News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले संविधान संशोधनका लागि प्राप्त सुझावहरूको आधारमा प्रस्ताव तयार गर्ने निर्णय गरेको छ ।
- पार्टीको उपसमितिले संघीय लोकतान्त्रिक गणतन्त्र र शासन प्रणालीलाई सुदृढ बनाउन आवश्यक सुझाव संकलन गर्ने काम सुरु गरेको छ ।
- अग्निप्रसाद खरेलको संयोजकत्वमा बसेको बैठकले तथ्य, तर्क र औचित्यका आधारमा संविधान संशोधनको प्रस्ताव तयार गर्ने सहमति गरेको छ ।
६ साउन, काठमाडौं । नेकपा एमालेले संविधान संशोधनका लागि प्राप्त सुझावका आधारमा प्रस्ताव तयार गर्ने भएको छ ।
एमालेले संविधान संशोधन सुझाव कार्यदल गठन गरेर यसमा काम गरिरहेको छ ।
संविधान पुनरावलोकन सम्बन्धी प्रस्ताव तयार गर्न तथा संविधान संशोधन सम्बन्धी सुझाव संकलनका लागि गठित उपसमितिको बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको थियो ।
उपसमितिका संयोजक अग्निप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले संविधान संशोधनका लागि प्राप्त सुझाव आधारमा प्रस्ताव तयार गर्ने निर्णय गरेको हो ।
संविधान संशोधन सुझाव कार्यदलका सदस्य सचिव महेश बर्तौलाले यसबाबारे जानकारी दिएका हुन् ।
उनका अनुसार बुधबार ‘संविधान संशोधनका लागि प्राप्त सुझावहरूलाई विषयगत रूपमा वर्गीकरण गरी तथ्य, तर्क र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने विषयमा छलफल भएको’ हो ।
यसका साथै बैठकमा संविधान कार्यान्वयनको हालसम्मको अनुभव, उपलब्धि तथा देखिएका व्यावहारिक चुनौतीहरूको समीक्षा गर्ने विषयमा पनि छलफल भएको छ ।
संविधान संशोधनका लागि आवश्यक देखिएका विषयहरूको पहिचान गरी राजनीतिक, संवैधानिक, प्रशासनिक तथा कानुनी दृष्टिकोणबाट अध्ययन गर्ने विषयमा छलफल भएको बर्तौलाले जानकारी दिए ।
उनका अनुसार राजनीतिक दल, संवैधानिक निकाय, विषयगत विज्ञ, कानुन व्यवसायी, प्रशासनिक क्षेत्र , नागरिक समाज तथा सरोकारवालाबाट सुझाव संकलन गर्ने विधि र प्रक्रिया सम्बन्धमा पनि छलफल भएको छ ।
बुधबारको छलफलमा उपसमितिका संयोजक खरेल, सदस्य सचिव बर्तौला सहित रमेश बडाल, टिकराम भट्टराई, राजेन्द्र घिमिरे, अमर थापा र विज्ञ को रूपमा पुर्वकानुन मन्त्री माधवप्रसाद पौडेल उपस्थित थिए ।
सदस्य सचिव बर्तौलाका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र र बिद्यमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई सुदृढीकरण गर्नका लागि संविधान संशोधन सम्बन्धी सुझाव संकलन गर्ने काम भइराखेको छ ।
प्रतिक्रिया 4