+

टप रोप एन्ड लिड क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि साजन र स्वस्तिकालाई

२०८३ असार  २९ गते १०:४३ २०८३ असार २९ गते १०:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टप रोप एन्ड लिड क्लाइम्बिङ च्याम्पियनसिप २०२६ को लिड क्लाइम्बिङ विधामा साजन लामा र स्वस्तिका चौधरीले उपाधि जितेका छन् ।
  • प्रतियोगिताको टप रोप विधामा नमल बोहरा र पेम्बा छोकी शेर्पा पहिलो हुँदै क्रमशः १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
  • बागमती प्रदेशका खेलकुद मन्त्री सुरेश श्रेष्ठले नेपालको पर्यटन र पर्वतीय खेलकुद प्रवर्द्धनमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

३० असार, काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (एनसीएसए), काठमाडौं उपत्यका विशेष समितिको आयोजनामा भएको टप रोप एन्ड लिड क्लाइम्बिङ च्याम्पियनसिप २०२६ को उपाधि साजन लामा र स्वस्तिका चौधरीले जितेका छन् ।

काठमाडौंको जगडोलस्थित गेटवे एड्भेन्चर हबमा भएको दुई दिने च्याम्पियनसिपमा लिड क्लाइम्बिङको पुरुषतर्फ साजन र महिलातर्फ स्वस्तिका पहिलो भएका हुन् । दुवैले समान ५० हजार नगद पुरस्कार प्राप्त गरे ।

यस्तै पुरुषतर्फ सुलभ राई दोस्रो र तेन्जिङ बर्टिन राई तेस्रो भए । महिलातर्फ मनिषा बुढा मगर दोस्रो र रबिका महर्जन तेस्रो भए । दोस्रो हुनेले समान ३० हजार र तेस्रो हुनेले समान २० हजार प्राप्त गरे ।

यसैगरी टप रोपअन्तर्गत पुरुषतर्फ नमल बोहरा पहिलो, लाक्पा तेज्निङ शेर्पा दोस्रो र केमन क्षेत्री तेस्रो भए ।

टप रोपको महिलातर्फ पेम्बा छोकी शेर्पा पहिलो, करुणा ठाकुर दोस्रो र नायुमी खनाल तेस्रो भए । टप रोपमा दुवै विधाको पहिलो हुनेले १० हजार, दोस्रोले ८ हजार र तेस्रोले ५ हजार प्राप्त गरे ।

आइएफएससीको मापदण्ड अनुसार सञ्चालन भएको प्रतियोगितामा उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ । लिड क्लाइम्बिङको पुरुषतर्फ १७ र महिलातर्फ ५ खेलाडी सहभागित थिए भने टप रोपतर्फ पुक्षरुमा ४४ र महिला २१ जना सहभागि थिए ।

नेपालको खेलकुद तथा पर्वतारोहण संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले यस प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ ।

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री माननीय सुरेश श्रेष्ठले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले नेपालको प्राकृतिक सम्पदा, हिमाल तथा पर्वतीय पर्यटनसँग प्रत्यक्ष सम्बन्ध रहेको स्पोर्ट क्लाइम्बिङलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले क्लाइम्बिङ खेलले युवामा अनुशासन, आत्मविश्वास, साहस र नेतृत्व विकास गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रतियोगिताको विजेता खेलाडीहरुलाई बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले पुरस्कार वितरण गरेका थिए । लामाले बागमती प्रदेशभरि प्रादेशिक स्तरको स्पोर्ट क्लाइम्बिङ प्रतियोगिता सञ्चालन गर्न परिषद्ले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, नेपालमा क्लाइम्बिङ खेलको आधार विस्तार, प्रतिभा पहिचान तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि आवश्यक पूर्वाधार विकासमा प्रदेश सरकार सकारात्मक रहेको बताए ।

अमेरिकाको दूतावास, काठमाडौंका सार्वजनिक मामिला प्रमुख माइक हार्करलाई सगरमाथाको सफल आरोहण गरेको उपलक्षमा विशेष अभिनन्दन र सम्मान गरिएको थियो । उनले यो उपलब्धिलाई नेपाल–अमेरिका मित्रता, पर्वतारोहण र साहसिक खेलकुदको साझा प्रेरणाका रूपमा स्मरण गरिएको थियो ।

कार्यक्रममा विभिन्न सरकारी निकाय, खेलकुद क्षेत्र, पर्यटन क्षेत्र, निजी क्षेत्र तथा पर्वतारोहण समुदायका विशिष्ट व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

आयोजक नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (एनसीएसए), काठमाडौं उपत्यका विशेष समितिले यस प्रतियोगिताले नेपालमा स्पोर्ट क्लाइम्बिङको विकास, नयाँ प्रतिभाको पहिचान तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास राखेको छ ।

 

टप रोप एन्ड लिड क्लाइम्बिङ च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय