२१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ चरणमा आज राति पाँच पटकको च्याम्पियन ब्राजिल र युरोपेली पावरहाउस नर्वेबीच एउटा अत्यधिक रोमाञ्चक र आक्रामक भिडन्त हुँदैछ ।
सन् २००२ यता विश्वकपको उपाधि जित्न नसकेको ब्राजिल महान् प्रशिक्षक कार्लो एन्सेलोटीको रणनीतिमा आफ्नो २४ वर्षे खडेरी तोड्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।
अर्कोतर्फ, जारी विश्वकपका ४ खेलमा १० गोलको कीर्तिमान बनाउँदै मैदानभित्र गोलको वर्षा र मैदानबाहिर आफ्ना समर्थकहरूको गजबको ऊर्जाका कारण सबैको मन जितिरहेको नर्वे ब्राजिलियन टोलीलाई स्तब्ध पार्दै नयाँ इतिहास रच्ने दाउमा छ ।
यो ‘गर या मर’ को दबाबपूर्ण खेलमा दुवै टोलीका प्रशिक्षकहरूको रणनीति त महत्त्वपूर्ण हुने नै छ, तर मैदानभित्र प्रिमियर लिगका पुराना प्रतिद्वन्द्वीहरू र विश्वस्तरीय स्टारहरूबीचको व्यक्तिगत भिडन्तले खेलको नतिजा जुनसुकै मिनेटमा बदल्न सक्छ ।
यसै सन्दर्भमा आजको खेलमा दुवै टोलीका यी ३-३ खेलाडीहरूको प्रदर्शन सबैभन्दा निर्णायक बन्न सक्छ :
ब्राजिल
भिनिसियस जुनियर (विङ्गर) : रियल मड्रिडका यी जादुमयी विङ्गर अहिले ब्राजिलका मुख्य नायक हुन् । जारी विश्वकपको समूह चरणका तीनै खेलमा गोल गरेर सानदार लयमा रहेका भिनिसियसको गति र ड्रिबलिङ क्षमता नै नर्वेको डिफेन्स भत्काउने ब्राजिलको मुख्य हतियार हुनेछ ।
ग्याब्रियल मागल्हास (डिफेन्स) : आर्सनलका यी भरपर्दा सेन्टर-ब्याक डिफेन्डरमाथि आज विश्वकै सबैभन्दा खतरनाक स्ट्राइकर अर्लिङ हालान्डलाई रोक्ने सबैभन्दा ठुलो जिम्मेवारी छ । प्रिमियर लिगमा म्यानचेस्टर सिटीविरुद्ध लामो समयदेखि खेलिरहेका ग्याब्रियललाई हालान्डको कमजोरी र सबल पक्षबारे राम्रो ज्ञान छ ।
एन्ड्रिक (मिडफिल्ड) : १९ वर्षीय यी सनसनीपूर्ण युवा खेलाडीमाथि प्रशिक्षक एन्सेलोटीको विश्वास बढ्दै गएको छ । पाक्वेटा घाइते भएपछि उनले सुरुवाती ११ मै मौका पाएर भिनिसियस जुनियर र कुन्हासँग मिलेर ब्राजिलको आक्रामक मोर्चा सम्हाल्ने प्रवल सम्भावना छ ।
नर्वे
एर्लिङ हालान्ड (स्ट्राइकर) : विश्व फुटबलका ‘गोल मेसिन’ हालान्डले जारी विश्वकपमा ५ गोल गरिसकेका छन् । नर्वेको जर्सीमा ५३ खेलमा ६० गोलको अविश्वसनीय रेकर्ड राखेका हालान्ड र ब्राजिलका डिफेन्डर ग्याब्रियलबीचको शारीरिक र रणनीतिक टक्कर नै यस खेलको सबैभन्दा ठुलो केन्द्रविन्दु हुनेछ ।
मार्टिन ओडेगार्ड (मिडफिल्ड) : आर्सनलका यी प्लेमेकर तथा नर्वेका कप्तान टोलीका वास्तविक ‘मस्तिष्क’ हुन् । मिडफिल्डबाट खेल नियन्त्रण गर्ने र अग्रपङ्क्तिमा हालान्ड र सोर्लोथका लागि ‘किलर पास’ र क्रसहरू उपलब्ध गराउने मुख्य जिम्मेवारी यिनकै काँधमा हुनेछ ।
एन्टोनियो नुसा (विङ्गर) : राउन्ड अफ ३२ मा आइभोरी कोस्टविरुद्ध शानदार कर्लिङ गोल गरेर टोलीलाई जिताएका नुसा अहिले उच्च लयमा छन् । काउन्टर-अट्याकमा उनको द्रुत गति ब्राजिलका विङ्ग-ब्याकहरूका लागि टाउको दुखाइ बन्न सक्छ ।
प्रतिक्रिया 4