+
+
Shares

श्रमदानले टर्‍यो नाम्फुको खानेपानी संकट

बालाराम शेर्पाली बालाराम शेर्पाली
२०८३ साउन ४ गते १२:२२

४ साउन, रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका–८ नाम्फुमा वर्षौंदेखि रहेको खानेपानी समस्या अन्त्य भएको छ।

गाउँपालिकाको करिब ४८ लाख रुपैयाँ लगानी, स्थानीयवासीको ६८ दिनको श्रमदान र गोर्खा वेलफेयरको प्राविधिक सहयोगमा निर्माण गरिएको खानेपानी आयोजना सञ्चालनमा आएपछि बस्तीका ३९ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्।

आयोजनाअन्तर्गत मुहानदेखि बस्तीसम्म पाइपलाइन विस्तार गरी आकर्षक डिजाइनका धारा निर्माण गरिएको छ। अब स्थानीयवासीले घरघरमै स्वच्छ खानेपानी उपयोग गर्न पाउने भएका छन्।

गाउँपालिकाका अनुसार स्थानीयवासीको सक्रिय श्रमदानका कारण आयोजना अपेक्षाभन्दा छिटो र प्रभावकारी रूपमा सम्पन्न भएको हो। यसअघि दैनिक उपभोगका लागि टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता अब हटेको स्थानीयको भनाइ छ।

स्थानीय अनिल रोकाले नाम्फुवासीले लामो समयदेखि भोग्दै आएको खानेपानी अभावको समस्या समाधान भएको बताए। ‘घर नजिकै धारा निर्माण भएपछि समय, श्रम र खर्चको बचत भएको छ। अहिले दैनिक जीवन धेरै सहज बनेको छ’, उनले भने।

भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविलाल बि.क.ले खानेपानी सुविधा विस्तार हुनु महत्वपूर्ण उपलब्धि भए पनि यसको संरक्षण र दिगोपनाका लागि स्थानीय समुदायको भूमिका निर्णायक रहने बताए। निर्माण गरिएका संरचनाको नियमित हेरचाह र व्यवस्थापनमा समुदाय सचेत हुनुपर्ने उनको भनाइ छ।

गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले स्थानीय सरकारको लगानी र समुदायको श्रमदानको संयोजनले आयोजना सफल बनेको बताए। ‘गाउँपालिकाले बजेट व्यवस्थापन गरे पनि स्थानीयको सक्रिय सहभागिता र श्रमदानबिना मुहानदेखि घरघरमा आकर्षक धारा निर्माण सम्भव हुने थिएन’, उनले भने।

श्रेष्ठले नाम्फु खानेपानी आयोजनालाई स्थानीय सरकार र समुदायबीचको सहकार्यको उत्कृष्ट नमुना भएको उल्लेख गर्दै सीमित स्रोतसाधनका बीच स्थानीयको अपनत्व र सहभागिताले उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने बताए।

नाम्फुमा निर्माण गरिएका धाराहरू व्यवस्थित र आकर्षक ढंगले निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। मुहान क्षेत्रमा पनि पानी संकलन र आपूर्तिलाई सहज बनाउने गरी संरचना निर्माण गरिएको छ। यसबाट खानेपानी सुविधा विस्तारसँगै सरसफाइ, स्वास्थ्य र जीवनस्तरमा सकारात्मक सुधार आउने अपेक्षा गरिएको छ।

गाउँपालिकाले नाम्फुमा सफल भएको यो मोडल अन्य बस्तीमा पनि विस्तार गर्ने तयारी गरेको जनाएको छ। स्थानीय सहभागिता, श्रमदान र स्थानीय सरकारको लगानीको संयोजनबाट सम्पन्न भएको यो आयोजना भूमे गाउँपालिकाको नमुना विकास अभ्यासका रूपमा हेरिएको छ।

लेखक
बालाराम शेर्पाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?