+
+
Shares
कथा :

टेङ्गा र ड्यासबोर्डको बत्ती

मलाई त लागेको थियो, विश्वासघातको कथा होला, डिभोर्सको वियोग होला । तर यो त अर्कै कुरो पो रहेछ । मेरियनले छाडेर गएकी होइन रहेछ

शाश्वत पराजुली शाश्वत पराजुली
२०८३ असार २९ गते ८:२६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकामा कार्यरत एक नेपालीले आफूभित्रको मानसिक तनावलाई गाडीको इन्जिनमा देखिने ‘चेक–इन्जिन’ बत्तीसँग तुलना गर्दै आफ्नो समस्या पहिचान गर्ने प्रयास गरेका छन् ।
  • ग्यारेज सञ्चालक टेङ्गाले श्रीमतीले घर छाडेपछि आफूले भोगेको मानसिक पीडा र त्यसबाट बाहिरिन अपनाएको उपायबारे आफ्ना साथीसँग खुलेर कुराकानी गरेका छन् ।
  • अन्ततः टेङ्गा र उक्त नेपालीले आफ्ना भित्री पीडाहरूलाई स्वीकार्दै मानसिक स्वास्थ्य सुधारका लागि काउन्सिलिङ र उपचारको बाटो रोजेका छन् ।

“मेरी बूढीले घर छाडी, म्यान !” टेङ्गाका मुखबाट यो कुरा कति सहजै र फुत्तै निस्कियो भने मानौँ ऊ मलाई जुगजुगदेखि चिन्थ्यो ।

म झसङ्ङ भएँ । हामी त्यसै दिन मात्रै त चिनिएका थियौँ । म त मेरो बूढो टोयोटा क्याम्रीको ड्यासबोर्डमा बलिरहने त्यो जिद्दी ‘चेक–इन्जिन’ बत्तीको निधो गर्न ग्यारेज छिरेको थिएँ; कुनै अपरिचित मान्छेको पारिवारिक कथा सुन्न होइन । तर टेङ्गाले हुडमुनि टाउको घुसाएकै अवस्थामा, हातको रिन्चले कुनै नटबोल्ट कस्दै बोल्ने मेसो सुरु गरि त हाल्यो ।

“अहो !” मेरो मुखबाट भने यत्ति मात्रै निस्क्यो । हाम्रो भाषामा कसैको दुःखमा मलम लगाउने कति मीठा र चिल्ला शब्दका भण्डार छन्, तर यो बिरानो देशको अङ्ग्रेजीमा मेरो मुखबाट निस्किएको ‘अहो !’ बासी पाउरोटीजस्तै खस्रो र सुक्खा सुनियो ।

बाहिरको ठिहिर्‍याउने जाडोभन्दा ग्यारेजभित्र थोरै न्यानो भने थियो । देब्रे कुनामा बिजुलीको पुरानो हिटर घ्यारघ्यार गर्दै पट्यारलाग्दो आवाज निकालिरहेको थियो । भित्तामा झुन्ड्याइएको पुरानो रेडियोमा भने धिमा स्वरमा सत्तरीतिरको कुनै ब्लुज गीत बजिरहेको थियो, अर्कै युगको ।

डढेको मोबिलको गन्ध, रबरको गन्ध अनि कतै कुनामा बिर्सिएको ब्ल्याक कफीको कडा बास्नाले ग्यारेजभित्र एक तमासको उच्चाटलाग्दो वातावरण बनेको थियो, जहाँ नयाँ मान्छेलाई धेरै बेर टिक्न गार्‍है पर्थ्यो ।

टेङ्गाले हुडबाट कछुवाको गतिमा टाउको निकाल्यो । हातका कालापत्रे औँलाहरू एउटा मैलो टालोमा पुछपाछ गर्दै उसले पुलुक्क मतिर हेर्‍यो । ठूलो, फराकिलो ज्यान । सेता रौँ सरोबर मिसिएका कैला दार्‍ही, जसलाई ‘कैलो तिलचामले’ भन्न सकिन्थ्यो । उसका थकित र गढेका आँखामा एक–दुई रातको अनिदोपन मात्र होइन, वर्षौंदेखि निस्सासिएका उकुसमुकुस पनि प्रतिविम्बित हुन्थे ।

ट्याक्स सिजन पनि सकियो । जावेदले अफिसमा चिकेन बिरयानी मगाएर सानो भोज दिए । म त्यहाँबाट सिधै टेङ्गाको ग्यारेज गएँ, बत्ती देखाउन होइन, मोमो लिएर ।

“सरी म्यान,” ऊ फिका हाँस्यो, तर त्यो हाँसो उसको ओठमै बिलायो, आँखासम्म पुग्दै पुगेन । “तिमीले सोधेका त थिएनौ, तर अचेल मुख खोलेपछि पहिले त्यही कुरा चिप्लिहाल्छ भन्या !” उसले पहिले उठाएको कुराको बिट मार्न खोजेझैँ गरी भन्यो ।

मैले कुरा मोड्दै ड्यासबोर्डमा चेक–इन्जिनको बत्ती बलेको समस्या अलि विस्तारमा बताएँ । उसले एउटा स्क्यानर मेरो गाडीको मुनि घुसार्‍यो, स्क्रिनमा देखिएको कोड हेर्‍यो अनि बिस्तारै टाउको हल्लायो ।

“पी०४५६ कोड । इन्जिन सद्दे छ म्यान । गाडी बिग्रेको चाहिँ होइन, बत्ती मात्रै बलेको हो ।” उसले रिन्च टेबलमा बजार्दै थप्यो, “हिजोआज त बत्ती नबलीकन केही बिग्रेको थाहै हुँदैन भन्या ! अनि बत्ती बलेपछि पनि साँच्चै बिग्रेकै हो कि होइन भन्ने कुराको कुनै ठेगान नि हुँदैन ।”

मैले डराउँदै बिग्रेको बत्ती बनाउँदा लाग्ने पैसाको कुरा सोधेँ । उसले सुहाउँदिलो रकम माग्यो । मन चङ्गा भयो ।

बाहिर निस्कँदा सहरले कालो बर्को ओढिसकेको थियो । पार्किङ लटको चिसो सिरेटोले गालामा चड्याम्म हिर्कायो । म गाडीमा बसेँ, सुस्त गतिमा सिटबेल्ट कसेँ, तर तुरुन्तै साँचो घुमाइनँ । टेङ्गाको त्यो वाक्य “मेरी बूढीले घर छाडी” बाटाका कुनाहुँदी जमेर बसेको हिउँजस्तै मेरो मनको कुनामा मज्जैले जमेर बस्यो ।

बिहान ठ्याक्कै सवा छ बजे सिरानीछेउको टेबलमा फोन थरथरायो । नेपालबाट बाको फोन आएको थियो । बाको सधैँजसो फोन गर्ने समय यही बेला हुन्थ्यो । दिनभरिको काम निखनेपछि, नेपालमा अँधेरोले छोपेपछि ।

फोन उठाउनासाथ उहाँको पहिलो प्रश्न उही पुरानै हुने गर्थ्यो, “खाना खाइस् त बाबु ?”

“खाएँ नि बा !” म भन्थेँ । प्रायः म यसै गरी मेरो सेतो झूट बोलिदिन्थेँ ।

त्यति बिहान मैले कहाँ खानु । सरिताको नर्सिङ पेसा, रातको सिफ्टमा थिइ । बिहान आठ बजेपछि मात्रै ऊ लखतरान पर्दै फर्किन्थी । हामी दुई जना एउटै ढोकाबाट छुट्टाछुट्टै छिर्थ्यौं, त्यो पनि फरक बेला । ऊ आयो, म गयो, विपरीत ध्रुवको बाटोमा हिँडेजस्तो । एउटा ओछ्यान चिसो हुन नपाउँदै अर्कोले तताउनुपर्ने यो आप्रवासी जिन्दगी ! बीचमा हिमानी, हाम्री ६ वर्षकी छोरी, निदाइरहेकी हुन्थी, ओठ अलिकति खुला राखेर, हातमा सधैँ पुरानो, एउटा कान चुँडिएको खरायो टाँसेर ।

“बाबु, तँ निकै दुब्लाएको छस् भिडियोमा,” यस पटक आमा बोल्नुभयो । उहाँको स्वरमा सुर्ता मिसिएको थियो, “केही कुरा छ कि क्या हो ?”
“केही छैन आमा । अलि व्यस्त छु, ट्याक्स सिजन छ नि त,” मैले कुरा टारेँ ।

म ठीक छैन भन्ने कुरा बाआमालाई पक्कै थाहा थियो होला । बाआमाहरू सात समुद्रपारिको हाम्रो सासको लय पनि कसरी थाहा पाउनुहुन्छ, ताजुब लाग्छ । तर मैले कुनै दुःख पोखिनँ । हाम्रो हुर्काइमा दुःख अभिव्यक्त गर्ने चलन नै कहाँ थियो र ? छोरा मान्छेको दुःख भनेको त दालमा थपिने नुनजस्तो हो; चुपचाप घोलिन्छ तर बाहिर देखाएर बोलिँदैन ।

मैले माइक्रोवेभमा अघिल्लो दिनको दालभात तातो पारेँ । दाल तात्दै गर्दा त्यो परिचित बास्ना भान्सामा फैलियो, जिरा, बेसार अनि अलिकति डढेको घ्यूको बास्ना । एकै छिन मलाई लाग्यो, म अमेरिकाको यो चिसो बेसमेन्टमा छैन, म त इटहरीको आफ्नै आँगनमा छु र आमा माटोको चुलोअगाडि पिर्कामा बसेर आगो फुक्दै हुनुहुन्छ । बा अगेनाछेवैमा विष्णु सहस्रनाम वाचन गर्दै हुनुहुन्छ । अचानक माइक्रोवेभले टिट्…टिट्… गर्दै करायो र म झल्याँस्स बिउँझिएँ । म फेरि त्यही बेसमेन्टको चिसो भुइँमा पछारिएँ, जहाँको सानो झ्यालबाट बाहिर हिँड्ने मान्छेका जुत्ताहरू मात्रै देखिन्छन्, अनुहार होइन ।

म जुन ट्याक्स अफिसमा काम गर्छु, त्यो एउटा भद्दा स्ट्रिप मलको कुनामा छ । एकातिर भियतनामीहरूको नेल सैलुन छ, जहाँबाट दिनभरि नङपालिस र एसिटोनको लट्ठ्याउने गन्ध आइरहन्छ, अर्कोतिर पिज्जा पसल । बाहिरको साइनबोर्डमा ‘ब्लु स्काई ट्याक्स’ लेखिएको छ, तर स्काई’ को ‘एस’ अक्षरको बत्ती सधैँ निभेको हुन्छ । रातिराति ‘ब्लु केवाई ट्याक्स’ मात्रै बल्छ । मालिक जावेद हुन् । अठार वर्षपहिले अमेरिका पसेका, अहिले नीलो पासपोर्ट गोजीमा बोक्ने तर खाँटी पाकिस्तानी स्वभाव अझै नछाडेका ।

जनवरीदेखि अप्रिलसम्म यो अफिसमा सास फेर्ने फुर्सद हुँदैन । पाकिस्तानी, अमेरिकी, अफ्रिकन र अप्रिल सुरु भएपछि भने नेपाली क्लाइन्टहरूको पनि घुइँचो लाग्छ । कोही ‘मलाई एउटा डब्लु–सेभेन चाहियो’ भन्दै आउँछन्, कोही डब्लु–टुको मुठो बोकेर । कोही त ‘मेरो डिपेन्डेन्टमा इस्लामाबादमा रहेका बाबुआमालाई राख्न मिल्छ कि नाइँ ?’ भनेर सोध्छन् । म ल्यापटपमा नम्बर भर्छु, फर्म मिलाउँछु, अनि बनावटी मुस्कान छोड्छु ।

तर त्यो बिहान, एक जना नेपाली आन्टी आफ्नो कागजको थैलो लिएर मेरो अगाडि बसिन् । म स्क्रिनमा नम्बर हेर्दै थिएँ, अचानक ती नम्बरहरू पानीमा भिजेको कापीको अक्षरजस्तै बाङ्गिए, फैलिए अनि पग्लिए । मेरो छाती यसरी कस्सियो, मानौँ कसैले भित्रबाट फलामे डोरीले बाँधेर तानिरहेको छ । कन्चटबाट पसिना रसाए । म सास तान्न खोज्थेँ, तर हावा फोक्सोसम्म पुग्दै पुग्दैनथ्यो ।

