+

दुर्लभ अन्तर्राष्ट्रिय कीर्तिमान बनाउन सफल नेपाली कराते प्रशिक्षक सुदर्शन सिंखडा

२०८३ साउन  १० गते १३:५६ २०८३ साउन १० गते १३:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कराते प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री सुदर्शन सिंखडाले शारीरिक उचाइलाई चुनौती दिँदै अन्तर्राष्ट्रिय खेलकुदमा नेपालका लागि दुर्लभ कीर्तिमानहरू स्थापना गर्नुभएको छ।
  • सिंखडाले सन् १९९६ मा २० वर्षको उमेरमा अन्तर्राष्ट्रिय रेफ्री र त्यसको एक वर्षपछि विश्व च्याम्पियनसिपमा कान्छो मुख्य प्रशिक्षकका रूपमा ऐतिहासिक पहिचान बनाउनुभएको छ।
  • विगत ३५ वर्षदेखि खेल क्षेत्रमा सक्रिय सिंखडाले १० हजारभन्दा बढी खेलाडीलाई प्रशिक्षण दिँदै युवा पुस्ताका लागि प्रेरणाको स्रोत बन्नुभएको छ।

१० साउन, काठमाडौं । खेलकुदमा सफलताको मापन शारीरिक उचाइले होइन, क्षमता, आत्मविश्वास र समर्पणले हुन्छ भन्ने उदाहरण हुन् नेपाली कराते प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री सुदर्शन सिंखडा ।

करिब १५२.४० सेन्टिमिटर (५ फिट) उचाइ भएका सिंखडाले अन्तर्राष्ट्रिय क्योकुसिन करातेमा नेपाललाई चिनाउँदै आफ्नै नाममा दुर्लभ कीर्तिमानहरू स्थापना गरेका छन् ।

सिंखडाले सन् १९९६ मा मात्र २० वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्योकुसिन कराते प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्दै कान्छा अन्तर्राष्ट्रिय रेफ्रीमध्ये एकका रूपमा पहिचान बनाएका थिए ।

त्यसको एक वर्षपछि जापानको टोकियोमा आयोजित पहिलो विश्व तौल वर्ग क्योकुसिन कराते च्याम्पियनसिपमा २१ वर्षको उमेरमै नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै उनी प्रतियोगिताका सबैभन्दा कान्छा तथा सबैभन्दा होचा प्रशिक्षकमध्ये एक बने ।

सन् १९९७ मै भारतमा सम्पन्न सातौं एसियाली क्योकुसिन कराते च्याम्पियनसिपमा उनले २१ वर्षको उमेरमा अन्तर्राष्ट्रिय रेफ्रीको भूमिका निर्वाह गर्दै अर्को ऐतिहासिक उपलब्धि हासिल गरे ।

शारीरिक उचाइभन्दा क्षमता र आत्मविश्वास महत्वपूर्ण हुन्छ भन्ने सन्देश उनले आफ्नो सम्पूर्ण खेल जीवनमार्फत दिएका छन् । विश्वका अनुभवी खेलाडी, प्रशिक्षक र अफिसियलबीच नेपालका प्रतिनिधिका रूपमा उभिँदै उनले अन्तर्राष्ट्रिय क्योकुसिन करातेमा नेपालको पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान दिएका छन् ।

विगत करिब ३५ वर्षदेखि प्रशिक्षकका रूपमा सक्रिय सिंखडाले ८ हजारदेखि १० हजारभन्दा बढी खेलाडीलाई प्रशिक्षण दिइसकेका छन् । उनको प्रशिक्षण पाएका सयौं खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेका छन् ।

खेलकुदसँगै समाजसेवामा पनि सक्रिय सिंखडा आजका युवा पुस्ताका लागि प्रेरणाका पात्र बनेका छन् । सीमित शारीरिक बनोटलाई कमजोरी होइन, सफलताको आधार बनाउँदै उनले असम्भवजस्तो देखिने लक्ष्य पनि दृढ इच्छाशक्ति र निरन्तर मेहनतले हासिल गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् ।

उनका यी उपलब्धिहरू नेपाली कराते इतिहासका महत्वपूर्ण अध्यायका रूपमा लिइन्छन् । उचित दस्तावेजीकरण र अन्तर्राष्ट्रिय मान्यतासहित यस्ता उपलब्धिलाई भावी पुस्तासम्म पुर्‍याउनु नेपाली खेलकुदकै दायित्व हो ।

सुदर्शन सिंखडा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय