+
+
Shares

इन्धनको मूल्य घटेसँगै दैनिक उपभोग्य वस्तु र सेवाको मूल्य घटाउन सरकारको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २१ गते ११:३१

२१ असार, काठमाडौं । सरकारले इन्धनको मूल्यमा भएको उल्लेख्य गिरावटसँगै दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य पनि समायोजन गरी सर्वसाधारणलाई राहत दिन आग्रह गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गर्दै बजारमा रहेका सबै विक्रेता, उद्योगी र व्यवसायीहरूलाई यस्तो अनुरोध गरेको हो । पश्चिम एसियामा देखिएको संकट सामान्य अवस्थामा आएसँगै नेपाल आयल निगमले बुधबारदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टीतेलमा ३० रुपैयाँ र हवाई इन्धनमा ४० रुपैयाँ मूल्य घटाएको छ ।

इन्धनको मूल्य घटेपछि ढुवानी र उत्पादन लागतमा समेत कमी आउने हुँदा त्यसको प्रत्यक्ष लाभ उपभोक्तालाई पुर्‍याउन विभागले ध्यानाकर्षण गराएको छ । ‘आम सर्वसाधारणको जनजीवनलाई सहज बनाउन अत्यावश्यक खाद्य पदार्थ लगायतका सबै वस्तु तथा सेवा सुपथ मूल्यमा उपलब्ध गराउन सम्बन्धित सबै विक्रेताहरूलाई अनुरोध गरिन्छ,’ विभागले जारी गरेको सूचनामा छ ।

यस्तै, विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३ को व्यवस्थालाई स्मरण गराउँदै उपभोक्ताको अधिकार संरक्षण गर्ने दायित्व सबै सरोकारवालाहरूको रहेको उल्लेख गरेको छ । बजारलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन विक्रेता, ढुवानीकर्ता, उद्योगी, व्यवसायीका छाता संस्था तथा उपभोक्ता स्वयं पनि सचेत, जागरुक र जिम्मेवार बन्नुपर्नेमा विभागले जोड दिएको छ ।

इन्धनको भाउ घटे पनि बजारमा खाद्यान्न र अन्य सेवाको मूल्य सोही अनुपातमा नघटेको गुनासो बढिरहेका बेला विभागले यो आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?