+
+
Shares

घर फर्किएका ४ सपना : एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण

कृष्ण सिंजाली कृष्ण सिंजाली
२०८३ असार २४ गते १८:०६

झापा । २०८३ असारको अन्तिम दिन । भारतको कोलकातास्थित नेपालको महावाणिज्यदूतावासमा एउटा औपचारिक पत्र तयार हुँदै थियो । त्यो पत्र कुनै व्यापारिक सम्झौता वा कूटनीतिक निर्णयका लागि थिएन । त्यस पत्रले 4 जना नेपाली बालबालिकाको जीवनमा नयाँ अध्याय सुरु हुने शुभसन्देश बोकेको थियो।

पत्रमा चार नाम थिए– मीना विश्वकर्मा (१६) र सीमा मुर्मु (१३), सुरज जोगी (१४) तथा माया तामाङ (१७)  । (बालबालिकाको गोपनीयताा लागि नाम परिवर्तन गरिएको हो ) ।

उनीहरू मध्ये मीना र सिमा एउटै जिल्लाका हुन् भने सुरज र माया फरक-फरक जिल्लाका हुन् ।

कागजमा लेखिएका ती नाम सामान्य देखिन्थे, तर प्रत्येक नामभित्र एउटा छुट्टै कथा लुकेको थियो– बिछोडको पीडा, अनिश्चित भविष्य र आफ्नै परिवारसँग फेरि भेट्ने गहिरो चाहना।

यी बालबालिकाहरू भारतको पश्चिम बंगालस्थित शैशाली माटीगढा चिल्ड्रेन्स होम फर गर्ल्स तथा हसान्ना कोभेनेन्ट च्यारिटेबल ट्रस्ट, कालिम्पोङको संरक्षणमा रहेका थिए।

बालगृह उनीहरूका लागि सुरक्षित आश्रय बनेको थियो । त्यहीँ उनीहरू विद्यालय जान्थे, पढ्थे, नयाँ साथी बनाउँथे र भविष्यका सपना बुन्थे । तर साँझ पर्दै जाँदा उनीहरूको मन भने सधैं आफ्नै घरको आँगनतिर पुग्थ्यो । झ्यालबाहिरको आकाश हेर्दै उनीहरू सोच्थे, ‘मेरो घर अहिले कस्तो होला ? बाबुआमाले मलाई कित सम्झिरहनुभएको होला ? हजुरआमाले अझै मेरो बाटो हेरिरहनुभएको होला ?’

समय र परिस्थितिले उनीहरूलाई आफ्नो देशबाट टाढा पुर्‍यायो । बाल्यकाल नै अपरिचित भूमिमा बिताउन बाध्य भएका उनीहरूका लागि घर फर्किने आशा भने कहिल्यै मरेन।

भारतको पश्चिम बंगाल सरकार, कोलकातास्थित नेपालको महावाणिज्यदूतावास र नव अभियान नेपालको निरन्तर समन्वय तथा सहकार्यपछि उनीहरूलाई सुरक्षित रूपमा नेपाल फर्काइयो । अनि आफ्ना परिवारसँग पुनर्मिलन गराउन सम्भव भयो।

सबै कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी बालबालिकाहरूलाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको नव अभियान नेपालका क्षेत्रीय संयोजक इन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

उनीहरूका आँखामा अनेकौं भावना थिए– थोरै डर, धेरै उत्सुकता र अझ धेरै आशा । आखिर वर्षौँपछि उनीहरू आफ्नै देश, आफ्नै माटो र आफ्नै परिवारको न्यानो अँगालोमा फर्किन सफल भएका थिए।

त्यो दिन कुनै ठूलो समारोह भएन । न त धेरै प्रचार भयो, न त ठूलो भीड जम्मा भयो । तर ती ४ परिवारका लागि त्यो दिन जीवनकै सबैभन्दा ठूलो उत्सव थियो । बिछोडको अँध्यारोपछि आशाको उज्यालो फर्किएको दिन थियो।

कहिलेकाहीँ एउटा सरकारी पत्र केवल प्रशासनिक कागजात मात्र हुँदैन । त्यसले टुटेका सम्बन्धहरू फेरि जोड्ने पुल बन्छ ।

हराएका मुस्कानहरू फर्काउने माध्यम बन्छ । र एउटा बालबालिकालाई आफ्नै घरको आँगनसम्म सुरक्षित पुर्‍याउने आशाको यात्रा बन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?