२१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ चरणको अर्को बहुप्रतिक्षित र रोमाञ्चक भिडन्तमा भोलि बिहान फुटबलको जननी इंग्ल्यान्ड र उत्तर अमेरिकी पावरहाउस मेक्सिको आमनेसामने हुँदैछन् ।
थोमस टुचेलको प्रशिक्षणमा रहेको ‘थ्री लायन्स’ आफ्नो बलियो र स्टार खेलाडीहरूले भरिएको टोलीको मद्दतले विश्वकपको सुनौलो ट्रफी घर फर्काउने (इट्स कमिङ होम) अभियानलाई जीवित राख्न मैदान उत्रनेछन् ।
अर्कोतर्फ, घरेलु महादेशको फाइदा उठाउँदै र रङ्गशालामा आफ्ना हजारौँ समर्थकहरूको गजबको ऊर्जाका साथ मैदान उत्रने मेक्सिको इंग्ल्यान्ड जस्तो विश्वविजेता दाबेदार टोलीलाई स्तब्ध पार्दै क्वार्टरफाइनलको ऐतिहासिक यात्रा तय गर्न चाहन्छ ।
कागजमा इंग्ल्यान्ड बलियो र महँगा स्टार खेलाडीहरूले भरिएको देखिए पनि मेक्सिको आफ्नो जुझारु शैली र खतरनाक काउन्टर-अट्याकका लागि प्रख्यात छ ।
यो ‘गर या मर’ को दबाबपूर्ण खेलमा गल्ती गर्ने टोली सिधै विश्वकपबाट बाहिरिने हुँदा दुवै टोली निकै संयमित भएर मैदान उत्रने अनुमान गरिएको छ ।
हालसम्मको यात्रा
इंग्ल्यान्डले समूह चरणमा अपराजित रहँदै अन्तिम १६ मा स्थान बनाएको हो । थोमस टुचेलको टोलीले समूह एलमा पहिलो खेलमा क्रोएसियासँग बराबरी खेलेको थियो । त्यसपछि घानालाई पराजित गर्दै अन्तिम खेलमा पानामामाथि जित निकालेर समूह विजेताका रूपमा नकआउट चरणमा पुगेको थियो । राउन्ड अफ ३२ मा भने ह्यारी केनको दुई गोलको मद्दतमा कङ्गोलाई २–१ ले हराउँदै अन्तिम १६ मा स्थान सुरक्षित गर्यो ।
मेक्सिको पनि समूह चरणमा अपराजित रहेर नकआउटमा प्रवेश गरेको थियो । मेक्सिकोले दक्षिण कोरिया, दक्षिण अफ्रिका र चेक रिपब्लिकमाथि जित निकाल्दै राउन्ड अफ ३२ मा इक्वेडरलाई पन्छाएर अन्तिम १६ मा प्रवेश गरेको थियो ।
हेड टु हेड
अन्तर्राष्ट्रिय फुटबल इतिहासमा यी दुई टोलीबीच भएका भिडन्तहरूमा इंग्ल्यान्डको पल्ला भारी देखिन्छ । तर मेक्सिकोले सधैं युरोपेली टोलीहरूलाई कडा चुनौती दिँदै आएको छ ।
हालसम्म भएका ९ खेलमध्ये ६ खेल इंग्ल्यान्डले जितेको छ भने २ खेल मेक्सिकोले जित्दा एक खेल बराबरी भएको छ ।
विश्वकपको मञ्चमा यी दुई टोलीको भेट निकै दुर्लभ मानिन्छ । यसअघि सन् १९६६ को विश्वकपमा इंग्ल्यान्डले मेक्सिकोलाई २-० ले पराजित गरेको थियो । आज मेक्सिको सोही ऐतिहासिक हारको बदला लिँदै विश्वकप नकआउटमा नयाँ इतिहास कोर्ने दाउमा छ ।
टिम न्युज
इंग्ल्यान्डको टोलीमा कुनै ठुलो चोटको समस्या छैन । ह्यारी केनले अग्रपङ्क्तिको नेतृत्व गर्दा जुड बेलिङहम र बुकायो साकाले उनलाई बलियो साथ दिनेछन् । मिडफिल्डमा डेक्लान राइसको महत्त्वपूर्ण रहनेछ ।
मेक्सिको: मेक्सिकोका लागि कप्तान एड्सन अल्भारेज मिडफिल्डमा चट्टान बनेर उभिनेछन् । अग्रपङ्क्तिमा सान्टियागो जिमेनेज र जुलियन क्विनोनेसको जोडीले इंग्ल्यान्डको डिफेन्सलाई चुनौती दिने रणनीति बनाएको छ ।
सम्भावित सुरुवाती ११
इंग्ल्यान्ड: जोर्डन पिकफोर्ड (गोलकिपर), रीस जेम्स, एज्री कोन्सा, मार्क गुएही, निको ओ’रिली; डेक्लान राइस, इलियट एन्डरसन, जुड बेलिङहम; बुकायो साका, ह्यारी केन, एन्थोनी गोर्डन
मेक्सिको: राउल रान्जल (गोलकिपर), जोर्ज साञ्चेज, सेसार मोन्टेस, जोहान भास्केज, जेसुस गालार्डो; एड्सन अल्भारेज, एरिक लिरा, लुइस रोमो; जुलियन किनोनेस, रोबर्टो अल्भाराडो, राउल जिमेनेज
***
खेल : मेक्सिको भर्सेस् इंग्ल्यान्ड, राउन्ड अफ १६
मिति र समय : २२ असार, बिहान ५:४५ बजे
स्थान : अज्टेका स्टेडियम
प्रत्यक्ष प्रसारण : हिमालय स्पोर्ट्स
प्रतिक्रिया 4