News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा आगामी जुलाई २५ तारिखमा टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुने भएको छ ।
- प्रवासी सञ्चारमाध्यममार्फत नेपाल र विश्वलाई जोड्ने उद्देश्यका साथ आयोजित सम्मेलनमा महासंघका केन्द्रीय पदाधिकारीसहित विश्वभरका नेपाली पत्रकारहरूको सहभागिता रहने आयोजकले बताएका छन् ।
- सम्मेलनमा प्रवासी पत्रकारिताको चुनौती, सम्भावना, प्रेस स्वतन्त्रता र नेपालसँगको सम्बन्ध सुदृढीकरणका विषयमा कार्यपत्र प्रस्तुति तथा प्यानल छलफल हुनेछन् ।
३२ असार, टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा यही जुलाई २५ मा जापानको राजधानी टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ आयोजना हुँदै छ । सम्मेलनको सहआयोजकका रूपमा नेपाल पत्रकार महासंघका १२ वैदेशिक शाखा रहेका छन् ।
‘प्रवासी सञ्चारमाध्यममार्फत नेपाल र विश्वलाई जोड्ने’ मूल नारासहित आयोजना हुन लागेको सम्मेलनमा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मासहित केन्द्रीय कार्यसमितिका ३३ जना पदाधिकारी तथा सदस्य, महासंघका १२ वैदेशिक शाखाका अध्यक्ष तथा प्रतिनिधि, जापानस्थित पत्रकार तथा विश्वका विभिन्न मुलुकमा क्रियाशील नेपाली पत्रकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
विश्वव्यापीकरणसँगै नेपाली समुदायको उपस्थिति विश्वका धेरै मुलुकमा विस्तार हुँदै जाँदा प्रवासी पत्रकारिताको भूमिका पनि थप महत्वपूर्ण बन्दै गएको छ । उच्च शिक्षा, रोजगारी, व्यवसाय तथा अन्य विभिन्न सिलसिलामा विदेश पुगेका नेपाली समुदायका गतिविधि, समस्या, सफलता र सरोकारलाई मातृभूमिसम्म पुर्याउने महत्वपूर्ण जिम्मेवारी अहिले प्रवासी पत्रकारितामाथि आएको छ । यही परिवेशलाई मध्यनजर गर्दै सम्मेलन आयोजना गरिएको नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ जापान शाखाकी उपाध्यक्ष मनिषा चम्लागाईंका अनुसार सम्मेलनमा प्रवासी सञ्चारमाध्यमले नेपाललाई जोड्न खेलेको भूमिका, प्रवासी पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सम्भावना, महासंघको केन्द्रीय समिति र वैदेशिक शाखाबीचको सम्बन्ध, प्रवासी नेपाली समुदाय र सञ्चारमाध्यमबीचको सम्बन्ध, जिम्मेवार पत्रकारितामा प्रविधिको प्रभाव तथा प्रेस स्वतन्त्रतालगायत विषयमा कार्यपत्र प्रस्तुति, प्यानल छलफल र अन्तरक्रिया हुनेछ ।
नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्लले नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र वैदेशिक शाखाबीचको सम्बन्धलाई थप संस्थागत र प्रभावकारी बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनका अनुसार विदेशमा चुनौतीपूर्ण परिस्थितिमा रहेर पनि प्रवासी पत्रकारहरूले देशप्रति उत्तिकै जिम्मेवारी र प्रतिबद्धताका साथ पत्रकारिता गरिरहेको सन्देश सम्मेलनले दिनेछ ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुरज भण्डारीले प्रविधिको विकाससँगै नेपालभित्र र नेपालबाहिर बसेर गरिने पत्रकारिताबीचको दूरी समाप्त हुँदै गएको बताए ।
‘प्रविधिका कारण प्रभाव र पहुँचका हिसाबले अब नेपालमा बसेर वा विदेशमा बसेर गरिने पत्रकारितामा खासै फरक छैन । पत्रकारिता अहिले विश्वव्यापी अभ्यास बनिसकेको छ,’ उनले भने, ‘डायस्पोरामा सक्रिय पत्रकार र उनीहरूमार्फत भइरहेको पत्रकारिता त्यहाँको नेपाली समुदायका लागि जति अर्थपूर्ण छ, नेपालको सन्दर्भमा पनि त्यत्तिकै अपरिहार्य बन्दै गएको छ ।’
उनले प्रवासी पत्रकारिताको बहुआयामिक महत्वमाथि गम्भीर विमर्श गर्न आवश्यक रहेको उल्लेख गर्दै यस्तो समयमा आयोजना हुन लागेको ग्लोबल मिडिया सम्मेलन सान्दर्भिक हुने बताए ।
नेपाल पत्रकार महासंघ जापान शाखाले विश्वभरका नेपाली पत्रकारलाई एउटै साझा मञ्चमा जोड्ने यस सम्मेलनलाई प्रवासी पत्रकारिताको इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ ।
आयोजकका अनुसार सम्मेलनले नेपाल र विश्वभरका नेपाली सञ्चारकर्मीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै प्रवासी पत्रकारिताको संस्थागत विकास, अन्तर्राष्ट्रिय सहकार्य र व्यावसायिक क्षमता अभिवृद्धिमा दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रले पनि उल्लेखनीय साथ दिएको छ । जापानको अग्रणी फिनटेक कम्पनी डिजिटल वालेट कर्पोरेशनअन्तर्गत सञ्चालित स्माइल्स मोबाइल रेमिटेन्स र स्माइल्स कनेक्ट सम्मेलनका मुख्य कार्यक्रम साझेदार (मेन इभेन्ट पार्टनर) बनेका छन् ।
आयोजकले सम्मेलन सफल बनाउन सहयोग गर्ने मुख्य कार्यक्रम साझेदार स्माइल्स मोबाइल रेमिटेन्स र स्माइल्स कनेक्ट, इभेन्ट पार्टनर फ्रन्टअप ई–सिम तथा अन्य प्रायोजक, सहयोगी संस्था र शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ । सार्वजनिक र निजी क्षेत्रबीचको यस्तो सहकार्यले प्रवासी पत्रकारितालाई थप सशक्त बनाउने विश्वास पनि आयोजकले व्यक्त गरेको छ ।
प्रतिक्रिया 4