८ साउन, काठमाडौं । कथा घेराको टेकुस्थित कौसी थिएटरमा आज शुक्रबारदेखि नयाँ नाटक ‘जोलिन’ मञ्चन हुने भएको छ । प्रेमले कसरी मानिसलाई आश्रय र कैद दुवै गर्छ भन्ने विषयलाई केन्द्रमा राखेर तयार पारिएको यो नाटक मञ्चन हुने भएको हो ।
नाटकको मुख्य कथा मीरा र उनका श्रीमान माधवको सम्बन्ध वरिपरि घुम्छ । श्रीमान माधवप्रति पूर्णरूपमा समर्पित मिराको जीवन बाहिरबाट सामान्य देखिए पनि भित्री पक्ष निकै भयावह छ । माधवको जीवनमा ‘जोलिन’को प्रवेश र उनीहरूबिचको प्रेम सम्बन्धको खुलासाले दम्पतीको जीवनमा ठुलो हलचल ल्याउँछ ।
त्यसपछिको बाँकी कथा नै नाटकको पुरा कथा हो । मेलोड्रामा, त्रासदी, सङ्गीतमय रङ्गमञ्च र भयको मिश्रण रहेको यो नाटकको लेखन ऋषभ र बुद्धि पोखरेलले गरेका हुन् भने निर्देशन ऋषभले । त्यस्तै नाटकमा मिरा खड्का, अनोज पाण्डे, निशान खत्री, जीवन गौतम, ऋषिकेश बस्याल, निशान्त महत र प्रकृति कार्कीको अभिनय रहेको छ । नाटक २९ साउनसम्म मञ्चन हुनेछ ।
प्रतिक्रिया 4