+
+
Shares
नाटक :

शंकामा डुब्दै जाँदा के-के हुन्छ ?

शंका कहिलेकाहीँ विश्वास जत्तिकै शक्तिशाली र टिकाउ बन्धन बन्न सक्छ ।

सापेक्ष सापेक्ष
२०८३ असार २६ गते २१:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विद्यालयको पृष्ठभूमिमा आधारित यो नाटकले सत्यको खोजी र अनिश्चितताको मनोविज्ञानलाई सशक्त रूपमा चित्रण गरेको छ।

पादरी फादर फ्लिनले प्रवचनका क्रममा दृष्टान्त सुनाउन थाल्छन् – एउटा ठूलो पानीजहाज समुद्रको बीचमा डुब्छ । जहाजमा सवार सबै यात्रीहरू डुबेर मर्छन् । तर एउटा जवान मानिस कुनै किसिमले बच्न सफल हुन्छ । ऊ समुद्रमा एउटा सानो राफ्ट बनाएर तैरिन थाल्छ । रातको समयमा ऊ आकाशमा चम्किरहेका ताराहरूलाई हेरेर आफ्नो दिशा निर्धारण गर्छ र घर फर्किने बाटो खोज्छ ।

तर केही दिनपछि अचानक ठूलो आँधी आउँछ । आकाशमा कालो बादल लाग्छ र ताराहरू पूरै छेकिन्छन् । त्यो मानिस पूर्ण अन्धकारमा हराउँछ । २० दिनसम्म उसले कुनै तारा देख्न पाउँदैन । त्यसैबीच उसलाई आफू कता जाँदै छु, मेरो बाटो ठीक छ कि छैन भन्ने बारे शंका लाग्न थाल्छ । ऊ पूर्ण अनिश्चिततामा बाँचिरहेको हुन्छ ।

यही शंकाले नै उसलाई बाँच्ने शक्ति दिइरहेको थियो । शंका कहिलेकाहीँ विश्वास जत्तिकै शक्तिशाली र टिकाउ बन्धन बन्न सक्छ । जब हामी हराएका हुन्छौं, तब शंकाले पनि हामीलाई एक्लो महसुस गर्न दिँदैन।

हो, यहीँ दृष्टान्तको सेरोफेरोमा रहेर नाटक संशय अहिले काठमाडौंको गौशालास्थित सत्यमोहन थिएटर स्टुडियोमा मञ्चन भइरहेको छ ।

यो नाटक जोन प्याट्रिक श्यानलीको डाउट: ए प्यारेबल को नेपाली संस्करण हो । २१औं शताब्दीको शक्तिशाली र विचारोत्तेजकमध्ये एकमा गनिने यो नाटक नेपालीमा अनुवाद र निर्देशन दीपल बरालले गरेका हुन् ।

यो नाटकले सतहमा एउटा स्कुलको घटनालाई देखाए पनि गहिराइमा मानवीय नैतिकता, शंका, विश्वास र संस्थागत शक्तिको जटिल द्वन्द्वलाई देखाउन सफल छ ।

विषयवस्तु

नाटकमा सन् १९६४ को ब्रोन्क्सको एउटा क्याथोलिक स्कुल वरिपरिको कथा देखाइएको छ । त्यस स्कुलमा सिस्टर एलोइसियस प्रधानाध्यापक छिन् । उनी अत्यन्तै कठोर स्वभावकी हुन्छिन् ।

त्यही स्कुलमा पादरी फ्लिनले केही समयअघि मात्रै आएका हुन्छन् । उनी चर्चमा प्रवचन दिन र विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलाप पनि गराउन रुचि मान्छन् ।

त्यस्तै सिस्टर जेम्स उक्त विद्यालयमा कक्षा शिक्षिका हुन्छिन् । उनी इतिहास पढाउन खुबै रुचि मान्छिन् । उनी विद्यार्थीहरूसँग खुल्नुपर्छ भन्ने विश्वास राख्छिन् ।

तर, पादरी फ्लिन र सिस्टर जेम्स दुवैको कुरा सिस्टर एलोइसियसलाई मन पर्दैन ।

त्यस्तैमा एक दिन उनलाई डोनाल्ड मुलर नाम गरेको अश्वेत बालकसँग पादरी फ्लिनले अनुचित सम्बन्ध राखेको शंका हुन्छ । उनको शंका सिस्टर जेम्ससँग पनि जोडिन्छिन् । जो मुलरको शिक्षिका पनि हुन् । त्यसपछि यो नाटकले रफ्तार लिन थाल्छ ।

तर, नाटकमा हामीले मुलर देख्दैनौं । मुलरसँग पादरी फ्लिन पनि देख्दैनौं । उनीहरू सँगै नदेखाएरै मुलर र पादरी फ्लिनबीच के भएको थियो भनेर संवादमार्फत देखाइएको छ । यसो हुँदा सिस्टर एलोइसियसको शंकामा नाटकले कुनै ठोस प्रमाण दिँदैन । दर्शकले कहिल्यै निश्चित रूपमा थाहा पाउँदैनन् – फादर फ्लिन दोषी हुन् कि निर्दोष ? त्यो अनिश्चितता नै नाटकको सबैभन्दा ठूलो शक्ति हो ।

पात्र र सेट

यो नाटकमा जम्मा ४ जना देखिने पात्र छन् । चारै पात्रहरू अत्यन्त जीवन्त र बहुआयामिक छन् । उनीहरू उही शंका र विद्यालयको नियमित कामका कारण बेलाबेला एकअर्कासँग ठोक्किरहन्छन् । सो क्रममै कथा अघि बढ्छ । दर्शकले अलि आयामिक पात्रको रूपमा पादरी फ्लिनलेलाई देख्न सक्छन् । किनकि उनी प्रवचन दिने भूमिकामा मात्र छैनन् ।

सिस्टर एलोइसियस र सिस्टर जेम्स भने सधैं धार्मिक भेष र उही पेशामा देखिन्छन् । नाटकको बीचतिर छोटो तर अत्यन्त प्रभावशाली भूमिका रहेका मिसेस मुलरको इन्ट्री हुन्छ । उनी विद्यार्थी मुलरकी आमा हुन्।

उनले मातृत्वको पक्षबाट गर्ने संवादहरू अत्यन्तै आत्मीय छन् । यीबाहेक केही अदृश्य पात्रहरू पनि नाटकमा देखिन्छ । सत्यमोहन थिएटर स्टुडियोमा उनीहरूलाई देखाउन सिस्टर एलोइसियसको ठूलो कोठा सेटमा राखिएको छ । यद्यपि विद्यालयको चौर, चर्च र चर्चको चौर जस्ता स्थान पनि सेटमा अटाएका छन् । अर्को अर्थले एउटा क्याथोलिक स्कुलको सेट मञ्चमा राखिएको छ । लाइटको सुन्दर संयोजनाले सेटमा उत्कृष्ट काम निर्देशक बरालले गरेका छन् ।

कमजोरी र बलियो पक्ष

यो मूलतः अमेरिकन नाटक भएकाले नेपाली समाजसँग यसको विषयवस्तु त्यति मिल्दैन । यद्यपि नाटकको दार्शनिक पाटो भने वर्तमान नेपाली समाजसँग मिल्न जान्छ ।

अन्धविश्वास जत्तिकै अन्धशंका पनि खतरनाक हुन्छ भन्ने कुरा यो नाटकले देखाउँछ । सँगै यो नाटकले शंकाले नै सत्य खोज्ने यात्रा सुरु गर्छ भन्ने पनि देखाउँछ । तर, त्यसको मोल के हुन्छ ? कस्तो हुन्छ ? भन्ने कुरा हामीले नाटकका पात्रहरूको मनोविज्ञानबाट हेर्न पुग्छौं ।

किनकि नाटकमा सिस्टर एलोइसियस आफ्नो नैतिक कर्तव्य पूरा गर्न झुट बोल्न तयार हुन्छिन् । तर, के उनको त्यो झुट सही साबित हुन्छ त ! यो कुरा भने नाटकको घुर्तमै लुकेर रहेको छ ।

यही पाटो नै नाटकको बलियो पक्ष हो ।

त्यस्तै अनुवादका क्रममा मूल नाटककै पात्रको नाम, संवाद (वाक्य संरचना) राखिएको छ । यसलाई मूल नाटकको मर्म जोगाउने मान्न सकिएता पनि त्यसमा निर्देशकले काम गर्नु पर्ने ठाउँ छाडेका छन् । अर्कोतिर साउन्डमा पनि छुद्रहरू छन् । सम्भवत: यिनमा मज्जाले काम गर्न सकिने छ ।

फोटो : नेपाल फिल्म क्याम्पस

नाटक : संशय

निर्देशक : दिपल बराल

थिएटर : नेपाल फिल्म क्याम्पस, सत्यमोहन थिएटर स्टुडियो, गौशाला

मञ्चमा :

सलोनी कार्की, निर्जना महरा, आकाश चौधरी, काफ्नी थापा

मञ्चन अवधी : २८ असारसम्म

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?