खेलिरहेकोले चँडै सिक्नुपर्ने र विश्वकै उत्कृष्ट टिमसँग खेल्नु पाउनु ठूलो विषय रहेको बताएका छन् । उनले पाराग्वेको दबाब मुक्त रहेको र इतिहास रच्ने लक्ष्य रहेको बताएका छन् ।

यस्तै फ्रान्सका प्रशिक्षक डिडियर डेस्च्याम्प्सले अन्य दक्षिण अमेरिकी टिम जस्तै पाराग्वेले पनि सुरु देखि नै अन्तिमसम्म अग्रेसिभ खेल्दै कडा फाइट गर्ने बताए । जर्मनी विरुद्धको खेल अग्रेसन मात्र नभएको र अन्तिम १६ मा पुग्नु सामान्य विषय नभएको उनले बताए । पाराग्वेलाई गुमाउनुपर्ने केही नभएको डेस्च्याम्पसले बताएका छन् ।

प्लेअर्स टु वाच

फ्रान्सका लागि कप्तान किलियन एमबाप्पे देखि  माइकल ओलिसेस्म सबै खेलाडी चम्किरहेका छन् । एकबाप्पे ६ गोल सहित सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानमा छन् र गोल्डेन बुटको दाबेदारको रुपमा छन् । अर्जेन्टिनाका लियोनल मेसीले केप भर्डे विरुद्ध गोल गरेपछि ७ गोलसहित सर्वाधिक गोलकर्तामा शीर्ष स्थानमा छन् । त्यसैले एमबाप्पेसामु फेरि मेसीलाई उछिन्ने अवसर पनि हुनेछ । समग्रमा विश्वकपमा मेसीले सर्वाधिक २० गोल गरेका छन् । उनलाई पछ्याइरहेका एमबाप्पेको १८ गोल छ । सबैको नजर एमबाप्पेमा रहने पक्का छ।

यस्तै एमबाप्पेको गोलका लागि असिस्टमा भूमिका खेल्ने ओलिसे ५ असिस्ट गर्दै सर्वाधिक असिस्ट गर्नेमा शीर्ष स्थानमा छन् । उनी विश्वकपमै सर्वाधिह सिस्ट गर्ने डिएगो म्याराडोना र मेसी (८)भन्दा ३ असिस्ट मात्र पछि छन् । ओसिलेको क्रिएटीभिटी र फरवार्डका लागि असिस्ट गर्ने कला उत्कृष्ट छ । त्यसैले उनी हेर्न लायक खेलाडीको रुपमा छन् ।

पाराग्वेका लागि जर्मनी विरुद्ध ओर्लान्ड गिलले उत्कृष्ट प्रदर्शन गरेका थिए । ६ फिट ६ इन्च अग्ला यी गोलकिपर फ्रान्सेली फरवार्डहरुका लागि चुनौती बन्न सक्छ । गिल पाराग्वेका लागि यस खेलमा हेर्न लायक खेलाडीको रुपमा हुनेछन् ।

यस्तै फरवार्ड जुलियो इन्सिसो पाराग्वेको यो यात्राका स्टार खेलाडी हुन् । उनले राउण्ड अफ ३२ मा जर्मनी विरुद्ध पहिले गोल गरेका थिए । लङ रेन्स सुटिङ क्षमता इन्सिसो पाराग्वेका लागि अट्याकिङमा मुख्य हतियार हुन् ।

खेल : पाराग्वे भर्सेस् फ्रान्स, प्रि क्वाटरफाइनल

फिफा वरियता :  पाराग्वे ४१, फ्रान्स ३
मिति र समय : २१ असार, विहान २:४५
स्थान : फिलाडेल्फिया स्टेडियम, अमेरिका
प्रत्यक्ष प्रसारण : हिमालय स्पोर्ट्स

फिफा विश्वकप २०२६
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय