+
+
Shares

अस्पताल फार्मेसीको नाम फेरेर ‘सुलभ फार्मेसी’ बनाइयो, सेवामा छैन सुधार

स्वास्थ्यमन्त्रीले सरकारको १०० दिने उपलब्धिमा सुलभ फार्मेसी सञ्चालनलाई पनि राखेकी छन् । तर ती फार्मेसीका बोर्ड मात्रै फेरिएका छन् सेवामा सुधार छैन ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८३ असार २६ गते २१:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सरकारी अस्पतालका फार्मेसीहरूको नाम परिवर्तन गरी ‘सुलभ फार्मेसी’ राखे पनि सेवा र कार्यविधिमा कुनै सुधार भएको देखिएको छैन ।
  • वीर अस्पताललगायत १६ सरकारी अस्पतालमा बोर्ड फेरिए पनि औषधिको उपलब्धता र वितरण प्रक्रिया पुरानै शैलीमा चलिरहेको बिरामीहरूको गुनासो छ ।
  • स्वास्थ्य मन्त्रालयले यसलाई सुलभ र सहज सेवाका रूपमा दाबी गरे पनि कर्मचारीहरूले यो केवल नाम परिवर्तन मात्र भएको स्वीकार गरेका छन् ।

२५ असार, काठमाडौं । वीर अस्पतालको फार्मेसीमा पुग्ने जो–कोहीको पहिलो नजर अहिले नयाँ बोर्डमा पर्छ । वर्षौंदेखि परिचित ‘अस्पताल फार्मेसी’ हटेर त्यसको ठाउँमा ठूला अक्षरमा ‘सुलभ फार्मेसी’ लेखिएको छ । नाम फेरिएको छ । तर काउन्टरभित्रको सेवा, औषधि वितरणको प्रक्रिया र सेवाग्राहीले पाउने अनुभव भने पहिले जस्तै उस्तै छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निर्देशनपछि सरकारी अस्पतालहरूमा रहेका ‘अस्पताल फार्मेसी’लाई ‘सुलभ फार्मेसी’ नाम दिइएको हो । वीर अस्पतालले पनि सोही निर्देशन कार्यान्वयन गर्दै बोर्ड परिवर्तन गरिसकेको छ । नाम परिवर्तनसँगै सेवामा कुनै नयाँ व्यवस्था, सहजता वा गुणस्तरीय सुधार भने देखिएको छैन ।

बिहानदेखि औषधि लिन लाइनमा बसेका बिरामीहरू पहिले जसरी टिकट लिएर काउन्टरमा पुग्छन्, अहिले पनि प्रक्रिया त्यही छ । डाक्टरले लेखेको सबै औषधि उपलब्ध हुँदैनन् । नभएका औषधि बाहिर फार्मेसीमा चर्को मूल्यमा किन्नुपर्ने बाध्यता उस्तै छ । औषधिको सूची, वितरण प्रणाली, कर्मचारीको कार्यशैली र सेवाको ढाँचा सबै पुरानै लयमा चलिरहेको देखिन्छ ।

शुक्रबार वीर अस्पतालको फार्मेसीमा औषधि लिइरहेका नुवाकोटको श्याम लामिछानेले अनलाइनखबरसँग गुनासो गरे, ‘बोर्ड मात्रै फेरिएको छ । सेवा भने पहिल्यैको जस्तो भद्रगोल छ । सबै औषधि यहाँ छैन । अन्य औषधि बाहिरबाट लिन्छु ।’

मन्त्रिपरिषद्को गत चैत १३ गते बसेको बैठकले स्वीकृत गरेको राज्यको शासकीय सुधार योजनाअनुसार सरकारी अस्पतालमा ‘सुलभ फार्मेसी’ सेवा सञ्चालन गर्ने निर्णय भएको थियो ।

सोही निर्णय कार्यान्वयनका क्रममा सरकारले नयाँ फार्मेसी स्थापना नगरी पहिलेदेखि सञ्चालनमा रहेका अस्पताल फार्मेसीको बोर्ड परिवर्तन गरेर ‘सुलभ फार्मेसी’ नाम राख्न थालेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नारायणी अस्पताल, कान्ति बाल अस्पताल, कोशी अस्पताललगायत १६ सरकारी अस्पतालमा फार्मेसीको नाम परिवर्तन भइसकेको छ ।

मन्त्रालयले सबै सरकारी अस्पताललाई नाम परिवर्तन गर्न र फार्मेसी सञ्चालनमा नभएका अस्पताललाई तत्काल फार्मेसी स्थापना गर्न निर्देशन समेत दिइसकेको छ ।

अझ रोचक कुरा त स्वास्थ्यमन्त्री निशा मेहताले १०० दिनको प्रमुख उपलब्धिमा सुलभ फार्मेसीलाई समेटेकी छिन् । उनले भनेकी छिन्, ‘अस्पताल फार्मेसीबाट उपलब्ध हुने बीमाअन्तर्गतका औषधि तथा नागरिकलाई निःशुल्क वितरण गरिने औषधि एकद्वार प्रणालीमार्फत वितरण गर्ने व्यवस्था लागू गरिएको छ। यसका लागि अधिकांश सङ्घीय अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आइसकेको छ।’

सरकारले यसलाई नयाँ कार्यक्रमका रूपमा प्रचार गरे पनि मन्त्रालयकै अधिकारीहरूले भने यो नयाँ सेवा नभई पहिलेदेखि सञ्चालनमा रहेका अस्पताल फार्मेसीको नाम मात्रै परिवर्तन गरिएको स्वीकार गर्छन् ।

सरकारी अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन गर्ने अवधारणा भने नयाँ होइन । बजार मूल्यभन्दा कम दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने, दक्ष फर्मासिस्टमार्फत सेवा दिने तथा औषधिको उचित प्रयोग सुनिश्चित गर्ने उद्देश्यसहित सरकारले २०७२ सालमै अस्पताल फार्मेसी सञ्चालनसम्बन्धी निर्देशिका जारी गरेको थियो ।

यद्यपि, निर्देशिका प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको थिएन । पछि २०७३ सालमा तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले आवश्यक बजेट व्यवस्था गर्दै सरकारी अस्पतालहरूमा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएका थिए ।

त्यसपछि वीर अस्पतालबाट सुरु भएको अस्पताल फार्मेसी सेवा विस्तार हुँदै देशभरका अधिकांश सरकारी अस्पतालमा पुगेको थियो ।

त्यसबेला थापाले बिरामीलाई गुणस्तरीय औषधि सुलभ मूल्यमा उपलब्ध गराउन अस्पतालभित्रै अनिवार्य रूपमा आफ्नै फार्मेसी सञ्चालन गर्ने नीति लागू गरिएको बताएका थिए ।

विगत करिब एक दशकदेखि सञ्चालनमा रहेका यिनै अस्पताल फार्मेसीलाई अहिले नयाँ सरकारले ‘सुलभ फार्मेसी’ नाम दिएको हो । सेवा, जनशक्ति, खरिद प्रणाली र सञ्चालन प्रक्रिया भने पहिलेकै रहेको मन्त्रालय स्रोत बताउँछ ।

फार्मेसी इन्चार्ज भन्छन् : सेवा उही हो, बोर्ड मात्रै फेरियो

वीर अस्पतालले ‘अस्पताल फार्मेसी’को नाम परिवर्तन गरी ‘सुलभ फार्मेसी’ राखे पनि सेवा, सञ्चालन प्रक्रिया र कार्यविधिमा कुनै परिवर्तन नभएको जनाएको छ ।

वीर अस्पतालका फार्मेसी इन्चार्ज मानबहादुर महराका अनुसार स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार अस्पताल फार्मेसीहरूको नाम परिवर्तन गरी ‘सुलभ फार्मेसी’ राख्निएको हो । यो अभियानको सुरुआत पनि वीर अस्पतालबाटै गरिएको उनले बताए ।

उनका अनुसार ‘सुलभ फार्मेसी’ नयाँ अवधारणा नभई पहिलेदेखि सञ्चालनमा रहेको अस्पताल फार्मेसीकै नयाँ नाम हो । ‘हामीले कुनै नयाँ मोडल लागू गरेका छैनौँ । २०७२ सालको अस्पताल फार्मेसी निर्देशिकाअनुसार जसरी काम भइरहेको थियो, अहिले पनि त्यही कार्यविधिअनुसार सञ्चालन भइरहेको छ। परिवर्तन भनेको बोर्डमा ‘सुलभ’ शब्द थपिएको मात्रै हो,’ महराले अनलाइनखबरसँग भने ।

महराका अनुसार वीर अस्पतालको फार्मेसी २०७३ सालदेखि न्यून नाफामा औषधि बिक्री गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको छ । निजी औषधि पसलको तुलनामा निकै कम नाफा राखेर औषधि बिक्री गरिँदै आएको र औसत नाफा २० प्रतिशतभन्दा पनि कम रहेको उनले जानकारी दिए ।