हतार–हतार फल्स सिलिङका चारकुने चतुर्भुजहरू गन्न थालेँ— एक, दुई, तीन । यो मेरो पुरानो, गोप्य बानी थियो । गन्दागन्दै सत्र–अठार पुगेपछि बल्ल सास फर्किन्थ्यो ।

“भाइ, ठीक छौ नि ?” आन्टीले च्यापु अगाडि बढाउँदै सोधिन् ।

“ठीक छु आन्टी,” मैले थरथराउँदो स्वरमा भनेँ र वासरुम जान्छु भन्दै उठेँ । ऐनामा आफ्नो अनुहार हेरेँ— पहेँलो, सुकेको, भित्रभित्रै मक्किएको काठजस्तो । चिसो पानीले मुख धोएँ । यो कुरा कसैलाई थाहा थिएन । सरितालाई पनि थाहा थिएन । मेरो छातीभित्रको यो अदृश्य ‘चेक–इन्जिन’ बत्ती कहिलेदेखि बल्न थालेको हो, म आफैँलाई पनि थाहा थिएन ।

दुई हप्तापछि म फेरि टेङ्गाको ग्यारेजमा पुगेँ । त्यही टोयोटा क्याम्रीको ‘चेक–इन्जिन’ बत्ती फेरि बलेन ।

यसपालि उसले मलाई अलि लामो समय घुरेर हेर्‍यो । “तिमीलाई पनि थाहा छ म्यान, यो इन्जिनको समस्या होइन, खालि सेन्सरमात्र बिग्रिएको हो । टेङ्गाले मुसुक्क हाँस्दै भन्यो, तिमी रहर लागेरै यहाँ आउँछौ जस्तो छ ।”

म पनि फिस्स हाँसेँ । कुरा साँचो थियो । धेरैले नरुचाउने ग्यारेजको उच्चाटिलो वातावरणमा के त्यस्तो चिज थियो, जसले मलाई तानिरहेको थियो । सायद त्यो पुरानो रेडियोको गीत, सायद डढेको तेलको गन्ध वा सायद टेङ्गाका ती तिखा र गहिरा आँखा जसमा उसका थुप्रै उहापोह लुकेका थिए ।

त्यही दिन ग्यारेजको दायाँ कुनामा रहेको एउटा गाडीले मेरो आँखा तान्यो । सानो, खरानी रङको, जसको माथि बाक्लो धूलोले ढाकिएको प्लास्टिकको कभर ओढाइएको थियो । कभरको कापबाट साइड–मिरर चियाइरहेको थियो । भित्री ऐनामा झुन्डिएको एउटा सानो एयर फ्रेसनर देखिन्थ्यो— लिली फूलको आकारको, जसको रङ उडेर फुस्रो भइसकेको थियो ।

“त्यो कसको गाडी हो नि ?” मैले अनावश्यक खोजीनिती लिँदै सोधेँ ।

टेङ्गाको हात एकछिन रिन्चमै रोकियो । “त्यो मेरियनको हो,” उसले भन्यो । त्यसपछि उसको वाक्य बन्द भयो । बत्तीचाहिँ बलिरहेको थियो, कुनै गाडीको होइन, टेङ्गाको आँखाको बत्ती, उसको अनुहारको बत्ती । त्यति भएपछि मेरियन उसको खास मान्छे हो भन्नेचाहिँ बुझेँ । ममा झन् बढी कौतूहल पैदा भयो । तर नजाने गाउँको बाटै नसोध्नु भन्ने जानेर मुखमा बुझो लगाएँ ।

ग्यारेजमा आउन थालेको तेस्रो पटक नै टेङ्गा र म मिल्ने साथीजस्तै भयौँ । कस्तो अनौठो सङ्गम, नेपालको दमकमा हुर्केको एउटा ठिटो, अनि बाल्टिमोरको गल्लीमा हुर्केको एउटा अफ्रिकन–अमेरिकन जेन्टल म्यान । ऊ त्रिचालीसको थियो, म अठ्तीसको । उसलाई ‘क्रिकेट’ भन्ने चिज कुनै चराको नाम हो कि खेल हो, अत्तोपत्तो थिएन; मलाई साँचो अमेरिकी फुटबल टाउको दुख्ने, बुझ्नै नसकिने जात्रै लाग्थ्यो । तर पनि हामी घण्टौँ गफिन्थ्यौँ ।

एक दिन सरिताले बनाएको मोमो झिलझिले कागजमा पोको पारेर टेङ्गालाई लगिदिएँ । टेङ्गाले एउटा डल्लो मुखमा हालेपछि आँखा ठुल्ठूला पार्दै भन्यो, “ह्वाट इज दिस, म्यान ! यो त बम पो हो म्यान !”

