+
फिफा विश्वकप २०२६ :

केनदेखि मेसीसम्म, यी हुन् इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको खेलमा प्रभाव पार्ने खेलाडी

२०८३ असार  ३१ गते ११:३० २०८३ असार ३१ गते ११:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा फुटबलको जननी इङ्ल्यान्ड र साविक विजेता अर्जेन्टिना आमनेसामने हुँदै छन् ।
  • अर्जेन्टिनाका कप्तान लियोनल मेसी लगातार दोस्रो उपाधि उचाल्ने अभियानमा छन् भने इङ्ल्यान्डका कप्तान ह्यारी केन ६० वर्षपछि टोलीलाई विश्वकप जिताउने लक्ष्यमा छन् ।
  • मिडफिल्ड र रक्षापङ्क्तिका खेलाडी जुड बेलिङहम, बुकायो साका, क्रिस्टियन रोमेरो र एन्जो फर्नान्डेजको प्रदर्शन पनि यो खेलमा निर्णायक साबित हुन सक्छ ।

३१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा फुटबलको जननी इंग्ल्यान्ड तथा साविक विजेता अर्जेन्टिना खेल्दै छन् ।

चार दशकभन्दा लामो विश्वकप प्रतिद्वन्द्विताको अर्को अध्याय लेखिनुअघि सबैको नजर केही विशेष खेलाडीमाथि हुनेछ ।

एकातिर विश्वकप विजेता कप्तान लियोनल मेसी अर्जेन्टिनालाई लगातार दोस्रो उपाधिनजिक पुर्‍याउने अभियानमा छन् भने अर्कोतर्फ इङ्ल्यान्डका कप्तान ह्यारी केन पहिलोपटक टोलीलाई ६० वर्षपछि विश्वकप फाइनलमा पुर्‍याउने लक्ष्यमा छन् ।

उनीहरूसँगै जुड बेलिङहम, बुकायो साका, क्रिस्टियन रोमेरो र एन्जो फर्नान्डेजजस्ता खेलाडीको प्रदर्शनले पनि यो बहुप्रतीक्षित सेमिफाइनलको दिशा तय गर्न सक्छ ।

ह्यारी केन (इङ्ल्यान्ड)

इङ्ल्यान्डका कप्तान ह्यारी केन फेरि एकपटक टोलीको सबैभन्दा ठूलो भरोसाका रूपमा उभिएका छन् । सन् २०१८ को विश्वकपमा गोल्डेन बुट जितेका केन अहिले पनि विश्व फुटबलका उत्कृष्ट ‘नम्बर ९’ मध्ये गनिन्छन् ।

क्लब फुटबलमा टोटनहम हट्सपरका सर्वाधिक गोलकर्ता बनेपछि जर्मन क्लब बायर्न म्युनिख पुगेका उनले त्यहाँ पनि लगातार गोलको वर्षा गर्दै आफूलाई विश्वस्तरीय स्ट्राइकरका रूपमा स्थापित गरेका छन् ।

इङ्ल्यान्डका सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता केनले राष्ट्रिय टोलीका लागि ८० भन्दा बढी गोल गरिसकेका छन् । विश्वकप २०२६ मा पनि उनले ६ गोल गर्दै गोल्डेन बुटको दौडमा आफूलाई बलियो दाबेदार बनाएका छन् । गोल गर्नु मात्र होइन, टोलीका लागि अवसर सिर्जना गर्ने, पछाडि झरेर खेल निर्माण गर्ने र दबाबका बेला नेतृत्व गर्ने उनको क्षमता इङ्ल्यान्डका लागि ठूलो प्लस पोइन्ट हो।

यस विश्वकपमा इङ्ल्यान्डको खेल धेरै पटक सहज देखिएको छैन । तर कठिन क्षणमा टोलीलाई अघि बढाउने जिम्मेवारी केनले नै उठाएका छन् । अर्जेन्टिनाविरुद्ध पनि उनको अनुभव र फिनिसिङ इङ्ल्यान्डको सबैभन्दा ठूलो हतियार हुनेछ ।

यदि उनले अवसर पाए भने त्यसलाई गोलमा बदल्ने सम्भावना निकै उच्च रहनेछ।

लियोनल मेसी (अर्जेन्टिना)

विश्व फुटबल इतिहासका महान् खेलाडीमध्ये एक लियोनल मेसी अर्जेन्टिनाको आशाको केन्द्र मात्रै होइन, यो विश्वकपका सबैभन्दा प्रभावशाली खेलाडी पनि हुन् ।

सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप जिताएपछि उनले लगभग सबै प्रमुख उपाधि जितिसकेका छन् । आठ पटकका बालोन डी’ओर विजेता मेसीले कोपा अमेरिका, फिनालिसिमा, च्याम्पियन्स लिगदेखि विश्वकपसम्म सबै ठूलो सफलता आफ्नो नाममा लेखाइसकेका छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा ११० भन्दा बढी गोल गरिसकेका मेसी अहिले विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन् । विश्वकप २०२६ मा पनि उनले आठ गोल गर्दै गोल्डेन बुटको दौडमा फ्रान्सका किलियन एमबाप्पेसँग संयुक्त रूपमा शीर्ष स्थान ओगटेका छन् ।

गोलसँगै उनको पास, खेलको गति नियन्त्रण गर्ने क्षमता र सानो ठाउँबाट पनि अवसर सिर्जना गर्ने कला अहिले पनि उस्तै प्रभावशाली छ।

३९ वर्षको उमेरमा पनि मेसी अर्जेन्टिनाको आक्रमणको केन्द्रबिन्दु बनेका छन् । कप्तानका रूपमा उनको अनुभव र दबाबमा खेल जिताउने क्षमता अर्जेन्टिनाको सबैभन्दा ठूलो बल हो ।

इङ्ल्यान्डविरुद्धको सेमिफाइनल सम्भवतः उनको करियरकै अर्को ऐतिहासिक रात बन्न सक्छ ।

***

यी दुई मुख्य खेलाडीसहित अन्य खेलाडीको प्रदर्शन पनि निर्णायक बन्न सक्छ ।

जुड बेलिङहम (इङ्ल्यान्ड)

इङ्ल्यान्डका युवा मिडफिल्डर जुड बेलिङहम अहिले विश्व फुटबलका सर्वाधिक पूर्ण खेलाडीमध्ये एक मानिन्छन् । बोरुसिया डर्टमन्डबाट चम्किएका उनी अहिले रियल मड्रिडका मुख्य खेलाडी हुन् ।

विश्वकप २०२६ मा उनले ६ गोल गरिसकेका छन् । नकआउट चरणका पछिल्ला दुई खेलमा लगातार दुई–दुई गोल गर्दै उनले इङ्ल्यान्डलाई सेमिफाइनल पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

मिडफिल्डबाट आक्रमणमा जोडिने, गोल गर्ने र खेल नियन्त्रण गर्ने उनको क्षमता अर्जेन्टिनाका लागि ठूलो चुनौती बन्न सक्छ ।

बुकायो साका (इङ्ल्यान्ड)

दायाँ विंगबाट इङ्ल्यान्डको आक्रमणलाई धार दिने खेलाडी हुन् बुकायो साका । आर्सनलका स्टार साकाले गति, ड्रिब्लिङ र सटिक क्रसका कारण विपक्षी रक्षापङ्क्तिलाई निरन्तर दबाबमा राख्ने गरेका छन् ।

यस विश्वकपमा उनले गोल नगरेपनि ३ असिस्ट दिएका छन् । केन र बेलिङहमलाई अवसर सिर्जना गर्ने जिम्मेवारी पनि धेरैजसो साकाकै काँधमा रहने भएकाले अर्जेन्टिनाले उनलाई रोक्नु पनि उत्तिकै महत्वपूर्ण हुनेछ ।

क्रिस्टियन रोमेरो (अर्जेन्टिना)

अर्जेन्टिनाको रक्षापङ्क्तिको नेतृत्व गर्ने जिम्मेवारी क्रिस्टियन रोमेरोको काँधमा छ । टोटनहमका सेन्टर–ब्याक रोमेरो आक्रामक र दृढ रक्षकका रूपमा परिचित छन् ।

हवाई बलमा उत्कृष्ट, ट्याकलमा निडर र खेल पढ्ने क्षमता भएका रोमेरोले यस विश्वकपमा अर्जेन्टिनाको रक्षालाई मजबुत बनाएका छन् । ह्यारी केनलाई रोक्ने जिम्मेवारी मुख्य रूपमा उनकै हुनेछ ।

एन्जो फर्नान्डेज (अर्जेन्टिना)

विश्वकप २०२२ का उत्कृष्ट युवा खेलाडी एन्जो फर्नान्डेज अहिले अर्जेन्टिनाको मिडफिल्डको मेरुदण्ड बनेका छन् । चेल्सीका मिडफिल्डर एन्जोले बल नियन्त्रण, लामो पास र खेलको लय निर्धारण गर्ने भूमिकामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

मेसीसँग मिलेर खेल निर्माण गर्ने र विपक्षीको आक्रमण रोक्दै टोलीलाई सन्तुलन दिने काम एन्जोले गर्छन् । इङ्ल्यान्डका बेलिङहम र डेक्लान राइसविरुद्धको मिडफिल्ड भिडन्तमा उनको प्रदर्शन अर्जेन्टिनाको सफलताका लागि निर्णायक हुन सक्छ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय