News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले चीनबाट आयात हुने ताजा आँपमा उच्च जोखिमयुक्त शत्रुजीव नियन्त्रण गर्न कडाइ गर्दै नयाँ प्रवेश सर्तहरू लागु गरेको छ ।
- प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार अब आयात हुने प्रत्येक आँपको खेपमा चिनियाँ फाइटोस्यानिटरी प्रमाणपत्र र अतिरिक्त घोषणा अनिवार्य गरिएको छ ।
- आयातकर्ताले बजारमा समस्या देखिए तुरुन्तै फिर्ता लिन सक्ने गरी सम्पूर्ण अभिलेख तथा ब्याच ट्रेसिङको विवरण सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ ।
६ साउन, काठमाडौं । सरकारले चीनबाट आयात हुने ताजा आँपमा नयाँ र कडा प्रवेश सर्त लागु गरेको छ ।
नेपालमा हालसम्म नदेखिएका उच्च जोखिमयुक्त शत्रुजीव देशभित्र प्रवेश गर्न नदिन प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जोखिम विश्लेषणका आधारमा आयातमा थप कडाइ गरेको हो ।
चीनबाट आयात हुने आँपमा हिजो मंगलबार (५ साउन) देखि नयाँ सर्त लागु गरिएको केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।
नयाँ मापदण्ड अनुसार चीनबाट आउने आँपमा विशेषगरी २७ बढी शत्रुजीवको जोखिम औँल्याइएको छ । जसमा ८ वटालाई नेपाल राजपत्रमै प्रतिबन्धित सूचीमा राखिएको छ भने बाँकी नयाँ जोखिमका रूपमा पहिचान भएका छन् ।
केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत पौडेलका अनुसार यी ८ प्रतिबन्धित किरा वा रोग भेटिए कुनै पनि हालतमा छुट दिइने छैन ।
‘आठ वटा शत्रुजीव नेपाल राजपत्रले नै प्रतिबन्धित गरेका हुन्, बाँकी चाहिँ अब प्रतिबन्धमा लैजानुपर्ने नयाँ जोखिमका रूपमा देखिएका हुन्,’ पौडेलले अनलाइनखबरसँग भने, ‘ती आठमध्ये कुनै एउटा मात्रै देखियो भने पनि कानुनी कारबाही हुन्छ, त्यस्तो अवस्थामा कुनै क्षतिपूर्ति दिइँदैन, बजारबाट फिर्ता ल्याएर सिधै नष्ट गरिन्छ ।’
प्रतिबन्धित बाहेक जोखिमयुक्त शत्रुजीव भेटिएको खण्डमा भने नष्ट गर्न आदेश दिने वा उपचारका अन्य विकल्प खोजिने पौडेलले जानकारी दिए ।
देश अनुसार फलफूलमा लाग्ने किरा र रोग फरक–फरक हुने भएकाले भारत र चीनबाट आउने आँपमा देखिने शत्रुजीव पनि फरक रहेको उनले बताए । यसअघि भारतबाट आउने आँपमा पनि मापदण्ड नपुगेका कारण आयातमा रोक लगाइसकिएको छ ।
कहिलेदेखि लागु हुन्छ नयाँ मापदण्ड ?
