News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरको भीमदत्त नगरपालिकाका १४ जना महिला च्याउ खोज्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जंगलमा जाँदा बाटो बिर्सेर २५ घण्टासम्म सम्पर्कविहीन भएका छन् ।
- जंगलमा बाटो पत्ता लगाउन नसकेपछि उनीहरूले सालको रुखमुनि ओत लागेर र हात्तीको बथानको त्रासका बीच रात बिताउन बाध्य भएका थिए ।
- सुरक्षाकर्मीले रातिदेखि नै खोजी कार्य तीव्र बनाएको अवस्थामा ती महिलाहरू सोमबार दिउँसो सकुशल घर फर्किएका छन् ।
४ साउन, धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँट दशरथ टोलकी लक्ष्मीदेवी चौधरी (३०) आइतबार साढे दुई वर्षकी छोरी खेलाएर घरमै बसिरहेकी थिइन् । सासु सुकनीदेवी र नन्द सुनिताले च्याउ खोज्न जाने योजना सुनाए ।
मालुमेला पोष्टबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जंगल गएर च्याउ खोजेर ल्याउने योजना बनाएका उनीहरू परिवारका अन्य ७ सदस्यसँगै बिहान ११ बजे जंगलतिर लागेका थिए ।
छिमेकीसमेत रहेका बिमला आग्रीसहितका अन्य पाँच महिला पनि उनीहरूसँगै च्याउ खोज्न जंगलतिर लागेका थिए । १४ जनाको समूहको मालुमेला पोष्टबाट अघि बढ्यो र च्याउ खोज्न थाल्यो । उनीहरूले नजिकै च्याउ भेटाएनन् । च्याउ नखोजी नफर्किने जोशका साथ अघि बढेका उनीहरूले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको धेरै भित्र प्रवेश गरेको चाल नै पाएनन् ।
एकै छिनमा च्याउ खोजेर ल्याउने योजनासहित घरबाट निस्किएका १४ जनाले दिउँसोको ३ बजेपछि मात्र आफूहरू जंगलको धेरै भित्र पुगिसकेको चाल पाए । त्यो बेलासम्म सबैले अलिअलि च्याउ भेटाएका थिए । त्यसपछि उनीहरूले घर फर्किने निधो गरेका थिए । घर फर्किन त खोजे तर, निकुञ्जको धेरै भित्र पुगिसकेका कारण उनीहरूलाई आएको बाटो पत्ता लगाउन गाह्रो भयो ।
च्याउ खोज्न जाने समूहमा १४ जना भए पनि एक जनाले मात्र मोबाइल बोकेका रहेछन् । त्यसमा पनि सीम कार्ड भने थिएन । जसका कारण मोबाइलमा समय हेर्न बाहेक कसैलाई सञ्चार सम्पर्क गर्न सक्ने अवस्था भएन ।
च्याउ खोज्न जंगल जाने समूहकी एक सदस्य लक्ष्मीदेवी चौधरीका अनुसार उनीहरूले दिउँसोदेखि साँझ पर्दासम्म बाटो पत्ता लगाउने कोसिस गरेका थिए । तर बाटो भेटाउन नसकेपछि घनघोर जंगलमै बास बसे । ‘च्याउ खोज्दाखोज्दै हामी आफैँ जंगलको धेरै भित्र पुगिसकेका रहेछौँ । ३ बजेपछि घर फर्किने योजना बन्यो । तर बाटो नै पत्ता लगाउन सकिएन,’ चौधरीले भनिन्, ‘साँझको ७ बजेर ४७ मिनेटसम्म प्रयास गरेका थियौँ तर सकेनौँ । त्यसपछि जंगलमै बस्नुपर्ने बाध्यता भयो ।’
रात परेपछि उनीहरूले सालको एउटा रुखमुनि ओत लाग्ने निधो गरे । तर त्यही बेला ६ वटा हात्तीको बथान आफूहरू भएकै स्थानतिर आइरहेको देखे । त्यसपछि एकछिन शान्त बसे । हात्तीको बथान आफ्नो बाटो लागेपछि १४ जना नै ओत लाग्ने गरी सालको रुखमुनि बसे ।
चौधरीका अनुसार सबै जना गोलो घेरा बनाएर बसेका थिए । रातभर पानी परिरहेको थियो । त्यो घनघोर जंगलमा उनीहरूसँग भिज्नुको विकल्प थिएन । एकातिर घर परिवारको चिन्ता र अर्कोतिर निकुञ्ज भित्रका जनावरको सिकार बन्ने चिन्ता थियो । आफूलाई भने अढाइ वर्षकी छोरीको चिन्ताले सताइरहेको लक्ष्मीदेवी बताइन् ।
जंगलमा राति जाग्राम बस्दा उनीहरू किरा र लामखुट्टेको टोकाइ सहन बाध्य थिए । ‘एकातिर घरको चिन्ता भइरहन्थ्यो । अर्कोतिर जंगल जनावरको डर,’ चौधरीले भनिन्, ‘त्यो बेलाको झरीले निथ्रुक्क शरीर भिजेको समेत पत्तो भएन ।’
उज्यालो हुने बित्तिकै सबै जना पुनः घर फर्किन बाटो खोज्नतिर लागे । बिहान साढे ५ बजेदेखि बाटो खोज्दै घरतिर फर्किन हिँडेकाहरुले दिउँसो सवा १२ बजेतिर भने सकुशल घर पुगेका थिए ।
२५ घण्टासम्म भोक, प्यास नभनी जंगलमै बिताएका उनीहरूलाई खोज्न आइतबार राति ९ बजेदेखि नै सुरक्षाकर्मी परिचालन भइसकेका थिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सम्पर्कविहीन महिलाहरूको रातभर जंगलमा खोजी गरेको थियो भने सोमबार बिहान उनीहरूलाई सघाउन थप जनशक्ति खटाइएको थियो ।
तर च्याउ खोज्न जंगल गएका १४ जना नै सकुशल घर फर्किएपछि सुरक्षाकर्मी फिर्ता भएको थियो ।
प्रतिक्रिया 4