३१ असार, काठमाडौं । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी)को बैठकले दुई अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपालबाट निर्यात हुने विद्युत्को परिमाण एक हजार ६५० मेगावाट पुर्याउने सहमति गरेको छ ।
पोखरामा बुधवार सम्पन्न सो बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले गरेकी थिइन्, भने भारतको नेतृत्व विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालले गरेका थिए ।
हाल सञ्चालनमा रहेको ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तर्देशीय प्रसारण लाइनबाट एक हजार मेगावाट आयात तथा एक हजार एक सय मेगावाट निर्यात हुँदैआएको छ ।
अब दुई देशबीचको संयुक्त प्राविधिक टोलीले गरेको अध्ययनअनुसार ढल्केवर–मुजफ्फरपुर र ढल्केवर–सीतामढी ४०० के.भी. प्रसारण लाइनहरुबाट विद्युत् निर्यात बढाउने सहमति बैठकका भएको हो ।
यी प्रसारण लाइनबाट संयुक्त विद्युत् प्रवाहको क्षमता आयाततर्फ एक हजार मेगावाटबाट एक हजार ४०० मेगावाट र निर्याततर्फ एक हजार १०० मेगावाटबाट एक हजार ६५० मेगावाट पुर्याउने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै, मुजफ्फरपुर–ढल्केवर ४०० केभी प्रसारण लाइनमा एचटीएल कन्डक्टर प्रयोग गरी क्षमता विस्तार (रिकन्डक्टरिङ)को कार्य गर्ने सम्बन्धी विस्तृत आयोजना प्रतिवेदन पनि स्वीकृत गरिएको जनाइएको छ ।
सचिवस्तरीय बैठकअघि मंगलबार पोखरामै दुई देशका सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठक भएको थियो । सो बैठकमा नेपालका तर्फबाट मन्त्रालयका सहसचिव सन्दीपकुमार देव र भारतका विद्युत् मन्त्रालयका सहसचिव पंकज कुमारले सहअध्यक्षता गरेका थिए । सचिवस्तरीय बैठकमा संयुक्त कार्यदलका सिफारिसहरूबारे छलफल भएको पनि जनाइएको हो छ ।
बैठकले चमेलिया (नेपाल)–जौलजीवी (भारत) बीच २२० केभी डबल सर्किट प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन पनि स्वीकृत गरेको थियो । यो आयोजना डिसेम्बर २०२८ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
त्यस्तै, नेपाल भारत बीच इनरुवा–न्यु पुर्निया र दोदोधरा (न्यू लम्की)–बरेली ४०० केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरुको निर्माणका लागि संयुक्त उपक्रम कम्पनी स्थापना गर्ने प्रक्रियालाई तीव्रता दिने सहमति पनि भएको छ ।
ती दुई प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत प्राधिकरण र पावर ग्रिड कर्पोरेशन अफ इन्डियाबीच शेयर धनी सम्झौता (एसएचए) र संयुक्त उपक्रम (जेभी) सम्झौता सम्पन्न भइसकेको छ ।
त्यसका साथै, सन् २०३४–३५ सम्मका लागि नेपालबाट थप विद्युत् भारत निर्यात गर्नका लागि आवश्यक दुई हाइभोल्टेज अन्तरदेशीय प्रसारण लाइनहरू निर्माण गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यसमध्ये मोतिहारी (भारत)–निजगढ (नेपाल) ४०० केभी डबल सर्किट प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदनलाई स्वीकृत गरिएको छ ।
साथै, लखनउ (भारत) तथा कोहलपुर–लम्ही (नेपाल) ४०० केभी प्रसारण लाइनको हकमा थप प्राविधिक अध्ययन गरी टुङ्गो लगाउने सहमति समेत भएको छ ।
न्यू बुटवल गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको नेपाल खण्डको निर्माण कार्य अगस्ट २०२६ सम्म सम्पन्न हुने र नयाँ बुटवल सबस्टेशनको ४०० के.भी. निर्माण कार्य डिसेम्बर २०२७ सम्म सम्पन्न हुने देखिएकाले सो समयसम्मका लागि यस प्रसारण लाइनलाई २२० किलोभोल्टमा सञ्चालन गर्ने प्राविधिक सहमति भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
उक्त प्रशारण लाइन उपयोग गरी १३० मेगावाट सम्म विद्युत आयात गर्न सकिने र २०० मेगावाट सम्म विद्युत् निर्यात गर्न सकिने गरी निर्माण कार्य अगाडी बढाउने सहमति भएको पनि जनाइएको छ ।
सन् २०१४ मा सम्पन्न नेपाल–भारत विद्युत् व्यापार सम्झौताको दफा ५ मा भएको व्यवस्था अनुसार सम्झौता कार्यान्वयन पक्षलाई सहजीकरण, निर्देशन एवं यस सम्बन्धमा हुने प्रगतिको अनुगमन गर्न गठित सचिवस्तरीय समिति संयुक्त स्टेयरिङ कमिटी तथा सहसचिवस्तरीय कार्यदल गठन गरिएको थियो ।
यी दुवै संयन्त्रको बैठक दुई देशमा पालैपालो बस्ने सहमति छ । प्रत्येक ६–६ महिनामा बस्नुपर्ने बैठक यसअघि २०८१ को माघमा भारतको नयाँदिल्लीमा बसेको थियो ।
प्रतिक्रिया 4