उनका अनुसार बाहिरको बजारभन्दा वीर अस्पतालको फार्मेसीमा धेरै औषधि उल्लेख्य रूपमा सस्तो पाइन्छ ।

केही औषधिमा मूल्य अन्तर धेरै ठूलो रहेको उदाहरण दिँदै उनले बजारमा आठ रुपैयाँ पर्ने प्यान्टोप्राजोल अस्पतालमा एक रुपैयाँमै उपलब्ध भएको तथा ४० रुपैयाँसम्म पर्ने केही औषधि १३ रुपैयाँमा बिक्री गरिएको बताए ।

सर्जिकल सामग्री, क्यान्सरका औषधि, इन्जेक्सन तथा एन्टिबायोटिकमा पनि बजारको तुलनामा १५ देखि २० प्रतिशतभन्दा बढी मूल्य अन्तर रहेको उनको दाबी छ ।

सरकारी अस्पतालका फार्मेसीले बिरामीलाई निजी औषधि पसलको तुलनामा निकै सस्तो मूल्यमा औषधि उपलब्ध गराउँदै आएका छन् ।

यही कारण अस्पताल फार्मेसीहरू बिरामीका लागि राहत मात्र नभई अस्पतालका लागि आम्दानीको महत्वपूर्ण स्रोतसमेत बनेका छन् ।

‘सुलभ फार्मेसी’ नाम राखिएपछि निजी क्षेत्रसँग सम्बन्धित हो कि भन्ने भ्रम सिर्जना हुन थालेपछि बोर्डमै ‘वीर अस्पतालद्वारा सञ्चालित’ भन्ने उल्लेख गरिएको उनले बताए । यसबाट यो सरकारी अस्पतालकै फार्मेसी भएको सन्देश दिन खोजिएको उनको भनाइ छ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका फार्मेसी इन्चार्ज कृष्णकुमार यादवले पनि औषधि बिक्रीको मूल्य निर्धारण, सेवा प्रवाह र सञ्चालन प्रणाली भने पहिलेदेखिकै अस्पताल फार्मेसी निर्देशिकाअनुसार भइरहेको बताए ।

यादवका अनुसार अस्पतालले औषधि खरिद मूल्यमा अधिकतम २० प्रतिशत मार्जिन थपेर मात्रै बिरामीलाई बिक्री गर्दै आएको छ । औषधिको मूल्य निर्धारण गर्दा खुद्रा बिक्री मूल्य (एमआरपी) ननाघ्ने व्यवस्था कडाइका साथ पालना गरिएको उनले स्पष्ट पारे ।

‘हामीले पहिलेदेखि नै निर्देशिकाअनुसार खरिद मूल्यमा २० प्रतिशतसम्म मात्रै मार्जिन राखेर औषधि बिक्री गर्दै आएका छौं। औषधिको एमआरपीभन्दा बढी मूल्य लिन पाइँदैन,’ यादवले अनलाइनखबरसँग भने ।

सरकारी अस्पतालको फार्मेसीमा पाइने औषधि निजी अस्पताल वा बजारको तुलनामा उल्लेख्य रूपमा सस्तो पर्ने गरेको छ ।

औषधिको प्रकारअनुसार कतिपय औषधिमा ४० देखि ५० प्रतिशतसम्म, केहीमा ६० देखि ७० प्रतिशतसम्म मूल्य अन्तर देखिने गरेको उनको भनाइ छ । केही औषधि भने एमआरपीकै मूल्यमा बिक्री हुने अवस्था पनि रहेको उनले बताए ।

अहिले भएको बोर्ड परिवर्तन मूलतः नाममा मात्रै सीमित रहेको अस्पतालका कर्मचारी बताउँछन् ।

‘पहिला ‘अस्पताल फार्मेसी’ भनेर बोर्ड थियो, अहिले सुलभ फार्मेसी’ राखिएको हो । सेवा, मूल्य निर्धारणको आधार र सञ्चालन प्रक्रिया भने उही पुरानै छ,’ यादव भन्छन् ।

‘अब औषधिको मूल्य पनि सार्वजनिक गरिने’

स्वास्थ्य मन्त्रालय भने नाम परिवर्तनसँगै औषधि सेवा, व्यवस्थापन, मूल्य निर्धारण र पारदर्शितामा समेत सुधार गरिने दाबी गर्छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार ‘अस्पताल फार्मेसी’ भन्ने नामले सर्वसाधारणमा स्पष्ट सन्देश दिन नसकेको र सेवा पनि एकरूप हुन नसकेपछि ‘सुलभ फार्मेसी’ अवधारणा लागू गरिएको हो।