अनि हरियो गोलभेँडाको अचार चटक्क चाटेपछि खोक्दै र आँखाबाट आँसु झार्दै, अर्को डल्लो पनि टपक्क टिप्यो । “यो हरियो कुरा के हो ?”
“अचार,” मैले भनेँ ।

“अ–चार,” उसले बिस्तारै दोहोर्‍यायो, मानौँ कुनै तान्त्रिक मन्त्र हो । त्यस दिन छुट्टिँदा उसले भन्यो, “तिम्री बूढीलाई भन्नू, टेङ्गाले भारी सलाम पठाएको छ भनेर ।”

चौथो पटकको भेटमा समेत उसले मेरियनको कुरा उठाएन । कुनाको त्यो खरानी रङ्गे गाडी त्यहीँ धुलैधूलो भएर बसिरह्यो, त्यो रङ उडेको लिली फूल आकारको एयर फ्रेसनर पनि जहीँको तहीँ थियो ।

अनि फेरि एक दिन मलाई उही पुरानो व्यथा बल्झियो ग्यारेजमै ।

म स्टुलमा बसेर टेङ्गासँग गफिँदै थिएँ । टेङ्गा भने एउटा रातो निसान गाडीको ब्रेक प्याड फेर्दै पनि थियो । अचानक त्यहीँ उकुसमुकुस सुरु भयो । छाती कस्सियो, हावा सकियो, हत्केलाबाट पसिना फुट्यो । कानमा कसैले झ्याम्टा बजाएर रोकिने बेलाको जस्तो झ्याइँय्य .. आवाज घन्कियो । म उठ्न खोजेँ, तर घुँडाले साथ दिएनन् । मैले सिलिङमा हेरेँ तर ग्यारेजको सिलिङमा गन्ने त्यस्ता कुनै कुरा थिएनन् । ग्यारेजमा माथि जस्तापाता र तल सिमेन्टको चिप्लो भुइँ मात्र थियो ।

टेङ्गाले मलाई हेर्‍यो । उसले हतार नगरी रिन्च भुइँमा बिसायो । हड्बडाउँदै “के भयो म्यान ?” भनेर कराएन, बरु भित्र फ्रिजबाट एउटा चिसो कोकको सिसी निकाल्यो, मेरो हातमा थमायो र मेरो छेउको खाली टायरमा बस्यो ।

“सास तानेर एकछिन रोक,” उसले धिमा तर गहिरो स्वरमा भन्यो । “एक… दुई… तीन… चार । अब छोड । बिस्तारै ।”
मैले उसको गन्तीसँगै सास तानेँ । फेरि छोडेँ ।

“अब बोल्ट गन,” उसले हुडतिर औँला देखाउँदै भन्यो । “त्यहाँ कतिवटा नटबोल्ट छन्, गन त ।”

मैले गनेँ— आठ, बाह्र । मुटुको अत्तालिएको चबल बिस्तारै सुस्तायो । हावा फेरि मेरो फोक्सोसम्म पुग्न थाल्यो । मेरा आँखा रसाए— डर, लाज र एउटा अनौठो राहतको मिश्रणले ।

“म…” मैले भन्न खोजेँ, स्वर कामिरहेको थियो । “मलाई के भइरहेको छ, मलाई नै थाहा छैन । डाक्टरकहाँ गएकै छैन ।”

टेङ्गाले एउटा लामो सुस्केरा हाल्यो । अनि कुनाको त्यो धुलाम्मे खरानी रङ्गको गाडीतिर हेर्‍यो ।

“तिमीभित्र पनि बत्ती बलेको छ म्यान,” उसले बिस्तारै भन्यो । “कोड मेटाएर मात्रै हुँदैन । म जान्दछु नि ।”

