News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमाथि सत्तारुढ दल एमालेकै सांसदहरूले प्रदेश सभा सचिवालयमा खर्च कटौतीको प्रस्ताव दर्ता गराएका छन्।
- एमालेका सांसदहरूले सम्बन्धित मन्त्रालयको बजेटलाई एक रुपैयाँ कायम गरियोस् भन्दै प्रदेश सभामा औपचारिक प्रस्ताव दर्ता गराएको सचिवालयले जनाएको छ।
- प्रदेश सरकारको ३७ अर्ब बराबरको बजेटप्रति सत्तारुढ दलभित्रै चर्को असन्तुष्टि बढेपछि समस्या समाधानका लागि शीर्ष नेताहरूले छलफल गरेका छन्।
२६ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि सत्तारुढ दलकै सांसदले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका छन् ।
शुक्रबार नेकपा एमालेका उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्रबहादुर मल्ल र सांसद दमन सिंह भण्डारीले खर्च कटौतीको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका हुन् ।
विषयगत मन्त्रालयअनुसार खर्च कटौतीको प्रस्ताव पेस गरेका उनीहरूले सम्बन्धित मन्त्रालयको समग्र बजेटलाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव दर्ता गराएको सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।
एमाले उपनेता थापाले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, प्रमुख सचेतक मल्लले भौतिक पूर्वाधार विकास मन्त्रालय र सांसद भण्डारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बजेटमा खर्च कटौतीको प्रस्ताव पेस दर्ता गराएका हुन् ।
२३ असारमा बसेको एमाले संसदीय दलको बैठकले विषयगत मन्त्रालयअनुसार नै खर्च कटौतीको प्रस्ताव प्रदेश सभामा लैजाने निर्णय गरेको थियो ।
बैठकले यी बाहेकका आर्थिक मामिला मन्त्रालयमा दल नेता राजेन्द्र सिंह रावल, सामाजिक विकासमा धर्मराज पाठक र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा जानकी ऐर बमले खर्च कटौतीको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो ।
प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब बराबरको बजेट ल्याएको थियो । तर, सत्तारुढ दलभित्रै बजेटमाथि चर्को असन्तुष्टि छ ।
विवादको समाधान खोज्न भन्दै नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल र एमाले लेखा आयोग अध्यक्ष डा. पुष्प कँडेलले सुदूरपश्चिम आएर छलफल गरेका थिए ।
प्रतिक्रिया 4