२७ असार, सर्लाही । विज्ञान विषयमा स्नातकोत्तर (एमएससी) गरेका सर्लाहीका एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । गोडैता नगरपालिका–१० सिसौटियाका ३५ वर्षीय विवेक मण्डल गम्भीर घाइते भएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल लगिएको छ ।
शुक्रबार दिउँसो आत्मदाह प्रयासका क्रममा गम्भीर घाइते भएका विवेकलाई सुरुमा प्रादेशिक अस्पताल मलंगवामा उपचार गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शुक्रबार साँझ नै थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको हो ।
प्रादेशिक अस्पताल मलंगवाका शल्यचिकित्सक डा. संजीवकुमार झाले विवेकको शरीरको करिब ८५ प्रतिशत भाग जलेको बताए । ‘अस्पताल ल्याउँदा टाउकोदेखि खुट्टासम्म जलेको अवस्था थियो । यति धेरै जलेका बिरामीलाई बचाउन निकै चुनौतीपूर्ण हुन्छ,’ उनले भने, ‘अस्पतालमा प्रारम्भिक उपचारका क्रममा जलेका भागमा ड्रेसिङ, आवश्यक औषधि तथा तरल पदार्थ (फ्लुइड) दिई अवस्था स्थिर बनाउने प्रयास गरिएको थियो ।’
त्यसपछि जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय तथा स्वास्थ्य निकायबीच समन्वय भएपछि साँझ करिब ७ बजे हेलिकप्टरमार्फत काठमाडौं पठाइएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्रनाथ पौडेलका अनुसार विवकको आईसीयूमा राखेर उपचार भइरहेको छ । ‘पछिल्लो अवस्थाबारे अस्पतालसँग निरन्तर सम्पर्कमा छौं । उहाँको अवस्था गम्भीर छ,’ उनले भने ।
परिवार स्रोतका अनुसार विवेक विज्ञान विषयमा स्नातकोत्तर (एमएससी) उत्तीर्ण थिए । उनले २०७९ सालदेखि महोत्तरीको गौशाला नगरपालिका –१ स्थित श्री माध्यमिक विद्यालय रामनगरमा करार शिक्षकका रूपमा करिब तीन वर्ष अध्यापन गरेका थिए । गत साउनमा जागिर छाडेपछि उनी घर फर्किएका थिए ।
विवेकका बुवा उपेन्द्र मण्डलका अनुसार शिक्षकको जागिर छोडेपछि उनी पछिल्लो समय रोजगारी नपाउँदा चिन्तित रहने गरेका थिए । ‘जागिर छाडेपछि धेरै ठाउँमा आवेदन दियो । लिखित परीक्षामा राम्रो अंक ल्याउँथ्यो तर अन्तर्वार्तामा सफल हुन सकेन,’ विवेकका बुबा उपेन्द्रले भने, ‘‘पढाइका क्रममा भएको खर्च र परिवारको आर्थिक अवस्था सुधार्ने चिन्ता उसलाई सधैं भइरहन्थ्यो ।’
महोत्तरीको गौशाला नगरपालिका–१ का वडाध्यक्ष नवीनकुमार साहले शिक्षकको जागिर छोड्नुको कारणबारे विद्यालयभित्र केही विवाद रहेको बताउँछन् ।
‘उहाँले झन्डै तीन वर्ष विद्यालयमा पढाउनुभयो । तर, पछि केही विवाद उत्पन्न भएपछि विद्यालय व्यवस्थापन समिति र नगरपालिकाको शिक्षा शाखाको समन्वयमा सेवा निरन्तरता हुन सकेन,’ उनले भने, ‘त्यसपछि उहाँ विद्यालय छाडेर घर फर्किनुभएको हो ।’

स्थानीय सुरेश राउतका अनुसार मण्डल पछिल्लो करिब एक वर्षदेखि बेरोजगार थिए । रोजगारी नपाउनु, आर्थिक अभाव र अन्य व्यक्तिगत समस्याका कारण उनी मानसिक तनावमा रहेको स्थानीयको भनाइ छ ।
गोडैता नगरपालिका– १० का वडाध्यक्ष वैद्यनाथ मण्डलले पनि विवेक केही समयदेखि मानसिक तनावमा रहेको जानकारी आएको बताए । ‘केही समयअघि मसँग पनि सामान्य विवाद भएको थियो । पछिल्लो समय उहाँ मानसिक रूपमा असहज अवस्थामा रहेको कुरा स्थानीयबाट सुन्ने गरेका थियौं,’ उनले भने ।
प्रहरीका अनुसार घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ । प्रारम्भिक रूपमा मण्डल केही समयदेखि मानसिक तनावमा रहेको देखिएपनि घटनाको यथार्थ कारणबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रतिक्रिया 4