त्यसपछि ऊ बोल्यो, पहिलो पटक, आफ्नो छाती खोलेर ।

उसले ती दिनहरूको कुरा गर्‍यो, जब महामारीले सबै बन्द भयो । ग्यारेजमा चरोमुसो कोही आउँदैनथे । मेलबक्समा बिल र तागेताको पत्र मात्रै थुप्रिन थाले, बत्तीको बिल, पानीको बिल, इन्स्युरेसको बिल, क्रेडिटकार्डको बिल अनि मोरगेजको तागेता । ऊ बिहान ओछ्यानबाट उठ्न छाड्यो ।
ग्यारेजको बत्ती बाल्न छाड्यो । अँध्यारोमा घण्टौँ एक्लै टोलाएर बस्थ्यो । कसैसँग बोल्न छाड्यो । मेरियन खाना खान बोलाउँथिन्, ऊ भने सुनेको नसुन्यै गर्थ्यो । उसमा भोकको नामोसिसान हुँदैनथ्यो ।

“मभित्र पनि चेक–इन्जिनको जस्तै बत्ती बलिरहेको थियो म्यान,” उसले भन्यो । “तर मैले बेवास्ता गरेँ । हामीलाई त्यस्तै सिकाइएको थियो नि त, ‘मलाई गार्‍हो भएको छ’ भन्न पनि पो लाज लाग्ने !”

मेरियनले बारम्बार भनिन्, कसैसँग भेट, कुरा गर, थेरापीमा जाऊ । टेङ्गाले टेरपुच्छर लगाएन । पुरुषको त्यो निस्सासिने अहङ्कार, हाम्रोतिर पनि उही, पश्चिमाहरूको पनि उही । एक दिन मेरियनले सुटकेसमा लुगा खाँदिन् । “लौ म त गएँ,” ढोकाबाट बाहिरिनुअघि उनले भनिन् ।

‘मेरियन मलाई छोडेर हिँडी,’ टेङ्गाले मसँगको पहिलो भेटमा भनेकै थियो नि ।

“म तिमीलाई छाडेर हिँडेकी होइन टेङ्गा । म त आफैँले आफूलाई हेर भनेर हिँडेकी हुँ । जबसम्म तिमी आफ्नो भित्रको बत्ती हेर्दैनौ, म फर्कन्नँ ।” मेरियनले यसो पनि भनेकी रहिछ ।

मलाई यो कुरा बुझ्न अलि समय लाग्यो । मलाई त लागेको थियो, विश्वासघातको कथा होला, डिभोर्सको वियोग होला । तर यो त अर्कै कुरो पो रहेछ । ‘मेरियनले छाडेर गएकी होइन रहेछ, यो त टेङ्गालाई उसले झकझकाएकी रहिछ । फ्युज निकालेर, ‘ड्यासबोर्डको बत्ती बलेको छ, अब त जाँचेर हेर्छस् कि ?’ भनेझैँ गरेकी रहिछ । मान्छेलाई ब्युँताउने, झकझकाउने क्या गजबको काइदा !

“त्यो गाडी नि ?” मैले कुनातिर हेर्दै सोधेँ ।

टेङ्गा एकछिन चुप लाग्यो । “त्यसको ड्यासबोर्डमा डेढ वर्षदेखि चेक–इन्जिनको बत्ती बलिरहेको छ,” उसले भन्यो । “म त्यो कोड एक मिनेटमै मेटाउन सक्छु । तर मेटाएँ भने… मानौँ मेरियन कहिल्यै फर्कन्न भनेर मैले हार मानिदिएँ जस्तो हुन्छ । त्यसैले मैले त्यो कोड रहन दिएको छु । टेङ्गाले आफ्नो छातीको बीच भागमा चोरी औँलाले इङ्गित गर्दै भन्यो, “यो मनमा छ नि म्यान, ऊ आउँदै गरोस्, कमसेकम त्यही इन्जिन चेकजाँच गराउनै भए पनि ।”

