+
+
Shares

प्रशासनिक लापरबाही : नाम-ठेगाना मिल्दा अर्कैको मुद्दामा हाजिर हुन बेङ्गलुरुबाट काठमाडौं

बैतडीका मुकेश विस्टको घरमा लेखपढ गर्न नजान्ने बुबाआमालाई अदालतमा हाजिर हुनुपर्ने भन्दै कागजमा हस्ताक्षर गराइयो । छोराविरुद्ध ठगीको मुद्दा परेको भन्ने सुनेपछि परिवार नै आत्तियो । बैंगलुरुबाट छोरालाई बोलाए । काठमाडौं आएर हाजिर हुँदा मुद्दा अर्कै व्यक्तिको रहेछ ।

कृष्ण बिष्ट कृष्ण बिष्ट
२०८३ साउन १० गते १९:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाम र ठेगाना मिलेको आधारमा प्रहरीले गलत व्यक्तिलाई पक्राउ पुर्जी बुझाउँदा बैतडीका मुकेश बिष्टले अनाहकमा मानसिक र आर्थिक सास्ती व्यहोर्नुपरेको छ।
  • नागरिकता नम्बर फरक भए पनि यकिन नगरी म्याद तामेली गरिएकाले मुकेशले भारतबाट नेपाल फर्किंदा र काठमाडौं जाँदा ७० हजार रुपैयाँभन्दा बढी खर्च गर्नुपर्‍यो।
  • कानुनी प्रक्रियाबारे अनभिज्ञ परिवारले थप क्षतिपूर्ति र जिम्मेवारीको माग गर्दै राज्यका निकायको गम्भीर लापरबाहीप्रति आक्रोश व्यक्त गरेका छन्।

१० साउन, बैतडी । ‘तपाईंको छोराविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी सम्बन्धी मुद्दा दर्ता भएको छ। उहाँलाई अदालतमा हाजिर हुन भन्नुहोस्,’ गत असार २२ गते बिहान प्रहरी टोलीले बैतडीको पाटन नगरपालिका–६ बिट्ठेउडाकी रोहिना बिष्टलाई यति भनेपछि उनको परिवार एकाएक तनावमा पर्‍यो

दुई वर्षदेखि भारतको बेङ्गलुरुमा मजदुरी गर्दै आएका छोरा मुकेश बिष्टविरुद्ध ठगीको मुद्दा लागेको कुरा सुनेपछि आमा रोहिनाले तत्काल छोरालाई फोन गरिन्।

मुकेशले आफूले कहिल्यै कुनै ठगी नगरेको र यस्तो विषयमा जानकारीसमेत नभएको बताए। तर, अदालतको कुरा भएकाले सत्य–असत्य जे भए पनि उपस्थित हुनुपर्ने सोचेर परिवारले उनलाई तत्काल नेपाल फर्किन आग्रह गर्‍यो।

असार २८ गते बेङ्गलुरुबाट घर पुगेका मुकेश त्यसपछि काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन राजधानीतर्फ लागे। तीन दिनको लामो यात्रा गरेर काठमाडौं पुगेपछि भने उनले थाहा पाए– पक्राउ पुर्जी उनको नाममा नभई अर्कै व्यक्तिको रहेछ।

‘काठमाडौं पुगेको भोलिपल्ट मैले वकिलमार्फत आफ्नो मुद्दाबारे बुझ्न लगाए,’ मुकेशले भने, ‘त्यहाँ हेर्दा पक्राउ पुर्जी अर्कै मुकेशको रहेछ। नाम, ठेगाना र बुवाको नाम मिले पनि नागरिकता नम्बर फरक रहेछ।’

उनका अनुसार यही त्रुटिका कारण अनाहकमा दुःख पाएका छन्।

‘१५–२० दिनको तनाव झेलें। बेङ्गलुरुबाट बैतडी हुँदै काठमाडौं आउँदा मात्रै ७० हजार रुपैयाँभन्दा बढी खर्च भयो। यहाँ आएपछि अर्कै मुकेशको पक्राउ पुर्जी रहेछ भन्ने थाहा पाएँ। यस्तो गम्भीर लापरबाहीको जिम्मेवारी कसले लिन्छ ? मेरो क्षतिपूर्ति कसले दिने ?’ उनले प्रश्न गरे।

मुकेशका आमाबुवा लेखपढ गर्न नजान्ने भएकाले परिवार थप अन्योलमा परेको थियो। कानुनी प्रक्रिया बुझ्ने कोही नभएपछि परिवारले कुवेतमा रहेका मुकेशका काका केशवलाई समेत नेपाल बोलायो।

केशवका अनुसार पक्राउ पुर्जी बुझाउँदा प्रहरीले वृद्ध आमाबुवालाई कागजमा हस्ताक्षर मात्रै गराएको थियो। मुद्दाको वास्तविक विवरण नबुझाइएकाले परिवार त्रसित भएको उनले बताए।

‘घरमा लेखपढ गर्न नजान्ने बुबाआमालाई अदालतमा हाजिर हुनुपर्ने भन्दै कागजमा हस्ताक्षर गराइयो। छोराविरुद्ध ठगीको मुद्दा परेको भन्ने सुनेपछि परिवार नै आत्तियो,’ उनले भने, ‘म कुबेतबाट करिब ३ लाख रुपैयाँ खर्च गरेर नेपाल आएँ। भतिजा मुकेशको पनि जागिर छुट्यो, मेरो पनि बिदा र रोजगारीमा असर पर्‍यो। यसको जिम्मा कसले लिने ?’

उनले राज्यका निकायको सामान्य त्रुटिका कारण एउटा परिवारले आर्थिक, मानसिक र सामाजिक रूपमा ठूलो क्षति व्यहोर्नुपरेको भन्दै क्षतिपूर्तिको माग गरे।

यता जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक दीपककुमार रायले भने अदालतबाट प्राप्त म्याद तामेलीका आधारमा मात्रै प्रहरी परिचालन गरिएको बताए।

ठगी मुद्दामा रहेका भनिएका मुकेश बिष्ट पाटन–६ कै अर्का मुकेश बिष्ट रहेको बुझिएको छ । ‘अर्का मुकेश रहेको भन्ने कुरा आएको छ, तर अदालतले सबैकुरा स्पष्ट भनेर पत्र पठायो भने सोही अनुसार हुन्छ, अर्का मुकेश भन्ने व्यक्ति जापानमा छ भन्ने कुरा छ’ डीएसपी रायले भने ।

उनका अनुसार यो साइबर ब्युरोअन्तर्गतको मुद्दा रहेछ। ‘म्याद तामेलीका लागि पत्र आएको थियो। मुद्दा बैतडीकै भएको भए थप विवरण थाहा हुन्थ्यो। हामीलाई आएको पत्रमा नाम र ठेगाना मिलेकै आधारमा अदालतमा उपस्थित हुन जानकारी गराइएको हो, कुनै पक्राउ नै गरिको हैन,’ डीएसपी रायले भने।

नाम, ठेगाना र बुवाको नाम मिलेको तर नागरिकता नम्बर फरक रहेको अवस्थामा समेत पर्याप्त यकिन नगरी म्याद तामेली गरिँदा निर्दोष व्यक्तिले अनाहकमा आर्थिक तथा मानसिक सास्ती व्यहोर्नुपरेको भन्दै पीडित परिवारले सम्बन्धित निकायबाट क्षतिपूर्तिसहित जवाफदेहिता माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?