+
+
Shares

खामेनीको अन्त्येष्टिमा छोरा अनुपस्थित, ट्रम्पले के भने ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २० गते १३:१४

२० असार, काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्तिम बिदाइ समारोह सुरु भएको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियनलगायत देशका उच्च नेतृत्व शुक्रबार तेहरानमा खामेनीलाई श्रद्धाञ्जली दिन पुगेका थिए।

यद्यपि, सुरक्षा कारण देखाउँदै आयातुल्लाह अली खामेनीका छोरा मोजतबा खामेनी भने समारोहमा उपस्थित भएनन्।

खामेनीलाई अन्तिम बिदाइ दिन शनिबार लाखौँ मानिसहरू तेहरानको ग्रान्ड मोसल्लामा भेला भएका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा प्रकाशित समाचारहरूका अनुसार, शिया परम्पराअनुसार कालो लुगा लगाएका मानिसहरू छाती पिट्दै शोक मनाइरहेका देखिन्थे। यस क्रममा मानिसहरूले ‘रगत बग्नेछ’, ‘अमेरिका मुर्दावाद’ र ‘बदला, बदला’ जस्ता नारा पनि लगाएका थिए।

तेहरानमा ३ जुलाईदेखि सुरु भएको खामेनीको अन्त्येष्टिसँग जोडिएका संस्कारहरू ९ जुलाईसम्म चल्नेछ।

ट्रम्पले के भने ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले खामेनीको अन्त्येष्टिका लागि इरानलाई एक हप्ताको बिदा (छुट) दिएको दाबी गरेका छन् । ट्रम्पले आफूले मानवताको नाताले यस्तो गरेको बताएका छन्।

कार्यक्रम सकिनेबित्तिकै इरानले अमेरिकी सर्तहरू मान्नुपर्ने ट्रम्पको भनाइ छ।

अन्त्यष्टि कार्यक्रममा के भइरहेछ ?

अन्त्येष्टि कार्यक्रममा १०० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी भएका छन्। तर, रुस, चीन, भारत र टर्की जस्ता देशका शीर्ष नेताहरूले आफ्ना प्रतिनिधिहरूलाई पठाएका छन् ।

उता, पाकिस्तान, इराक, आर्मेनिया, ताजिकिस्तान र जर्जिया जस्ता देशका शीर्ष नेताहरू भने समारोहमा उपस्थित भएका छन्।

फेब्रुअरी २८ को आक्रमणमा मारिएका खामेनीका साथै उनकी १४ महिने नातिनी, छोरी, ज्वाइँ र बुहारीलाई पनि अन्तिम श्रद्धाञ्जली दिइएको छ।

खामेनीको अन्त्येष्टिलाई लिएर तेहरानका सडकहरूमा सेना र प्रहरीको बाक्लो तैनाथी गरिएको छ। सबै मुख्य सडक, चोक र सरकारी भवनहरूबाहिर सेना र प्रहरी बल तैनाथ छन्।

अन्त्येष्टिमा सहभागी हुने सर्वसाधारणका लागि तेहरानमा मेट्रो र सरकारी बसहरू निःशुल्क गरिएका छन्। साथै, होटलको भाडामा ५० प्रतिशत छुट र स्कुल-मस्जिदहरूमा बस्ने व्यवस्था गरिएको छ। अन्य सहरबाट मानिसहरू ल्याउन विशेष ट्रेनहरू पनि सञ्चालन गरिएका छन्।

इरानी सञ्चार माध्यमहरूका अनुसार, अली खामेनीको अन्तिम यात्रा इरानको तेहरान र कोम हुँदै इराकको कर्बला र नजफबाट जानेछ। अन्तमा ९ जुलाईमा मशहदमा उनलाई सुपुर्द-ए-खाक (समाधिस्थ) गरिनेछ।

कतारले खामेनीको अन्त्येष्टिपछि अमेरिका-इरान वार्ताको अर्को चरण पुनः सुरु हुने जानकारी दिएको छ। अर्कोतर्फ, इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीलाई फोर्डो, नतान्ज र इस्फहान आणविक केन्द्रहरूको निरीक्षण गर्न अनुमति दिन अस्वीकार गरेको छ।

इरानी अधिकारीहरूका अनुसार आगामी तीन दिनमा तेहरानमा १.५ देखि २ करोड मानिस खामेनीलाई श्रद्धाञ्जली दिन आउने अनुमान छ। गर्मीबाट बचाउन ६,००० भन्दा बढी वाटर स्प्रिंकलर (पानी छर्कने यन्त्र) जडान गरिएका छन्।

अन्त्येष्टिमा आउने मानिसहरूलाई खाना खुवाउन ५ करोड रोटी तयार गरिनेछ। यसका लागि तेहरानमा १६ वटा घुम्ती बेकरी राखिएका छन्।

इस्लाममा शवमा रासायनिक लेप लगाउन मनाही भएकाले खामेनीको शवलाई चार महिनासम्म बिना कुनै केमिकल केवल कोल्ड स्टोरेजमा राखिएको थियो।

खामेनीको ताबुत वरिपरि रातो ट्युलिप फूल र हावामा उडिरहेका सेता पुतलीहरू राखिएका छन्। शिया समुदायमा रातो फूललाई शहादत र अन्यायविरुद्ध बगेको रगतको प्रतीक मानिन्छ भने सेता पुतलीले सहिदको पवित्र आत्मालाई दर्साउँछ।

विदेशी प्रतिनिधिमण्डलको सूचीमा साउदी अरबको नाम नभए पनि साउदीका उप-विदेशमन्त्री अचानक तेहरान पुगेका छन्।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?