बाहिर झिनु गतिमा हिउँ पर्न थालेको थियो, चुपचाप । सडकमा फाट्टफुट्ट मात्र गाडीहरू देखिन्थे । ग्यारेजको ढोकाको कापबाट चिसो हावा भित्र छिर्‍यो । मलाई लाग्यो, यो मान्छेले जिन्दगीभर अरूका बिग्रेका गाडी त बनायो, तर आफ्नै ग्यारेजमा त्यो पनि आफ्नै मान्छेको यस्तो गाडी राखेको छ, जसको ड्यासबोर्डमा चेक–इन्जिन बत्ती बल्न दिएको छ, किनभने त्यही बत्ती नै उसको जिजीविषाको त्यान्द्रो थियो ।

त्यो रात म घर फर्कंदा, साउथ माउन्टेनको त्यही परिचित मोडमा मेरो ड्यासबोर्डको बत्ती फेरि बल्यो । म सधैँ त्यो ठाउँमा पुगेर मन्द गतिमा बजिरहेको गीतको भोल्युम बढाउँथेँ । त्यो बत्तीमा आँखा नपरोस् भनेर ध्यान गीततिर मोड्न खोज्थेँ ।

तर त्यो रात मैले भोल्युम बढाइनँ ।

घर पुगेर म हिमानीको ओछ्यानको छेउमा टुक्रुक्क बसेँ । ऊ गहिरो निद्रामा थिई, उही कान चुँडिएको खरायो च्यापेर । मैल निकै बेर उसका निर्दोष परेलामा हेरिरहेँ । अनि खल्तीबाट मोबाइल निकालेँ र डाक्टरको अपोइन्टमेन्ट खोज्न थालेँ । मेरा औँलाहरू काँपिरहेका थिए, तर मैले बुक गरेँ ।
बिहान छ बजे बाको फोन आयो, “खाना खाइस् त बाबु ?”

यसपालि मैले पहिलेझैँ सेतो झूट बोलिनँ ।

“बा,” मैले भनेँ, मेरो स्वर कामिरहेको थियो । “म… म त्यति ठीक छैन बा । मनभित्र केही उकुसमुकुस छ । तर म डाक्टरकहाँ जाँदै छु । ठीक हुने कोसिस गर्दै छु !”

फोनको उतापट्टि एकछिन भारी सन्नाटा छायो । मलाई डर लाग्यो, कतै बाआमा आत्तिनुहुन्छ वा रुनुहुन्छ भनेर ! तर चौहत्तर भोटो फटाएका बाले एकदमै शान्त र ढाडस दिने भावमा भन्नुभयो, “हुन्छ बाबु । अलि ढिलो भए पनि भनिस्, त्यही ठूलो कुरा हो । म त दिनहुँ भगवान्‌सँग तेरै लागि माग्थेँ, मेरो बाबु आफैँ बोलोस् भनेर ।”

म रोएँ, चुपचाप, अँध्यारो बेसमेन्टमा, हिमानी नब्युँझियोस् भनेर ओठ टोकेर रोएँ । तर त्यो पहिले–पहिलेका आँसुजस्तो भारी र चिसो थिएन । मानौँ कसैले मेरो छातीको त्यो कस्सिएको डोरीको गाँठो बिस्तारै फुकाएझैँ भएको थियो ।

ट्याक्स सिजन पनि सकियो । जावेदले अफिसमा चिकेन बिरयानी मगाएर सानो भोज दिए । म त्यहाँबाट सिधै टेङ्गाको ग्यारेज गएँ, बत्ती देखाउन होइन, मोमो लिएर । सरिताले बिहानै भनेकी थिई, “टेङ्गालाई यसपालि अलि बढी नै हाल्दिएको छु, खाओस् बिचरो !”

ग्यारेजको ढोकामा पुग्दा म टक्क रोकिएँ ।

सधैँ दाहिने कुनामा हुने त्यो खरानी रङ्गको गाडी बाहिर निकालिएको थियो । माथिको धुलाम्मे प्लास्टिक कभर हटिसकेको थियो । हुड खुला थियो र टेङ्गा त्यसमुनि टाउको घुसारेर केही मिलाउँदै थियो । ऐनामा झुन्डिएको त्यो पुरानो लिलीको फ्रेसनर फेरिएको थियो, यसको ठाउँमा नयाँ, ताजा र सेतो लिली झुन्डिएको थियो ।

