News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि महानगर प्रहरीसँगको विवादपछि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ ।
- मोटरसाइकलमा ह्वीललक लगाएको विषयमा सुरु भएको विवादपछि नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको सीसीटीभी फुटेज र प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
- घटनाको सत्यतथ्य छानबिन गर्न प्रहरीले डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ र यस विषयमा सदनमा समेत आवाज उठेको छ ।
२६ असार, काठमाडौं । मुगुको सोरू गाउँपालिका–१ घर भएका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनाले सडकदेखि सदनसम्म तातेको छ ।
पठाओ चलाएर जिविका चलाउँदै आएका गणेशको आत्मदाह घटनाले अनेकन प्रश्नहरू उठाएका छन् । बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि महानगर प्रहरीसँगको नोकझोकपछि आफ्नै शरीरमा पेट्रोल छर्केर गणेशले आगो लगाएका थिए ।
सार्वजनिक भिडियोमा गणेश र नगर प्रहरीबीच नोकझोक भएको देखिन्छ, सुनिन्छ । अहिलेसम्म सार्वजनिक भएका विवरण अनुसार, ‘नो पार्किङ’मा गणेशले मोटरसाइकल पार्किङ गरेको र त्यस विषयमा विवाद हुँदा ह्वील लक लगाउनेसम्मको घटना भएको थियो । यसको केही समयपछि गणेशले पेट्रोल छर्केर आफ्नो शरीरमा आगो लगाएको पाइएको छ ।
आत्मदाह प्रयास गरेका नेपालीको शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । यो घटनालाई लिएर अहिले अनेकन टिकाटिप्पणीहरू भएका छन् ।
कुनै गन्तव्यमा हिंडेका गणेशले आत्मदाह गर्नुपर्ने अवस्था कसरी आयो ? र त्यतिबेला के–कस्ता घटनाहरू भए यसको यकिन विवरण भने आइसकेको छैन । यो घटनाको विवरण हामीले खोतल्ने प्रयास गरेका छौं ।
बिहीबार ११:१० बजे राहादानी विभागको २ नम्बर गेट अगाडिको सडकमा ‘नो पार्किङ’ लेखिएको ठाउँमा गणेशले आफ्नो बा. प्र. ०२०६४ प ३२२५० नम्बरको कालो रातो रङको पल्सर मोटरसाइकल पार्किङ गरेको बताइन्छ ।
‘नो पार्किङ’मा पार्किङ गरेपछि यही विषयमा महानगर प्रहरीसँग नोकझोक भएको थियो । त्यतिबेला उक्त ठाउँमा महानगर प्रहरी जवान मीना नगरकोटी र मीना तामाङ ड्यूटीमा खटिएका थिए । गणेशले ‘नो पार्किङ’मा पार्किङ गरेपछि नगर प्रहरी मीनाले ‘यहाँ पार्किङ गर्न मिल्दैन, अन्तै पार्किङ गर्नुहोला’ भनी अनुरोध गरेको दाबी गरिएको छ ।
तर नगर प्रहरीको यो कुरालाई बेवास्ता गर्दै गणेशले मोटरसाइकल पार्किङ गरेको बताइएको छ । नगर प्रहरी जवान मीना नगरकोटीले मोटरसाइकल नहटाए ह्वील लक लगाउने बताएपछि उनीहरूबीच नोकझोक सुरु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।

अहिले प्रहरीको सोधपुछमा रहेकी मीनाले गणेशले गालीगलौज गरेपछि मोबाइलबाट भिडियो समेत खिच्न लाग्दा गणेश मोटरसाइकल लिएर त्यहाँबाट राहदानी विभागकै ३ नम्बर गेटतर्फ गएको दाबी छ ।
११:२० बजेको समयमा नगर प्रहरी जवान मीना नगरकोटी सिठ्ठी फुक्दै राहदानी विभागको ३ नं. गेट अगाडि पुगेकी थिइन् । जहाँ उनी ‘नो पार्किङ’ लेखिएको स्थानमा गणेश नेपाली मोटरसाईकल पार्किङ गरी बसेका थिए । त्यहाँ पुगेर पछाडिको चक्कामा ह्वीललक लगाइएको थियो ।
त्यसपछि भने घटनाले झनै उग्र रुप लिएको थियो । सार्वजनिक भिडियोअनुसार यसअघि नै उनीहरूबीच नोकझोक भएको र भागेर ३ न. गेटमा आएको बुझ्न सकिन्छ । जहाँ मेरो मोबाइल किन फुटाइएको भन्दै महानगर प्रहरी जवान मीनाले प्रश्न गरेको सुनिन्छ ।
गणेशले ‘मैले फुटाएको हो ? अगाडि आएपछि फुटेको’ भन्ने आशयको जवाफ दिएको पनि सार्वजनिक भिडियोमा सुनिन्छ । उनीहरूको यो विवाद हुँदा ११:२६ बजेको थियो । यसको करिब आधा घण्टापछि ११:५५ बजे नगर प्रहरी जवान मीना नगरकोटीले आफू कार्यरत कार्यालयमा फोन गरी ‘एउटा मोटरसाइकलमा ह्वीललक लगाएको छु, मोटरसाइकललाई कार्यालयसम्म लैजान गाडी पठाई दिनुपर्यो’ भन्दै रिपोर्ट समेत गरेको महानगरले बताएको छ ।
१२ बजेतिर प्रहरी बिट टेकुबाट ड्युटीमा खटिएका प्रहरी हवल्दार विकास बुढाथोकी उक्त स्थानमा पुगेका थिए । हवल्दार बुढाथोकीलाई मीना नगरकोटीले ह्वीललक लगाएको, गणेशले अश्लिल शब्द प्रयोग गरेको र त्यतिबेला विवाद भएको विषय जानकारी गराएको दाबी छ ।
त्यसपछि हवल्दार बुढाथोकीले गणेशलाई सम्झाई बुझाई गरी राहदानी विभागको मेन गेटर्फ गएका थिए । तर गणेश नेपाली भने घरी २ नं. गेटतर्फ जाने, घरी मोटरसाइकल भएतर्फ आउने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
पेट्रोल निकाल्न सहयोग गर्ने को हुन् ?
१२:१२ बजेको समयमा गणेशले आफ्नो मोटरसाइकलबाट पेट्रोल निकालेको देखिएको छ । पेट्रोल निकालेर पानीको बोतलमा राखेको महानर प्रहरी जवान मीना तामाङ समेतले देखेको र किन निकालेको भन्दै ? सोधेको समेत दाबी मीना तामाङको छ ।
त्यतिबेला गणेशले भने मेरो मोटरसाइकलको पेट्रोल पनि निकाल्न नपाउने भन्ने जवाफ दिएको मीना तामाङले प्रहरी समक्ष बताएकी छिन् । गणेशलाई मोटरसाइकलबाट पेट्रोल निकाल्ने अर्का एक जना व्यक्तिले पनि सहयोग गरेको सीसीटीभी फुटेजमा देखिएको छ ।

तर ती व्यक्ति को हुन् भन्नेबारे पहिचान भएको छैन । पेट्रोल निकालेपछि ज्याकेटको भित्री भागमा राखी गणेश त्यहाँबाट गएको सीसीटीभी फुटेजमा देखिन्छ । उक्त ठाउँमा दिउँसो १:३६ बजेको समयमा महानगर प्रहरीको गाडी समेत आएको सीसीटीभी फुटेजमा देखिन्छ ।
महानगर प्रहरीको गाडी आएको एक मिनेटमै अर्थात १:३७ बजे राहदानी विभागको २ नं. गेटतर्फबाट शरिरमा पेट्रोल छर्की भिजेको अवस्थामा गणेश दौडिँदै राहदानी विभागको ३ नं गेट अगाडि आइपुगेका थिए ।
पेट्रोल छर्केर आफ्नो शरीरमा आगो लगाएको केहीबेरमै त्यहाँ भएका नागरिकको सहयोगमा आगो निभाइएको सीसीटीभी फुटेजमा देखिएको छ ।
हवल्दारले ट्याक्सीमा राखेर पुर्याएका थिए अस्पताल
प्रहरीले घटना थाहा पाएको एक मिनेटमै रेस्पोन्स गरेको दाबी गरेको छ । भिक्टर कन्ट्रोल (काठमाडौं उपत्यका प्रहरी कार्यालयको कल साइन)को सञ्चार सेटबाट दिउँसो १:४५ बजे वरदाताको बारेमा जानकारी गराइएको र तत्कालै हवल्दार विकास बुढाथोकी घटनास्थल पुगेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईले बाहिर हल्ला आएजस्तो प्रहरीले हिंडाउँदै अस्पताल नलगेको बताउँछन् । बाहिर सडकसम्म निकालेर ट्याक्सीमार्फत प्रहरीले नै अस्पताल लगेको उनले बताए । गणेशलाई हिंडाउँदै गरेको भिडियो त्यतिबेलाकै रहेको प्रहरी अधिकारीको दाबी छ ।
हवल्दार बुढाथोकीले बा २ ज १५८० नम्बरको ट्याक्सीमा गणेशलाई राखी वीर अस्पताल लगेका थिए । त्यसपछि इन्स्पेक्टर, डीएसपीसहितको टोली घटनास्थलमा पुगेर सोधपुछ गरेको थियो ।

३ महानगर प्रहरी र प्रत्यक्षदर्शीसँग प्रहरीको सोधपुछ
घटना भएपछि मुचुल्का उठाउने कामदेखि बोतल, लाइटर, तथा घाइतेका कपडा समेत सबुद प्रमाणको रुपमा संकलन गरिएको थियो ।
अहिले भने तीन महानगर प्रहरीका साथै घटनाका प्रतक्ष्यदर्शीहरू समेत सोधपुछ गर्ने र घटना विवरण कागज गराउने काम भइरहेको परिसरले बताएको छ । परिसरका एसपी भट्टराई भन्छन्, ‘अनुसन्धानका लागि आवश्यक पर्ने काम कारबाहीहरू गरिरहेका छौं ।’
अस्पताल पुर्याउने प्रहरी हवल्दारदेखि विवादमा आउने महानगर प्रहरी, प्रतक्ष्यदर्शीहरूसँग अहिले सोधपुछ र घटना विवरण कागज बनाउने काम भइरहेको छ ।
यता आत्मदाह प्रयास गरेका गणेशको उपचारकै क्रममा बिहान ११:१९ बजे मृत्यु भएको छ ।
डीआईजीको नेतृत्वमा छानबिन समिति
ह्वीललकको सामान्य विवादमा गणेशले आत्मदाह गरेपछि यो घटनाले सदन पनि प्रवेश गरेको छ । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा बोल्दै घटनाबारे छानबिन हुने बताएका छन् ।
त्यसका लागि डीआईजी गोविन्द थपलियाको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत डीआईजी थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको छ ।
समितिका संयोजक थपलियाले काम सुरु गरिसकेको अनलाइनखबरलाई बताए । ‘हामीले काम सुरु गरिसकेका छौं । यथाशिघ्र सत्य तथ्य बाहिर ल्याउछौं,’ डीआईजी थपलियाले भने ।
प्रतिक्रिया 4