केन्द्रका अनुसार यो नयाँ व्यवस्था अनुसार अब चीनबाट आउने आँपको प्रत्येक खेपसँगै ल्याइने ‘चिनियाँ फाइटोस्यानिटरी प्रमाणपत्र’ मा नेपालले तोकेका उच्च जोखिमयुक्त शत्रुजीवहरूबाट पूर्णरूपमा मुक्त रहेको ‘अतिरिक्त घोषणा’ अनिवार्य रूपमा उल्लेख हुनुपर्ने छ ।
तर, नयाँ मापदण्ड लागु हुनुअघि नै आयात अनुमति लिइसकेका व्यापारीका हकमा भने पुरानै नियम लागु हुनेछ । आयात अनुमतिको म्याद ३ महिनाको हुने भएकाले अबको ३ महिनासम्म पुराना अनुमतिपत्रवाहकले पुरानै मापदण्ड अनुसार आँप ल्याउन पाउनेछन् ।

‘इन्ट्री पर्मिट दिइसकेकाहरू त आउँदै गर्छन्, ३ महिनासम्म आइरहन पाउँछन्, नयाँ मापदण्ड लागु हुनुभन्दा अगाडि अनुमति लिएकाहरू त्यही अगाडिकै मापदण्ड अनुसार आउँछन्,’ उनले भने, ‘तर, हिजोआजदेखि जारी हुने नयाँ पर्मिटमा भने नयाँ मापदण्ड लागु हुन्छ ।’
नयाँ मापदण्ड लागु भइसकेपछि आउने खेपमा तोकिएका किरा वा रोग देखियो भने आयात नै रोकिने केन्द्रले बताएको छ । सम्बन्धित शत्रुजीवको जोखिम पुनरावलोकन गरी केन्द्रबाट स्वीकृत नभएसम्म नयाँ प्रवेश अनुमति उपलब्ध गराइने छैन ।
आयातकर्ताले ‘ब्याच ट्रेसिङ’ राख्नुपर्ने
यस प्रक्रियामा आयातकर्तालाई पनि थप जिम्मेवार बनाइएको छ । बजारमा गइसकेको आँपमा कुनै शंका वा समस्या देखिए तत्काल बजारबाट फिर्ता लिन सहज होस् भनेर आयातकर्ताले सम्पूर्ण अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ ।
अब आयातकर्ताले उत्पादन कहाँ, कसलाई, कति परिमाणमा बिक्री गरिएको हो भन्ने रेकर्डका साथै ‘ब्याच ट्रेसिङ’ तथा गुणस्तर नियन्त्रण सम्बन्धी विवरण अनिवार्य सुरक्षित राख्नुपर्ने छ ।
यी हुन् प्रतिबन्धित शत्रुजीव
सरकारले चीनका हकमा राजपत्रमा प्रकाशित गरेको प्रतिबन्धित शत्रुजीवहरूमा ‘फ्रुट ट्री मिलिबग’, ‘स्पाइक्ड मिलिबग’, ‘लाटानिया स्केल’, ‘पाइनएप्पल मिलिबग’, ‘ग्रे पाइनएप्पल मिलिबग’, ‘क्लाडोस्पोरियम टेनुइसिमम (ढुसीजन्य रोग),’ ‘फ्रुटलेट रट अफ पाइनएप्पल’ र ‘स्ट्राइप्ड मिलिबग’ छन् ।
यस्तै सरकारले नयाँ जोखिम (सम्भावित क्वारेन्टिन शत्रुजीव) का रूपमा पहिचान गरेका थप १९ वटा रोग तथा किरालाई समेत राजपत्रमा सूचना निकालेर प्रतिबन्धित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
प्लान्ट क्वारेन्टिनले नियमन सूचीमा राखेका ती नयाँ शत्रुजीवमा हेमिस्फेरिकल स्केल, ज्याक बियर्डस्ले मिलिबग, प्यासनभाइन मिलिबग, पोमेग्रानेट स्केल, म्याङ्गो स्केल, क्याङ्कर अफ द आल्मन्ड, ब्राउन स्पट म्याङ्गो, निओफुसिकोकम म्याङ्गीफेरी, निओफुसिकोकम पार्भम, पेस्टालोटिओप्सिस क्ल्याभिस्पोरा, लासियोडिप्लोडिया ब्रासिलियन्सिस, लासियोडिप्लोडिया इरानियन्सिस, लासियोडिप्लोडिया स्युडोथियोब्रोमी, कोलेटोट्राइकम सियामेन्स, कोलेटोट्राइकम ट्रोपिकाले, कोलेटोट्राइकम एसियानम, कोलेटोट्राइकम कार्स्टी, कोलेटोट्राइकम क्विन्सल्यान्डिकम र म्याङ्गो ब्ल्याक स्पट छन् ।
नेपालको कृषि, जैविक सुरक्षा तथा खाद्य प्रणालीलाई विदेशी शत्रुजीवबाट सुरक्षित राख्न यो नयाँ व्यवस्था लागु गरिएको केन्द्रले जनाएको छ ।
एक पटक प्रतिबन्धित शत्रुजीव देशभित्र प्रवेश गरी स्थापित भए त्यसको नियन्त्रणमा ठूलो आर्थिक खर्च लाग्नुका साथै फलफूल उत्पादन र जैविक विविधतामा गम्भीर असर पर्ने विज्ञहरूको भनाइ छ ।
कति हुन्छ आँप आयात ?
