News Summary
Generated by OK AI. Editorially reviewed.- जर्मनीका अलेक्जेन्डर जेभेरेभले आर्थर फेरीलाई सोझो सेटमा पराजित गर्दै पहिलो पटक विम्बल्डनको पुरुष एकल फाइनलमा स्थान बनाएका छन् ।
- फ्रेन्च ओपन विजेता जेभेरेभले अब उपाधिका लागि यानिक सिनर र नोभाक जोकोभिचबीचको विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नेछन् ।
- सेमिफाइनलसम्मको ऐतिहासिक यात्रा तय गरेका आर्थर फेरी नयाँ वरीयतामा विश्व नम्बर ३६ मा उक्लिनुका साथै बेलायतका नयाँ नम्बर एक खेलाडी बनेका छन् ।
२६ असार, काठमाडौं । जर्मनीका अलेक्जेन्डर जेभेरेभले आर्थर फेरीको स्वप्निल यात्रा अन्त्य गर्दै पहिलो पटक विम्बल्डनको पुरुष एकल फाइनलमा स्थान बनाएका छन् ।
शुक्रबार भएको सेमिफाइनलमा दोस्रो वरियताका जेभेरेभले ब्रिटिस वाइल्डकार्ड फेरीलाई ७-६ (७-०), ६-२ र ६-४ को सोझो सेटमा पराजित गरे ।
जेभेरेभले अब उपाधिका लागि साविक विजेता यानिक सिनर र सात पटकका विम्बल्डन च्याम्पियन नोभाक जोकोभिचबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।
विश्व नम्बर ११४ का रूपमा प्रतियोगितामा प्रवेश गरेका २३ वर्षीय फेरीले ग्रान्डस्लाममा यसअघि दोस्रो चरणभन्दा माथि पुग्न सकेका थिएनन् । तर यसपटक उनले सबै अनुमानलाई गलत साबित गर्दै सेमिफाइनलसम्मको अविस्मरणीय यात्रा तय गरेका थिए ।
यद्यपि जेभेरेभजस्तो अनुभवी खेलाडीविरुद्ध उनको चुनौती सफल हुन सकेन । खेलपछि सेन्टर कोर्टमा उपस्थित दर्शकले फेरीको उत्कृष्ट प्रदर्शनको सम्मान गर्दै लामो समयसम्म उभिएर ताली बजाएका थिए ।
यस प्रतियोगितापछि फेरी सोमबार सार्वजनिक हुने नयाँ विश्व वरीयतामा करिअरकै उत्कृष्ट विश्व नम्बर ३६ मा उक्लिनेछन् । उनी बेलायतका नयाँ नम्बर एक खेलाडी पनि बन्नेछन् । साथै उनले ९ लाख पाउन्ड (करिब १६ करोड ५९ लाख रुपैयाँ) पुरस्कार प्राप्त गर्नेछन् ।
जितपछि जेभेरेभले भने, ‘विम्बल्डन मेरो लागि सधैं कठिन ग्रान्डस्लाम रह्यो । अहिले पहिलो पटक फाइनलमा पुग्न पाउँदा निकै खुसी छु ।’
उनले फेरीको पनि खुलेर प्रशंसा गर्दै भने, ‘आर्थर असाधारण खेलाडी हुन् । यो उनको करिअरको सुरुवात मात्र हो । उनी अझ धेरै वर्ष टेनिसमा उत्कृष्ट प्रदर्शन गर्नेछन् ।’
२९ वर्षीय जेभेरेभले गत महिना फ्रेन्च ओपन जित्दै पहिलो ग्रान्डस्लाम उपाधि जितेका थिए । अब उनी दोस्रो ग्रान्डस्लाम उपाधि जित्ने लक्ष्यसहित आइतबार हुने विम्बल्डन फाइनलमा उत्रिनेछन् ।
प्रतिक्रिया 4