“टेङ्गा ?” मैले बोलाएँ ।

उसले टाउको निकाल्यो । उसको आँखामा त्यो पुरानो, वर्षौंको थकान थिएन । बरु अर्कै केही थियो, अलिकति डराएको, तर बिहानको कलिलो घामजस्तै उज्यालो ।

“मेरियनले फोन गरी म्यान,” उसले भन्यो । उसको ओठमा किशोरवयको जस्तो लजालु हाँसो छचल्किइरहेको थियो । “उसलाई पनि उसकी बहिनीले सम्झाइछ । म पनि एक जना काउन्सिलरकहाँ जान थालेको छु । हामी दुवै… दुवै अलिअलि तयार छौँ क्यारे, फेरि घरमा एउटै गीत गुनगुनाउन … । केही छिन अडेर टेङ्गाले भन्यो, “आइतबार आउँदै छे, मेरियन ।”

उसले स्क्यानर निकाल्यो, मेरियनको गाडीको मुनि जोड्यो र स्क्रिनमा उठेको कोड हेर्‍यो । उसका कालापत्रे औँला अलिकति काँपे । अनि उसले ‘क्लियर’ बटन थिच्यो ।

ड्यासबोर्डको चेक–इन्जिन बत्ती निभ्यो ।

हामी दुवैले सास रोकेर पर्खियौँ, यो फेरि बल्छ कि भनेर ! एक सेकेन्ड । दुई सेकेन्ड । तीन सेकेन्ड । अहँ, बत्ती बलेन ।

“देख्यौ त ?” टेङ्गाले गाडीतिर हेर्दै उही परिचित मुस्कानका साथ भन्यो । ऊ एकोहोरो बोलिरह्यो, “केही बिग्रेकै रहेनछ म्यान । एउटा खराब सेन्सर मात्रै रहेछ । इन्जिन त बिल्कुल सद्दे नै रहेछ ।”

उसले हुड बन्द गर्‍यो, ढ्याम्म । त्यो आवाज ग्यारेजभरि गुन्जियो ।

बाहिर मज्जाले घाम लागेको थियो; छानाको हिउँ पग्लेर हाम्रा गाउँतिरका खरका छानाबाट शीत चुहिएजस्तै तप्पतप्प चुहिरहेको थियो ।

म घर फर्कंदा फेरि साउथ माउन्टेनको त्यही मोड आयो । हरेक पटकजस्तै, मैले सास रोकेर पर्खें— मेरो ड्यासबोर्डको बत्ती बल्ने त्यही पुरानो परिचित ठाउँ ।

नभन्दै, चेक–इन्जिनको बत्ती पहेँलो भएर बल्यो । तर यसपालि मैले गीतको भोल्युम बढाइनँ, न त दाँत किट्दै “धत्तेरी !” नै भनेँ । बरु म त्यो पहेँलो बत्तीलाई हेरेर कुदिरहेको गाडीभित्र एक्लै कुनै पागलजस्तै मुसुक्क हाँसेँ । डाक्टरको अपोइन्टमेन्ट अर्को बिहीबार थियो र मेरो टोयोटा क्याम्रीको सेन्सर फेर्ने पार्ट टेङ्गाले अर्डर गरिसकेको थियो । सबै कुरा त तय नै थियो ।

साउथ माउन्टेनको त्यो मोड काटुन्जेल, अनि त्यसपछि पनि बत्ती बलिरह्यो । तर मभित्र कुनै सन्त्रास जागेन । त्यसको साटो, हृदयको कुनै कुनामा अर्कै बत्ती बल्यो, जसको उज्यालोले भनिरहेको थियो— जिन्दगीमा सबै चेतावनीहरू तर्साउनकै लागि मात्र कहाँ आउँछन् र ! ती त निरन्तर कुदिरहेको मान्छे एकैछिन थामियोस् र आफ्नै भित्री शून्यतामा चियाउन सकोस् भनेर झकझकाउन पनि देखा परेका हुन्छन् ।

धेरैजसो अवस्थामा भित्र केही बिग्रिएकै हुँदैन । धुकधुकी दुरुस्त उसै गरी चलिरहेकै हुन्छ । खड्किएको त यति मात्र हुन्छ— कसैले एक फेर आत्मीयताका साथ जिन्दगीको हुड उघारेर भित्र हेरिदिएको मात्र हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?