News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप इतिहासमा सन् १९७४ मा नेदरल्यान्ड्सका जोहान निस्केन्सले खेलको ८८ सेकेन्डमै गोल गर्दै विश्वकप फाइनलमा सबैभन्दा छिटो गोल गर्ने कीर्तिमान राखेका छन्।
- सन् १९५४ को विश्वकप फाइनलमा दुई गोलले पछि परेको पश्चिम जर्मनीले शानदार पुनरागमन गर्दै हंगेरीलाई पराजित गरी उपाधि जित्ने पहिलो टोली बनेको छ।
- फ्रान्सका किलियन एम्बाप्पेले दुईवटा विश्वकप फाइनलमा गरी कुल चार गोल गर्दै फाइनलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।
२ साउन, काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो मञ्च फिफा विश्वकपको फाइनल सधैं इतिहास, कीर्तिमान र अविस्मरणीय क्षणले भरिएको हुन्छ ।
सन् १९३० देखि २०२२ सम्मका २२ विश्वकप फाइनलले धेरै अनौठा तथ्य जन्माएका छन् ।
आइतबार हुने अर्जेन्टिना र स्पेनबीचको फाइनलअघि त्यस्ता केही रोचक तथ्यहरू प्रस्तुत गरेका छौं ।
८८ सेकेन्डमै भएको थियो सबैभन्दा छिटो गोल
विश्वकप फाइनलमा सबैभन्दा छिटो गोल नेदरल्यान्ड्सका जोहान निस्केन्सले सन् १९७४ मा पश्चिम जर्मनीविरुद्ध गरेका थिए । खेल सुरु भएको मात्र ८८ सेकेन्डमा उनले पेनाल्टीमार्फत गोल गरेका थिए । त्यो पेनाल्टीसम्म पुग्न नेदरल्यान्ड्सले विपक्षीले बल छुनुअघि नै लगातार १६ पास खेलेको थियो ।
६० वर्षपछि पहिलो क्लिन सिट
पहिलो विश्वकपदेखि लगातार २४ फाइनलसम्म कुनै पनि टोलीले क्लिन सिट राख्न सकेन । अन्ततः सन् १९९० मा पश्चिम जर्मनीले अर्जेन्टिनालाई १–० ले हराउँदै पहिलो पटक गोल नखाई विश्वकप फाइनल जित्यो । त्यस टोलीका गोलकिपर बोडो इल्ग्नर २३ वर्षमै विश्वकप फाइनल खेल्ने सबैभन्दा कान्छा गोलरक्षक बने ।
दोस्रो जर्सीमा जित्ने पहिलो टोली स्पेन
सन् २०१० मा स्पेनले नेदरल्यान्ड्सलाई हराउँदा आफ्नो दोस्रो रोजाइको गाढा निलो जर्सी लगाएको थियो । त्यससँगै ४४ वर्षपछि दोस्रो जर्सीमा विश्वकप फाइनल जित्ने पहिलो टोली बन्यो ।
यसअघि सन् १९६६ मा इंग्ल्यान्डले आफ्नो अवे (रातो) जर्सीमा पश्चिम जर्मनीलाई हराएको थियो ।

दुई गोलले पछि परेर उपाधि जितेको एउटै टोली
सन् १९५४ को विश्वकप फाइनलमा हंगेरीले खेलको पहिलो आठ मिनेटमै २–० को अग्रता लिएको थियो । तर पश्चिम जर्मनीले शानदार पुनरागमन गर्दै ३–२ ले जित निकाल्यो ।
विश्वकप फाइनलमा दुई गोलले पछि परेर उपाधि जित्ने इतिहासमा अहिलेसम्म यही एउटा टोली हो ।
२२ वर्षको उमेर अन्तर भएको विजेता टोली
सन् १९८२ मा इटाली विश्वविजेता बन्दा टोलीका सबैभन्दा कान्छा खेलाडी जिउसेप्पे बेर्गोमी १८ वर्षका थिए भने कप्तान डिनो जोफ ४० वर्षका ।
एउटै विश्वकप विजेता टोलीमा २२ वर्षको उमेर अन्तर अहिलेसम्मकै सबैभन्दा ठूलो हो ।
काफु र मेसीको विशेष कीर्तिमान
ब्राजिलका काफु विश्वकपका तीन फाइनल खेल्ने एकमात्र खेलाडी थिए । उनले १९९४, १९९८ र २००२ का फाइनल खेलेका थिए ।
अब अर्जेन्टिनाका लियोनल मेसीले पनि २०१४, २०२२ र २०२६ गरी तेस्रो विश्वकप फाइनल खेल्दै काफुको कीर्तिमान बराबरी गर्नेछन् ।
फाइनलका सर्वाधिक गोलकर्ता एमबाप्पे
फ्रान्सका केलियन एम्बाप्पे विश्वकप फाइनलमा सर्वाधिक चार गोल गर्ने खेलाडी हुन् । उनले २०१८ मा एक तथा २०२२ को फाइनलमा ह्याट्रिक गरेका थिए ।
एम्बाप्पेको ११८औं मिनेटको गोल विश्वकप फाइनल इतिहासकै सबैभन्दा ढिलो समयमा भएको गोल पनि हो ।

दुई फाइनलमा गोल गर्ने पाँच खेलाडी मात्रै
भाभा, पेले, पाउल ब्राइटनर, जिनेदिन जिदान र किलियन एम्बाप्पे मात्र दुई फरक विश्वकप फाइनलमा गोल गर्ने खेलाडी हुन् ।
सोमबार बिहान हुने फाइनलमा लियोनल मेसीले गोल गर्न सके यो विशिष्ट सूचीमा आफ्नो नाम थप्ने अवसर हुनेछ ।
दुई देशबाट विश्वकप फाइनल खेल्ने एक्लो खेलाडी
लुइस मोन्टी विश्वकप इतिहासका एकमात्र खेलाडी हुन् जसले दुई फरक राष्ट्रबाट फाइनल खेले ।
उनले सन् १९३० मा अर्जेन्टिनाबाट र १९३४ मा इटालीबाट विश्वकप फाइनल खेलेका थिए ।
मेसीले बनाउन सक्ने नयाँ इतिहास
स्पेनविरुद्ध मैदान उत्रँदा ३९ वर्षीय लियोनल मेसी विश्वकप फाइनल खेल्ने सबैभन्दा पाका आउटफिल्ड खेलाडी बन्नेछन् ।
यदि अर्जेन्टिनाले उपाधि जित्यो भने मेसी दुई पटक विश्वकप जित्ने पहिलो कप्तान बन्नेछन् ।
साथै उनले प्रतियोगितामा आफ्नै सर्वाधिक खेल (३५), सर्वाधिक गोल र सर्वाधिक असिस्टका कीर्तिमानलाई अझै विस्तार गर्नेछन्।
प्रतिक्रिया 4