+

बेल्जियमसँगको खेलमा घाइते भएका पुलिसिचको खुट्टा भाँचिएको पुष्टि

२०८३ असार  २६ गते ५:१५ २०८३ असार २६ गते ५:१५

२६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा बेल्जियमसँग ४–१ को हार बेहोर्दै बाहिरिएको अमेरिकालाई अर्को ठूलो झट्का लागेको छ । टोलीका स्टार फरवार्ड क्रिस्टियन पुलिसिचको दायाँ खुट्टा भाँचिएको पुष्टि भएको छ ।

अमेरिकी फुटबल महासंघले पुलिसिचको दायाँ खुट्टाको टिबिया र फिबुला हड्डीमा माइक्रो फ्र्याक्चर (सानो भाँचिएको) तथा हड्डीमा गम्भीर चोट (बोन ब्रुज) लागेको जनाएको छ ।

२७ वर्षीय पुलिसिच सिएटलमा भएको बेल्जियमविरुद्धको खेलको ५९औं मिनेटमा मैदान छाड्न बाध्य भएका थिए । दोस्रो हाफको सुरुवातमै बल प्रहार गर्ने क्रममा उनले बेल्जियमका मिडफिल्डर युरी टिलेमान्सको खुट्टामा बलियो ठक्कर दिएका थिए, जसका कारण उनी घाइते भएका थिए ।

अमेरिकी फुटबल महासंघले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा पुलिसिचको उपचार तथा पुनःस्थापना योजना उनको क्लब एसी मिलानसँग समन्वय गरेर अघि बढाइने जनाएको छ ।

विश्वकपबाट अमेरिकाको निराशाजनक बहिर्गमनपछि पुलिसिचको प्रदर्शनलाई लिएर अमेरिकी सञ्चारमाध्यम र पूर्वखेलाडीहरूले पनि आलोचना गरेका छन् ।

अमेरिकाकी सर्वाधिक गोलकर्तामध्ये एक कार्ली लोइडले पुलिसिचबाट अपेक्षाअनुसारको प्रदर्शन नदेखिएको बताएकी छन् ।

उनले भनिन्, ‘यस खेलमा मात्र होइन, पूरै विश्वकपमा पनि पुलिसिचबाट अपेक्षाअनुसारको प्रदर्शन देखिएन। केही क्षण बाहेक उनले टोलीलाई नेतृत्व गर्न सकेनन् ।’

सन् २०२५ को गोल्ड कप विश्राम लिएर विश्वकपको तयारी गरेका पुलिसिचप्रति लक्षित गर्दै उनले सामाजिक सञ्जाल एक्समा लेखिन्, ‘आराम त खेल जीवन सकिएपछि गर्ने हो ।’

अर्का अमेरिकी फुटबल लेजेन्ड ल्यान्डन डोनोभानले पनि पुलिसिचलाई मैदानबाट बाहिर निकाल्ने निर्णयप्रति असन्तुष्टि जनाए । उनले भने, ‘म भएको भए चिकित्सकलाई नै मैदान छाड्दिनँ भन्थें ।’

अमेरिकी फुटबल महासंघले पुलिसिच कति समय मैदानबाहिर रहने भन्ने खुलाएको छैन । तर द एथलेटिक का अनुसार उनी केही सातासम्म विश्राममा रहनेछन् भने लामो समय मैदानबाहिर बस्नुपर्ने अवस्था नरहेको बताइएको छ ।

-बीबीसीबाट

क्रिस्टियन पुलिसिच
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय