+
+
Shares

७६ वर्षसम्म नफर्किएको त्यो बन्दुक, जनक्रान्तिको साक्षी बनेको एउटा भर्पाइ

मनोजनारायणको परिवारसँग बन्दुकको भर्पाइ अझै सुरक्षित छ । जुन भर्पाइ बन्दुक दिइएको इतिहाससँगै जनक्रान्तिमा दिएको योगदानको साक्षी बनेको छ ।

ईश्वर थापा ईश्वर थापा
२०८३ साउन ६ गते १३:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २००७ सालको जनक्रान्तिमा नेपाली कांग्रेसले सूर्यनारायण श्रेष्ठको बन्दुक फिर्ता गर्ने सर्तमा लगेको भर्पाइ अहिलेसम्म सुरक्षित छ ।
  • बन्दुक लैजाने तत्कालीन नेता गिरिजाप्रसाद कोइराला र बन्दुकधनी सूर्यनारायण श्रेष्ठ दुवैको निधन भइसकेको छ ।
  • बन्दुक फिर्ता माग्दै आएका परिवारका सदस्य मनोजनारायण श्रेष्ठले अहिलेसम्म बन्दुकको अवस्थाबारे कुनै जानकारी नपाएको बताएका छन् ।

६ साउन, धनकुटा । इतिहासमा कुनै–कुनै यस्ता विषय हुन्छन्, जहाँ सामान्य देखिने एउटा वस्तुले पनि सिंगो युगको कथा बोकेको हुन्छ ।

२००७ सालको जनक्रान्तिका बेला नेपाली कांग्रेसले लगेको एउटा बन्दुकको भर्पाइले यस्तै युगको कथा बोकेको छ । प्रजातन्त्र स्थापना भएको ७६ वर्ष बितिसक्यो । तर त्यो बन्दुक लैजाँदा गरेको भर्पाइ परिवारले जोगाएर राखेको छ ।

२००३ सालमा राणा शासनविरुद्ध नेपाली कांग्रेसले सशस्त्र आन्दोलन घोषणा गरेपछि देशभरबाट हतियार र स्वयंसेवक जुटाउने अभियान चल्यो । त्यही अभियानका क्रममा २००७ साल पुस २५ गते कांग्रेसका तत्कालीन ‘पोलिटिकल कमिसनर’ गिरिजाप्रसाद कोइरालाले धरान जुद्धनगर (हाल नयाँबजार) निवासी सूर्यनारायण श्रेष्ठको नाममा दर्ता रहेको ‘एकनाले पाँच फायर भाजर’ बन्दुक जनक्रान्ति सफल भएपछि फिर्ता गर्ने सर्तमा कवुलनामा गरी लगे । बन्दुकसँगै २५ राउन्ड टोटा गोली पनि लगिएको थियो ।

सूर्यनारायणका जेठा दाइ जयनारायण श्रेष्ठबाट मोरङ गोस्वारामा दर्ता नम्बर ४० रहेको उक्त बन्दुकको भर्पाइमा हस्ताक्षर गरेर बुझिएको थियो । बन्दुक लगेको करिब डेढ महिनापछि २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भयो । प्रजातन्त्र स्थापनासँगै जनक्रान्ति सफल भएर राणा शासनको अन्त्य भयो । तर क्रान्तिका लागि लगिएको बन्दुक भने सर्तअनुसार फिर्ता भएन ।

सूर्यनारायणका नाति तथा २०३० सालको चर्चित विराटनगर बमकाण्डको आरोपमा मृत्युदण्ड दिइएका शहीद भीमनारायण श्रेष्ठका जेठा छोरा मनोजनारायण श्रेष्ठका अनुसार उनका हजुरबुवाले बन्दुक फिर्ता गराउन जीवनभर प्रयास गरेका थिए ।

‘हजुरबुवाले तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) हरूलाई समेत पटकपटक पत्र लेख्नुभयो,’ मनोजनारायणले भने, ‘बन्दुक फिर्ता नदिने हो भने त्यसबेलाको मूल्य २ हजार ५०० भारतीय रुपैयाँ उपलब्ध गराइयोस् भनेर पनि अनुरोध गर्नुभयो ।’

मनोजनारायणको परिवारसँग बन्दुकको भर्पाइ अझै सुरक्षित छ । जुन भर्पाइ बन्दुक दिइएको इतिहाससँगै जनक्रान्तिमा दिएको योगदानको प्रमाण अनि साक्षी बनेको छ ।

त्यसो त, बन्दुक हरायो कि सरकारी अभिलेखमै सीमित रह्यो भन्ने प्रश्नको उत्तर कसैले दिएको छैन । २०५१ सालको मध्यावधि निर्वाचनका बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला धनकुटामा शहीद भीमनारायण श्रेष्ठको परिवारलाई भेट्न पुगेका थिए । त्यही अवसरमा सूर्यनारायण श्रेष्ठले पुरानो भर्पाइ देखाउँदै फेरि बन्दुक फिर्ता मागेको मनोजनारायणले बताए ।

मनोज नारायणका अनुसार भर्पाइ पढेपछि गिरिजाप्रसाद केहीबेर मौन भए । कुनै प्रतिक्रिया नआएपछि सूर्यनारायणले बन्दुक नभए त्यसको तत्कालीन मूल्यअनुसार करिब सात लाख रुपैयाँ क्षतिपूर्ति दिन आग्रह गरेका थिए ।

भेट भएका हरेक कांग्रेस नेतासँग यो प्रसंग उठाउँदै आएको मनोजनारायणले बताए । ‘उहाँहरूले इतिहास सुरक्षित राख्नुभएको रहेछ, राम्रो गर्नुभयो भन्नुहुन्छ,’ मनोजनारायण भन्छन्, ‘तर बन्दुक कहाँ छ भन्ने बारेमा कसैले बताउने गरेका छैनन् ।’

बन्दुक लगिनुअघि नै २००७ साल वैशाख २५ गते मोरङ गोस्वाराले दुई वर्षका लागि त्यसको इजाजतपत्र नवीकरण गरेको अभिलेखसमेत रहेको छ । बन्दुक दिने सूर्यनारायण श्रेष्ठको २०६६ साल वैशाखमा निधन भयो भने बन्दुक लाने गिरिजाप्रसाद कोइरालाको २०६६ साल चैत ७ गते निधन भइसकेको छ ।

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?