+
+
Shares

मानव सेवा आश्रमलाई २ लाख २२ हजार २२२ रुपैयाँको श्रीपति समाज सेवा पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २७ गते १२:५६

२७ असार, पोखरा । सडकपेटी, सार्वजनिक स्थल तथा खुला आकाशमुनि कष्टपूर्ण जीवन बिताइरहेका सहयोगापेक्षी नागरिकको उद्धार, संरक्षण र पुनर्स्थापनामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै मानव सेवा आश्रम नेपाललाई श्रीपति समाज सेवा पुरस्कार–२०८३ प्रदान गरिने भएको छ ।

पुरस्कारअन्तर्गत आश्रमले नगद २ लाख २२ हजार २२२ रुपैयाँ, समाज सेवा पदक र सम्मानपत्र प्राप्त गर्नेछ । श्रीपति कोइराला गुठी, कोइराला सेवा समाजले शुक्रबार श्रीपति कोइरालाको २११औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा यस वर्षको राष्ट्रियस्तरको श्रीपति समाज सेवा पुरस्कार मानव सेवा आश्रमलाई प्रदान गर्ने घोषणा गरेको अध्यक्ष फणिन्द्राज कोइरालाले जानकारी दिए ।

पुरस्कार छनोट समितिको सिफारिसका आधारमा आश्रमलाई सम्मान गर्ने निर्णय गरिएको समाजले जनाएको छ ।

मानव सेवा आश्रमले सडकपेटी, सार्वजनिक स्थल तथा खुला आकाशमुनि जीवन बिताउन बाध्य सहयोगापेक्षी, बेसहारा, अशक्त, अभिभावकविहीन तथा शारीरिक र मानसिक रूपमा कमजोर व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण र पारिवारिक पुनर्मिलनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ।

समाजमा मानव सेवाको विशिष्ट उदाहरण प्रस्तुत गरेको मूल्यांकन गर्दै आश्रमलाई पुरस्कार प्रदान गर्न लागिएको समाजका सचिव नवराज कोइरालाले जानकारी दिए।

स्वर्गीय श्रीपति कोइरालाको स्मृति र उनले समाज सेवामा पुर्‍याएको योगदानलाई राष्ट्रियस्तरमा सम्मानित गर्ने उद्देश्यले स्थापना गरिएको श्रीपति समाज सेवा पुरस्कार यसअघि माइती नेपाल, राष्ट्रिय आविष्कार केन्द्र, भुवनेश्वरी नमुना सेवाश्रम, बिन्दवासिनी धार्मिक क्षेत्र विकास समिति पोखरा तथा तिलगंगा आँखा प्रतिष्ठानका निर्देशक डा. सन्दुक रुइतलगायत संस्था तथा व्यक्तित्वलाई प्रदान गरिसकिएको छ।

कोइराला सेवा समाजले आगामी पुस १५ गते आयोजना हुने विशेष समारोहमा मानव सेवा आश्रमलाई नगद २ लाख २२ हजार २२२ रुपैयाँसहित समाज सेवा पदक र सम्मानपत्र प्रदान गरिने सचिव नवराजले जानकारी दिए।

समाजले कोइराला गुठी र आवद्धहरूका लागि मात्रै हनेइन, देशका हरेक क्षेत्रको सामाजिक काममा योगदान गर्दै आएको कोइराला समाजका केन्द्रीय अध्यक्ष कृष्णमुरारी कोइरालाले बताए ।

श्रीपति कोइरालाको जन्म वि.सं. १८७४ असार २७ गते पोखराको गैह्रापाटनमा भएको थियो। उनले भारतको बनारसमा ज्योतिषशास्त्र, धर्मशास्त्र, तन्त्रविद्या र आयुर्वेदको अध्ययन गरेका थिए।

अध्ययनपछि उनले सरकारी जागिरसँगै धर्म, समाजसेवा र मानव कल्याणका क्षेत्रमा सक्रिय जीवन बिताए। पोखरा र पर्वत जिल्लामा जग्गा खरिद गरी पाटी, पौवा र मन्दिर स्थापना गर्नुका साथै साधुसन्त, बटुवा र सर्वसाधारणका लागि बाटो, चौतारा तथा पौवा निर्माणमा योगदान दिएका थिए ।

उनले स्थापना गरेका मन्दिर, पौवा तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्दै मानव कल्याणका अभियानलाई निरन्तरता दिन उनका सन्ततिहरूले पुरस्कार, छात्रवृत्ति र आर्थिक सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । त्यही अभियानअन्तर्गत राष्ट्रियस्तरको श्रीपति समाज सेवा पुरस्कार स्थापना गरिएको हो, जसले समाज सेवामा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई सम्मान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?