२० असार, काठमाडौं । राष्ट्रियसभाको शनिबारको बैठकको शून्य समयमा सांसदहरूले मनसुनका कारण बाढीपहिरोबाट अवरुद्ध भएका राजमार्ग र सडक यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् ।
सांसदहरूले मुलुकका विभिन्न राजमार्ग तथा सडक बाढीपहिरोका कारण अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको भन्दै तत्काल मर्मतसम्भार गरी यातायात सहज बनाउन आग्रह गरेका हुन् ।
सांसद गोमादेवी तिमिल्सिनाले वर्षायाममा नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको उल्लेख गर्दै मुख्य राजमार्गका अवरोध तत्काल हटाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले मुग्लिन–नारायणगढ–काठमाडौं, डोटी र बैतडी क्षेत्रमा भइरहेका सडक दुर्घटनाप्रति सरकार गम्भीर बन्नुपर्नेमा जोड दिइन् ।
सांसद दुर्गा गुरुङले मनसुन सुरु भएसँगै कर्णालीका विभिन्न जिल्लाका सडक बाढीपहिरोले अवरुद्ध हुँदा बिरामीलाई अस्पताल पुर्याउनसमेत कठिनाइ हुने गरेको गरिन् । उनले बर्सेनि दोहोरिने सडक अवरोधको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग आग्रह गरिन् ।
सांसद नरबहादुर विष्टले सुर्खेत–कालीकोट रुटमा सञ्चालन भइरहेको सार्वजनिक यातायात दैलेखमा हराएको घटनाको आवश्यक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरे ।
सांसद नारायणदत्त मिश्रले सरकारले रासायनिक मल डिएपी महँगो मूल्यमा खरिद गरेको हो कि ? भन्ने प्रश्न उठाउँदै नेपाल र भारतबीच खरिद मूल्यमा देखिएको अन्तरबारे छानबिन हुनुपर्ने माग गरे । –रासस
प्रतिक्रिया 4