+
+
Shares

कांग्रेस जनप्रतिनिधिसँग गगन थापाले भने- पार्टी एकताको प्रयास सहमतिउन्मुख छ

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी एकताको प्रयास सहमतिउन्मुख रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते २०:४९

१० साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी एकताको प्रयास सहमतिउन्मुख रहेको बताएका छन् । पार्टी एकताका लागि दबाब दिन आइतबार भेट्न पुगेका कांग्रेसबाट निर्वाचित स्थानीय तहका मेयर र अध्यक्षहरूको टोलीसँगको भेटमा सभापति थापाले यस्तो बताएका हुन् ।

शनिबार नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना नेतृत्वमा कांग्रेस जनप्रतिनिधिहरूको टोलीले सभापति थापालाई भेटेको थियो । आफूहरूसँगको भेटमा सभापति थापाले वर्तमान चुनौती सामना गर्नका लागि पनि पार्टी एकता अपरिहार्य रहेको बताएको नगरपालिका संघका अध्यक्ष ढुंगानाले बताए ।

यस्तै, सभापति थापाले कांग्रेसबाट निर्वाचित मेयर र गाउँपालिका अध्यक्षले साउन १६ गते गर्न लागेको ‘पार्टी एकताका लागि दबाब’ दिन आयोजना गर्न लागेको राष्ट्रिय भेला पनि स्थगित गर्न आग्रह गरेको ढुंगानाले बताए ।

‘हामी पार्टी भित्रको समस्या समाधानका लागि गम्भीरतापूर्वक लागेका छौं ।  मतभेद र बहस चर्काउनेभन्दा पनि घटाउनुपर्छ भन्ने सभापतिज्युको भनाइ थियो,’ ढुंगानाले भने, ‘तपाईंहरूको पहल राम्रो छ, तर अहिले भेला गर्ने भन्दा पनि मसिनोगरी विषयहरू टुंगो लगाउनुपर्छ भन्ने उहाँको कुरा थियो ।’

१६ गतेको भेला आवश्यक नरहेको सभापति थापाले बताएको उनले जानकारी दिए । ‘साउन १६ को भेला स्थगित गर्नुस्, आवश्यक परे बरु म आफैं बलाउनुस् भन्छु नि,’ सभापति थापाको भनाइ उधृत गर्दै ढुंगानाले भने ।

सभापति थापाले असन्तुष्ट नेताहरूसँग कार्यदल बनाएर सूक्ष्म रूपले सहमतिको खाका बनाउने तयारी भइरहेको सुनाएको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले जानकारी दिए ।

कार्यदलका लागि इतर पक्षबाट दुई जना सदस्यको नाम मागिएको र चार सदस्यीय कार्यदल आजभोलिभित्रै गठन हुने जानकारी दिएको कार्कीले बताए ।

सभापति थापाले केन्द्रीय समिति बैठक नै पर धकलेर भए पनि सहमतिको प्रयास थालिएको बताएको कार्कीको भनाइ छ । ‘साउन तेस्रो हप्तासम्म सहमतिले सार्थकता पाउँछ,’ सभापति थापाको भनाइ उधृत गर्दै उनले भने ।

केहीदिनदेखि मेयरको यो समूहले शीर्ष नेताहरूलाई भेटेर पार्टी एकताका लागि दबाब दिइरहेका छन् । सोही क्रममा आज सभापति थापालाई भेटेको बताएका छन् ।

उनीहरूले पार्टी एकताबिना जनतालाई आशावादी बनाउन नसकिने र पार्टीको साख फर्काउन नसकिने भन्दै नेतालाई दबाब दिइरहेका छन् ।

‘नेताहरूसँग हामीले पार्टी एक नभए स्थानीय तहमा रहनुको औचित्य नरहने तर्फसमेत ध्यानाकर्षण गराएका छौं,’ शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले भने, ‘आज सभापतिज्युले त्यस्तो अवस्था नआउने कांग्रेस एक हुनेमा आश्वस्त पार्नखोज्नुभएको छ । हेरौं नतिजा के आउँछ ।’

सभापति थापासँगको भेटमा नगरपालिका संघका अध्यक्ष ढुंगाना, गाउँपालिका महासंघका उपाध्यक्ष लक्ष्मण शाही, हलेसी नगरपालिकाका नगरप्रमुख विमला राई, चरिकोट नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपाने, कागेश्वरी मनोहराका नगरप्रमुख कार्की, तिलागुफाका नगरप्रमुख उपाध्याय, शारदा नगरपालिकाका नगरप्रमुख भण्डारी, तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जन, दबाब अभियान प्रचारप्रसार समितिका संयोजक एवं प्रेस युनियनका पूर्वकोषाध्यक्ष सरोज अधिकारी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?