+
+
Shares

फास्ट ट्रयाकमा पारित गरिंदै ४ वटा अध्यादेश प्रतिस्थापन विधेयक

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १०:१२
राष्ट्रिय सभा । आजको बैठकमा विधेयक पेस हुँदैछन् ।

२५ असार, काठमाडौं । राष्ट्रिय सभाबाट चारवटा अध्यादेश प्रतिस्थापन विधेयक फास्ट ट्रयाकमा पारित गरिँदैछ ।

राष्ट्रिय सभाको बैठक दिउँसो सवा १२ बजे बस्दैछ । जहाँ विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३ को प्रतिवेदन पेस गर्ने तयारी छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक २०८३, सहकारी (पहिलो संशोधन) विधेयक २०८३, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८३ पनि पेस गर्दैछन् ।

यही असार २३ गते राष्ट्रिय सभाले यी चार वटा विधेयक दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको थियो । असार २४ गते एकै दिन चार वटा विधेयकमाथि दफावार छलफल सकाएर प्रतिवेदन लेखिँदैछ । बिहान प्रतिवेवदन हेरेर दिउँसो सभामा पेस गर्न लागिएको हो ।

सरकारले संसद् अधिवेशन नरहेका बेला १४ वैशाख २०८३ मा आठ वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले ती सबै अध्यादेश जारी गरेका थिए ।

यी अध्यादेशहरू २८ वैशाख २०८३ मा संसद्मा पेस भएका थिए । संविधानत: संसद् अधिवेशन नचलेका बेला सरकारले अध्यादेश ल्याउन पाउँछ । त्यसरी ल्याइएका अध्यादेश संसद् अधिवेशन सुरु भएकै दिन संसद्‍मा पेस गर्नुपर्छ । र संसद्मा पेस भएको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर सरकारले दुवै सदनबाट पास गराएर, राष्ट्रिपतिकहाँ पुर्याएर पनि प्रमाणिकरण भइसक्नुपर्छ ।

यस हिसाबले यी आठ वटै अध्यादेश सक्रिय हुने अवधि यही २६ असारसम्म मात्रै छ । तर, सरकारले चार वटा अध्यादेश मात्रै प्रतिस्थापन विधेयकमार्फत अगाडि बढाएको हो ।

राष्ट्रिय सभाले चार वटा अध्यादेश अगाडि बढाउन मिल्ने गरी यही असार ५ गते स्वीकृत गरिदिएको थियो । सोही दिन प्रतिनिधिसभाबाट पनि अध्यादेश स्वीकृत भएको थियो ।

दुवै सदनबाट अध्यादेश स्वीकृत भएसँगै सरकारले प्रतिनिधिसभामा चारवटै अध्यादेश प्रतिस्थापन विधेयक दर्ता ग‍र्‍यो । चार वटै अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभाले अघिल्लो बिहीबार पारित गरेर शुक्रबार राष्ट्रिय सभामा पठाएको थियो ।

शनिवार राष्ट्रिय सभाले छलफल गरेर विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको थियो । यो सँगै सांसदहरूले विधेयकउपर संशोधन प्रस्ताव राखे ।

गत मंगलबार राष्ट्रिय सभाले सांसदहरूका संशोधनसहित दफावार छलफल गर्न विधायन व्यवस्थापन समितिमा पठाएको थियो । बुधबार विधायन व्यवस्थापन समितिले चार वटै विधेयकउपर दफावार छलफल गर्यो ।

बिहीबार आज सभामा चार वटै विधेयकको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

राष्ट्रिय सभाले विधेयक पारित गरेपछि पुन: प्रतिनिधिसभामा जान्छ । त्यसपछि सभामुखले राष्ट्रपतिकहाँ पठाउँछन् । राष्ट्रपतिले प्रमाणिकरण गरेपछि ऐनमा रुपान्तरित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?