+
+
Shares

सिरहामा गोली हानेर लागुऔषधसहित समातिएका नसिर व्यक्ति हत्याका दोषी

गोली हानेर समातिएका मध्ये मो. नसिर भने व्यक्ति हत्यामा दोषी ठहर भएका व्यक्ति रहेको खुलेको ब्युरोका एसएसपी सुवासचन्द्र बोहोराले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहामा लागुऔषधसहित पक्राउ परेका छ जनामध्ये मो. नसिर कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय पाएर फरार रहेका व्यक्ति भएको खुलेको छ ।
  • लागुऔषध नियन्त्रण ब्युरोले लहानमा नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण प्रयास भएपछि गोली चलाउँदा दुई जना घाइते भएका छन् ।
  • फरार अभियुक्त नसिर झुम्का कारागारबाट भागेपछि लागुऔषध कारोबारमा संलग्न रहेको र उनीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद भएको ब्युरोले जनाएको छ ।

८ साउन, काठमाडौं । सिरहामा गोली हानेर लागुऔषधसहित पक्राउ गरिएका ६ जना मध्ये एक जना व्यक्ति हत्यामा दोषी ठहर भएका व्यक्ति रहेको खुलेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले बिहीबार सिरहाको लहान नगरपालिका–३ हस्पिटल चोकमा लागुऔषध कारोबार गरेको आरोपमा गोली प्रहार गरी ६ जनालाई पक्राउ गरेको थियो ।

जसमा भारतीय नागरिक २२ वर्षीय विद्यानन्द यादव, सप्तरीको रुपनी गाउँपालिका–१ का ४० वर्षीय मो. नसिर, सप्तरी कै बादेबरसाइन नगरपालिका–२ का २८ वर्षीय शम्भुप्रसाद यादव, सप्तरीको डाक्नेश्वरी गाउँपालिका–२ का २८ वर्षीय मो. जमाहिर आलम, सोही ठाउँका ३२ वर्षीय मो. इमामुदिन र बादेबरसाइन नगरपालिका–२ का २४ वर्षीय वैधनाथप्रसाद यादवलाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि सुरुमा ५ राउन्ड हवाई फायर गरिएको थियो ।

त्यति हुँदा पनि अटेर गरेपछि गोली चलाउन परेको ब्युरोले बताएको छ । मो. नासिरको बायाँ र भारतीय नागरिक विद्यानन्दको दायाँ खुट्टामा एक/एक राउन्ड गोली लागेको बताइएको छ । उनीहरूबाट २४३ ग्राम लागुऔषध खैरोहेरोइन बरामद पनि भएको छ ।

गोली हानेर समातिएका मध्ये मो. नसिर भने व्यक्ति हत्यामा दोषी ठहर भएका व्यक्ति रहेको खुलेको ब्युरोका एसएसपी सुवासचन्द्र बोहोराले बताए । उनका अनुसार सप्तरीकै एक व्यक्ति हत्यामा उनलाई २५ वर्ष कैदको फैसला भएको थियो ।

उनी सुनसरीस्थित झुम्का कारागारमा कैद भुक्तान गर्दै थिए । सोही क्रममा उनी जेनजी आन्दोलनको बेला कारागारबाट भागेको पाइएको प्रहरीले बताएको छ । कारागारबाट फरार भएपछि उनी लागुऔषधको कारोबारमा जोडिएको प्रहरीको दाबी छ ।

नसिरले ८ असोज २०७८ मा सप्तरीको शम्भुनाथ नगरपालिका–१ मा भोजभतेर गर्नका लागि खाना बनाउने बहाना बनाएर रामसुन्दर महतोको हत्या गरी खाँडो खोलाको पोखरीमा फालेका थिए ।

यो घटनामा नसिरसहित सप्तरीकै विष्णुपुर गाउँपालिका–५ कि ४९ वर्षीया देवी महतो र डाक्नेश्वरी नगरपालिका–७ का ३० वर्षीय रोशन साह पक्राउ परेका थिए । यो घटनामा नसिरलाई २५ कैदको फैसला भएको थियो ।

अहिले गोली हानेर समातिएका नसिर तत्कालीन भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी गोइत समूहमा आवद्ध थिए । गोइत समूहमा आबद्ध हुँदा हतियारसहित पक्राउ परेका उनी हातहतियार तथा खरखजना मुद्दामा ९ महिना कारागार बसेर छुटेका थिए ।

त्यसपछि रामसुन्दरकै श्रीमती देवी महतोसँग मिलेर रामसुन्दरको हत्या गरेका थिए । देवी र नसिरबीच विवाहेत्तर सम्बन्ध थियो । यो घटनामा ३१ वैशाख २०८० मा न्यायाधीश हेमन्त रावलको इजलासले तीनै जनालाई जनही २५ वर्ष कैदको सजाय तोकेको थियो ।

झुम्का कारागारमा रहेका उनी जेनजी आन्दोलनको क्रममा फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?