अधिकारीका अनुसार सुलभ फार्मेसीको मुख्य उद्देश्य अस्पतालले नै सञ्चालन गर्ने फार्मेसीमार्फत बजारभन्दा सस्तो मूल्यमा, न्यूनतम मुनाफामा तथा सहज रूपमा औषधि उपलब्ध गराउनु हो ।

‘अस्पतालले सञ्चालन गर्ने भएकाले व्यवसायिक नाफा कमाउने उद्देश्य होइन, सेवाग्राहीलाई सुलभ र सहज रूपमा औषधि उपलब्ध गराउने उद्देश्य हो,’ अधिकारीले भने ।

हालसम्म मन्त्रालयको जानकारीअनुसार १६ वटा सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आइसकेको छ । वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कान्ति बाल अस्पताललगायत केन्द्रीय अस्पतालबाट यसको सुरुवात भएसँगै क्रमशः अन्य प्रदेश तथा स्थानीय तहका अस्पतालमा पनि विस्तार गरिने मन्त्रालयको योजना छ ।

प्रवक्ता अधिकारीका अनुसार नाम परिवर्तनको कार्यक्रम मात्र होइन । फार्मेसी सञ्चालनको व्यवस्थापन, औषधिको मूल्य निर्धारण, सेवा प्रणाली तथा सूचना प्रवाहलाई समेत व्यवस्थित बनाइने दाबी छ । त्यसका लागि आवश्यक निर्देशिका पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

सुलभ फार्मेसीमा उपलब्ध हुने औषधिको सूची र मूल्य सार्वजनिक रूपमा डिस्प्ले गरिने व्यवस्था मिलाइनेछ । सेवाग्राहीले कुन औषधि कति मूल्यमा उपलब्ध छ भन्ने जानकारी अस्पतालमै सहज रूपमा प्राप्त गर्नेछन् । साथै भविष्यमा निःशुल्क वितरण गरिने औषधि तथा अन्य सामाजिक सुरक्षा सम्बन्धी सेवासमेत यसै प्रणालीमा समेट्दै लैजाने तयारी मन्त्रालयको छ ।

सरकारी अस्पतालमा आवश्यक औषधि नपाइने गुनासो बढिरहेका बेला सुलभ फार्मेसीले त्यसलाई समाधान गर्ने लक्ष्य लिएको मन्त्रालयको दाबी छ । अस्पतालले उपलब्ध गराउने सेवाका लागि आवश्यक पर्ने औषधि सकेसम्म सबै अस्पतालभित्रकै फार्मेसीबाट उपलब्ध गराउने नीति लिइएको प्रवक्ता अधिकारीले बताए ।

‘बाहिरको निजी फार्मेसी धाउनुपर्ने बाध्यता अन्त्य गर्ने हाम्रो उद्देश्य हो। आवश्यक औषधि अस्पतालमै उपलब्ध गराएर सेवाग्राहीको समय, खर्च र दुःख कम गर्ने लक्ष्य राखिएको छ,’ उनले भने ।

मूल्यका विषयमा पनि मन्त्रालयले व्यवसायिक मुनाफा न्यूनतममा सीमित गर्ने नीति लिएको जनाएको छ । औषधिको प्रकृतिअनुसार बजार मूल्यभन्दा केही वा उल्लेख्य रूपमा सस्तो हुन सक्ने भए पनि समग्रमा सुलभ फार्मेसीबाट उपलब्ध हुने औषधि बजारभन्दा कम मूल्यमा पाइने प्रवक्ता अधिकारीको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयका उच्च स्रोतका अनुसार अस्पताल फार्मेसीको नाम परिवर्तन मन्त्रालयको आफ्नै प्राथमिकताभन्दा पनि प्रधानमन्त्रीको चाहनासँग जोडिएको विषय हो ।

स्रोतका अनुसार प्रधानमन्त्री बनेपछि उनले यसअघि काठमाडौं महानगरपालिकामा अघि सारेको ‘सुलभ फार्मेसी’ अवधारणालाई देशभर विस्तार गर्ने इच्छा व्यक्त गरेका थिए । त्यसपछि मन्त्रालयले पहिलेदेखि सञ्चालनमा रहेका अस्पताल फार्मेसीलाई नै ‘सुलभ फार्मेसी’ नाम दिन थालेको हो ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?