नेपालमा आँपको माग धान्न बर्सेनि करोडौं रुपैयाँ बराबर आयात हुने गरेको छ । पछिल्लो तथ्यांकले नेपालमा आँपको कुल आयातमा उल्लेख्य वृद्धि भएको देखाएको छ ।
गत आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ) मा नेपालमा ६० करोड ८ लाख ३५ हजार रुपैयाँ बराबरको आँप आयात भएको छ । भन्सार तथ्यांक अनुसार यस अवधिमा कुल ८८ लाख १२ हजार ९ सय ६६ किलो आँप भित्रिएको छ ।

अघिल्लो आवको तुलनामा यो आयात निकै उच्च हो । अघिल्लो आव २०८१/८२ सोही अवधिमा ४२ करोड ३९ लाख ८६ हजार बराबरको ६१ लाख ५४ हजार ८ सय ७७ किलो आँप आयात भएको थियो ।
त्यसैगरी २०८१/८२ को पूर्ण (१२ महिनाको) तथ्यांक हेर्दा नेपालमा कुल ६४ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको ९६ लाख ५४ हजार २ सय ९२ किलो आँप आयात भएको थियो ।
कुल आयातमा चीनको हिस्सा र परिमाण
पछिल्लो समय नेपालको कुल आँप आयातमा उत्तरी छिमेकी चीनको हिस्सा बढ्दै गएको देखिन्छ । गत आव २०८२/८३ को ११ महिनाको कुल आँप आयात मूल्यमा चीनको हिस्सा करिब २८ प्रतिशत देखिएको छ ।
यस अवधिमा चीनबाट मात्रै १६ करोड ९१ लाख ६६ हजार रुपैयाँ बराबरको १६ लाख ५२ हजार ६ सय १७ किलो आँप आयात भएको छ ।
अघिल्लो आव २०८१/८२ सोही अवधिमा चीनबाट ९ करोड ८९ लाख २० हजार बराबरको १० लाख १५ हजार ९४ किलो आँप आयात भएको थियो ।
यसरी हेर्दा गत वर्षको तुलनामा यस वर्ष चीनबाट हुने आँप आयात परिमाण र मूल्य दुवैमा उच्च वृद्धि भएको छ ।
भारतको हिस्सा करिब ७२ प्रतिशत
नेपालको आँप बजारमा सबैभन्दा ठूलो वर्चस्व भारतकै छ । आव २०८२/८३ को ११ महिनामा भएको कुल आयात मूल्यमा भारतको हिस्सा करिब ७२ प्रतिशत छ ।
यस अवधिमा नेपालले भारतबाट ४३ करोड १६ लाख ६९ हजार रुपैयाँ बराबर ७१ लाख ६० हजार ३ सय ४९ किलो आँप खरिद गरेको छ ।
अघिल्लो आव २०८१/८२ को ११ महिनामा भारतबाट ३२ करोड ५० लाख ६७ हजार बराबरको ५१ लाख ३९ हजार ७ज सय ८३ किलो आँप भित्रिएको थियो ।
नेपाल भित्रिने तयारीमा चिनियाँ आँप
नेपाली बजारमा अब चिनियाँ आँप भित्रिने तयारी छ । नेपाली र भारतीय आँपको सिजन अन्त्यतिर पुग्दै गर्दा चीनबाट आँप नेपालतर्फ आउन सुरु भइसकेको र छिट्टै बजारमा उपलब्ध हुने व्यवसायीले बताएका छन् ।

नेपाल फलफूल थोक व्यवसायी संघ अध्यक्ष अमर बानियाँका अनुसार चिनियाँ आँप अहिले बाटोमा छ । ‘अहिले चीनबाट आँप आइसकेको छैन, आउनेवाला छ, बाटोमै छ,’ बानियाँले भने, ‘साउन, भदौ र असोजसम्मै चिनियाँ आँप आउँछ ।’
एक पटक आउन सुरु भएपछि निरन्तर एक–डेढ महिनासम्म चिनियाँ आँप आइरहने उनले बताए ।
चिनियाँ आँप १४ किलोको प्याकेजिङमा नेपाल भित्रिने गर्छ । अध्यक्ष बानियाँका अनुसार बजारमा थोक (होलसेल) मूल्य प्रतिकिलो २ सयदेखि २ सय ५० रुपैयाँसम्म पर्नेछ ।
साउन, भदौ र असोज महिनामा आउने चिनियाँ आँप ‘केइट’ हो । चीनको सिचुआन र युनान प्रान्तमा यसको ठूलो व्यावसायिक खेती हुन्छ ।
‘बजारमा २–३ थरीका चिनियाँ आँप आउँछन्, तर एकै प्रकारको बढी चलेको छ,’ अध्यक्ष बानियाँले भने, ‘यसको साइज निकै ठूलो हुन्छ, एउटै आँप आधा किलोदेखि एक किलोसम्मको हुन्छ ।’
प्रतिक्रिया 4