+
+
Shares

माग सम्बोधन गर्न सरकारलाई म्यानपावर व्यवसायीको १५ दिने अल्टिमेटम

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १९:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना माग सम्बोधनका लागि सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ ।
  • संघका अध्यक्ष डिक बहादुर खत्रीले सरकारले वैदेशिक रोजगारको बाटो सहज नबनाए कडा आन्दोलन गर्ने घोषणा गर्नुभयो ।
  • विभागले म्यानपावर कम्पनीहरूलाई कारबाही गरेपछि असन्तुष्ट व्यवसायीहरूले सरकारविरुद्ध दबाबमूलक रणनीतिक तयारी सुरु गरेका छन् ।

७ साउन, काठमाडौँ । माग सम्बोधन गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ ।

विशेष भेला आयोजना गर्दै संघका अध्यक्ष डिक बहादुर खत्रीले सरकारले वैदेशिक रोजगारको बाटो सहज नबनाए व्यवसायी र श्रमिक मिलेर कडा आन्दोलन गर्ने घोषणा गरे। ५९८ म्यानपावर कम्पनीले भारतीय विमानस्थल हुँदै अन्य मुलुकमा श्रमिक पठाएको भन्दै वैदेशिक रोजगार विभागले कारबाही गरेपछि व्यवसायी आन्दोलित भएका हुन् । सो कारबाही फिर्ता लिनुपर्ने, व्यवसायीप्रतिको व्यवहार सच्याउनुपर्ने व्यवसायीको माग छ ।

सरकारले देशको यथार्थ समस्या बुझेर वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित गर्नुपर्नेमा खत्रीले जोड दिए। उनले वैदेशिक रोजगारीको अन्तिम प्रक्रियामा रहेका सबै श्रमिकहरूलाई आगामी १५ दिनभित्र पठाइसक्ने र त्यसपछि कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

‘१५ दिनभित्र अन्तिम प्रक्रियामा भएका सबै श्रमिकहरूलाई पठाइसक्नुहोला,’ उनले व्यवसायीलाई भने, ‘यदि १५ दिनभित्र निर्णायक ठाउँमा पुग्न सकिएन भने हामी कसरी र कुन तरिकाले आन्दोलन गर्ने भन्ने निर्णयमा पुग्नेछौँ।’

संघले तत्कालै प्रत्यक्ष आन्दोलनमा नगए पनि रणनीतिक तयारी सुरु गर्ने बताएको छ। संघले भोलिदेखि नै रणनीतिक कदम सुरु गरिने, सञ्चार माध्यममार्फत सरकारलाई दबाब दिइने, आवश्यकता अनुसार क्षेत्रगत रूपमा विभिन्न समितिहरू गठन गरिने, जनस्तरदेखि सदन र सरकारसम्म आफ्ना मुद्दाहरू पुर्‍याइने जस्ता कार्यक्रम अघि सारेको छ।

अध्यक्ष खत्रीले सरकारले व्यवसायीका माग नसुने श्रमिकहरू आफैँ सडकमा उत्रने दाबी गरे। अध्यक्ष खत्रीले व्यवसायीहरूलाई एकजुट भएर तयारी अवस्थामा बस्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?