+
फिफा विश्वकप २०२६ :

जस्ट फोन्टेनले गरेका थिए एकै विश्वकपमा १३ गोल, मेसी र एमबाप्पेले तोड्लान् यो कीर्तिमान ?

२०८३ असार  २५ गते १७:०५ २०८३ असार २५ गते १७:०५

मेसी र एमबाप्पेजस्ता स्टार खेलाडीहरु गोल्डेन बुट मात्र नभई एकै संस्करणमा सर्वाधिक गोल गर्ने कीर्तिमानलाई भेट्टाउने तर्फ पनि अघि बढिरहेका छन् ।

२५ असार, काठमाडौं । यस पटक फिफा विश्वकप उपाधि कसले जित्ला भने जस्तै व्यक्तिगत अवार्ड गोल्डेन बुट कसले जित्ला भन्ने विषय पनि सर्वाधिक चासोको केन्द्रमा छ ।

अहिले विश्वका चार स्टार खेलाडी सर्वाधिक गोलकर्ता बन्दै व्यक्तिगत उपलब्धि हात पार्ने (गोल्डेन बुट) होडमा छन् । अर्जेन्टिनाका कप्तान लियोनल मेसी (८) फ्रान्सका कप्तान मिलियन एमबाप्पे (७), नर्वेका स्ट्राइकर एर्लिङ हालान्ड (७), र इंग्ल्यान्डका कप्तान ह्यारी केन (६) गोल्डेन बुटको होडमा अगाडि छन् ।

मेसी र एमबाप्पेजस्ता स्टार खेलाडीहरु गोल्डेन बुट मात्र नभई एकै संस्करणमा सर्वाधिक गोल गर्ने कीर्तिमानलाई भेट्टाउने तर्फ पनि अघि बढिरहेका छन् ।

नर्वे, इंग्ल्यान्ड र अर्जेन्टिना एउटै पुलमा रहेको र एक टिम मात्र मात्र फाइनल पुग्ने हुँदा अर्को पुलका किलियन एमबाप्पेसँगै एक खेलाडी मात्र गोल्डेन बुटको टक्करमा अन्तिम सम्म रहन सक्छन् ।

त्यसमा पनि एमबाप्पे २ र मेसीले १ असिस्ट गरेकोले उनीहरुलाई केही एडभान्टेज हुनेछ । हालान्डले कुनै असिस्ट गरेका छैनन् भने केनको नाममा पनि १ असिस्ट छ ।

फोन्टेनको ऐतिहासिक १३ गोल

अहिले गोल्डेन बुट अवार्डको कुरा गरिरहँदा फिफा विश्वकमा एकै संस्करणमा सर्वाधिक गोल गर्ने खेलाडीको चर्चा नगर्दा यो अपूरो हुन्छ ।

मेसीले विश्वकपमा सर्वाधिक २१ गोलको कीर्तिमान बनाइँरहा एमबाप्पेले १९ गोलसहित उनलाई पछ्याइरहेका छन् ।

तर एकै विश्वकपमा १३ गोल गरेर कीर्तिमान बनाएको सुन्दा अचम्म लाग्न सक्छ । यो सत्य हो । सन् १९५८ मा स्वीडेनमा भएको विश्वकपमा फ्रान्सका जस्ट फोन्टेनले एकै संस्करणमा १३ गोल गरेका थिए । त्यस विश्वकपमा फोन्टेन गोल मेसिनकै रुपमा देखा परे ।

उनले त्यस विश्वकपमा फ्रान्सले खेलेको ६ वटै खेल खेल्दै गोल गरे । जसमा दुई ह्याट्रिक पनि थियो । अझ तेस्रो स्थानको लागि भएको खेलमा पश्चिम जर्मनी विरुद्ध फोन्टेनले ४ गोल गरेका थिए ।

त्यसअघि समूह चरणमा पाराग्वे विरुद्ध पहिलो खेलमै ह्याट्रिक गरेका फोन्टेनले युगोस्लाभिया विरुद्ध २ र स्कटल्यान्ड विरुद्ध १ गोल गरे । क्वाटरफाइनलमा नर्दन आयरल्यान्ड विरुद्ध २ गोल गरेका उनले सेमिफाइनलमा ब्राजिल विरुद्धको खेलमा ५-२ ले पराजित हुँदा १ गोल मात्र गरे ।

तेस्रो स्थानको लागि भएको खेलमा पश्चिम जर्मनीलाई ४ गोल गरेपछि उनले १३ गोलको नयाँ कीर्तिमान बनाए ।

फोन्टेनले एकै पटक मात्र विश्वकप खेले र एकै संस्करणमा सर्वाधिक गोल गर्ने अद्वितीय कीर्तिमान बनाए । त्यसयता धेरैले स्टार खेलाडी आएपनि यो कीर्तिमान तोड्न सकेनन् । फुटबलको सम्राट भनिने पेलेले समेत १९५८, १९६२ र १९७० मा तीन पटक विश्वकप जित्ने कीर्तिमान बनाएर फोन्टेनको जस्तो गोल मेसिन बन्न सकेनन् ।

त्यसयता १९६६ मा पोर्चुगलका लेजेण्ड युसेबियोले ९ गोल गरे भने १९७० मा जर्मनीका गर्ड मुलरले १० गोल गरे ।

फोन्टेनअघि एकै संस्करणमा सर्वाधिक गोल गर्ने कीर्तिमान हंगेरीका सान्डोर कोसिसको नाममा थियो । उनले सन् १९५४ मा ११ गोल गरेका थिए । जसमा दुई ह्याट्रिक पनि थियो ।

समूह चरणमा दुई ह्याट्रिक गर्दै सनसनी मच्चाएका उनले समूह चरणको दुईवटै खेलमा ह्याट्रिक गरेका उनले क्वाटरफाइनल र सेमिफाइनलमा २-२ गोल गरे ।

तर फाइनलमा गोल गर्न सकेनन् र हंगेरी पश्चिम जर्मनीसँग ३-२ ले स्तब्ध हुँदै उपाधि जित्नबाट वञ्चित भएको थियो ।

मेसी र एमबाप्पेले तोड्लान फोन्टेनको कीर्तिमान ?

