२५ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिबारे मौनता तोड्न रास्वपासँग आग्रह गरेकी छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले रास्वपासँग यस्तो आग्रह गरेकी हुन् ।
‘म सत्ता पक्षका माननीय सदस्यज्यूहरूलाई आग्रहपूर्वक सोध्न चाहन्छु, प्रधानमन्त्रीको उक्त अभिव्यक्ति तपाईहरुलाई राष्ट्र हित अनुकूल लाग्दछ ?,’ ओलीले प्रश्न गरिन्, ‘यदि मान्नुहुन्छ भने यही सदनमा उभिएर त्यसको पक्षमा बोल्नुहोस् । यदि मान्नुहुन्न भने प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गर्नुहोस् ।’
गत १७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’
प्रधानमन्त्री बालेनको यस्तो अभिव्यक्तिपछि विपक्षीहरूले लगातार विरोध गर्दै आएका छन् । यो विषयमा कि तथ्य दिनुपर्ने होइन भने माफी माग्नुपर्ने विपक्षीको माग छ ।
तर, प्रधानमन्त्री जवाफका लागि तयार भएका छैनन् । सत्तारुढ दल रास्वपाका सांसदहरू भने प्रधानमन्त्री बालेनको अभिव्यक्तिका सन्दर्भमा मौन रहँदै आएका छन् ।
यस्तो मौनताप्रति राप्रपाकी प्रमुख सचेतक ओलीले प्रश्न उठाएकी हुन् ।
‘हिजो सभामुखको अपमानको विषय उठाउँदा तपाईँहरूले तुरुन्तै नियमापत्ति गर्दै अभिलेखबाटै हटाउनुभयो हाम्रो साथ र सम्मान छ । राष्ट्रको विषयमा पनि एउटा राष्ट्रको विषयमा लिएको तपाईँहरूको मौनता पनि एउटा राष्ट्रिय अभिव्यक्ति हो । तपाईँहरू सत्ता पक्षका सांसद साथीहरूको मौनतालाई ३ करोड नेपाली जनताले कसरी बुझ्ने ?,’ उनले प्रश्न गरिन् ।
उनले रास्वपा सांसदलाई थप प्रश्न गर्दै अगाडि भनिन्, ‘हिजो सत्ता पक्षका एक माननीय सदस्यले भन्नुभयो– इतिहासले प्रतिपक्षका सांसदहरूलाई हेर्नेछ । आज म सत्ता पक्षलाई पनि त्यही प्रश्न फर्काउन चाहन्छु– जब प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतामाथि प्रश्न उठ्यो । त्यो विषयमा तपाईँहरू किन मौन बसिरहनु भएको छ ? राष्ट्रको विषय आउँदा तपाईँहरूको आवाज किन आउँदैन ?’
नेता भन्दा राष्ट्रिय स्वाभिमान तल हुन नसक्ने उनले बताइन् । ‘नेतागत निष्ठा राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितभन्दा माथि कसरी पुग्यो ?’ उनले अगाडि सोधिन,‘इतिहासले प्रतिपक्षले के बोल्यो भन्ने मात्र लेख्दैन । सत्ता पक्षले कहिले बोल्यो ? कहिले मौन रह्यो ? र कसको पक्षमा उभियो भन्ने कुरा पनि लेख्नेछ ।’
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा रास्वपाको मौनतालाई इतिहासले ‘लाचारीपन’का रूपमा हेर्ने उनको टिप्पणी छ । ‘सम्झनुहोस् आज तपाईँहरूको मौनता पनि इतिहासको अभिलेखमा दर्ज हुँदैछ । भोलि इतिहासले हामीलाई मात्र होइन राष्ट्रको प्रश्नमा मौन बसेका तपाईँहरूलाई पनि कठघरामा उभ्याउनेछ,’ ओलीले भनिन् ।
प्रतिक्रिया 4