कोसिस र फोन्टेनपछि कुनै पनि खेलाडीले एकै संस्करणमा डबल डिजिटमा गोल गर्न सकेका छैनन् ।

तर यस पटक गोल्डेन बुटका लागि इतिहासमै चर्को प्रतिस्पर्धा भइरहेकोले एक भन्दा धेरै खेलाडीहरु लगातार गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा छन् ।

यो पुस्ताकै महान खेलाडीको रुपमा रहेका मेसीले अहिलेसम्म खेलेको पाँचै खेलमा गोल गरिसकेका छन् भने वर्तमान समयमा चर्चित गोलकर्ता अझ गोलमेसिनको रुपमा रहेका एमबाप्पे, हालान्ड र केनले मेसीलाई कडा चुनौती दिइरहेका छन् ।

मेसीले ८ गोल र १ असिस्ट गर्दा एमबाप्पेले ७ गोल र २ असिस्ट गरेका छन् । हालान्डले ७ गोल गर्दा केनले ६ गोल र १ असिस्ट गरेका छन् ।

एक भन्दा बढी स्टार खेलाडी गोल्डेन बुट दौडमा रहेकोले पनि गोल स्कोरिङमा प्रतिस्पर्धा भइरहेको छ ।

यस विश्वकपमा फाइनलसम्म पुग्ने टिमले अझै ३ खेल खेल्न पाउनेछ । जसले गर्दा खेलाडीलाई गोलको संख्या थप्ने राम्रो अवसर छ । कुनै एक वा दुई खेलाडीले फाइनल सम्म पुगेर अझ गोलको संख्या थप्न सक्नेछन् । अहिलेकै अवस्थामा डबल डिजिटको आँकडा कुनै खेलाडीले भेट्ने सम्भावना प्रबल छ ।

तर के महान् खेलाडी मेसी र उदाउँदै गरेका स्टारहरु एमबाप्पे केन वा हालान्डले फोन्टेनको १३ गोलको जादुमयी कीर्तिमान भेट्न सक्लान् ? यो अहिले जिज्ञासाको रुपमा रहेको छ ।

फोन्टेन र कोसिसको समयमा विश्वकपमा अहिले भन्दा थोरै टिम र थोरै खेल थिए । अहिले एकै संस्करणमा ४८ टिमले प्रतिस्पर्धा गर्ने भइसकेको छ । यस्तै विश्वकपमा पनि समूह चरण देखि फाइनलसम्म पुग्दा ८ खेल खेल्न पाइनेछ ।

मेसीको टिम अर्जेन्टिनाले अब क्वाटरफाइनलमा स्विट्जरल्यान्डसँग खेल्नेछ भने उक्त खेल जितेमा सेमिफाइनलमा इंग्ल्यान्ड वा नर्वे मध्ये एकसँग खेल्नेछ । यदि मेसीले आफ्नो टिमलाई फाइनलसम्म पुर्‍याउने हो भने उनी नै मुख्य गोलकर्ता हुनेछन् ।

अहिलेसम्म ५ खेलमा ८ गोल गरिसकेका मेसी लयमा छन् । उनले यस विश्वकपमा दुई पेनाल्टी नगुमाएको भए यो संख्याले डबल डिजिट छोइसक्ने थियो ।

अर्कोतर्फ क्वाटरफाइनलमै भिड्न लागेका केन र हालान्ड मध्ये एकको चुनौती अब एक खेलपछि नै सकिनेछ । यदि अर्जेन्टिना पनि सेमिफाइनल पुगेमा हालान्ड/केन र मेसी मध्ये एक खेलाडीको टिम फाइनल पुग्नेछ ।

अर्को पुलमा एमबाप्पेको कप्तानीमा फ्रान्स मोरक्कोसँग क्वाटरफाइनल खेल्नेछ र जितेमा स्पेन वा बेल्जियमसँग सेमिफाइल खेल हुनेछ । एमबाप्पेले दुवै टोली विरुद्ध गोल गरेमा संख्या थपिनेछ ।

शुक्रबार विहान फ्रान्सले मोरक्कोसँग खेल्दैछ । चार वर्षअघिको सेमिफाइनल रिम्याचको रुपमा रहेको यो खेलमा गोल गर्दै एमबाप्पेले शीर्ष स्थानमा उक्लने अवसर हुनेछ ।

यदि आफ्नै राष्ट्रका लेजेन्ड फोन्टेनको कीर्तिमानलाई छुने प्रयास गर्ने हो भने एमबाप्पेले मोरक्को विरुद्ध पनि गोल गर्नुपर्नेछ ।

एमबाप्पे र मेसीले फोन्टेनको कीर्तिमान भेट्ने/नभेट्ने भन्ने विषय चाँडै नै टुङ्गो लाग्नेछ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय