News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको मुसिकोट–३ स्थित मैदानमा दुई वर्षअघि गएको पहिरोको उचित नियन्त्रण नहुँदा स्थानीय आठ परिवार उच्च जोखिममा परेका छन् ।
- वर्षायाम सुरु भएसँगै पहिरोको जोखिम बढेपछि स्थानीय बासिन्दाहरू घर भत्किने त्रासले रातभर जाग्राम बस्न बाध्य भएका छन् ।
- नगरप्रमुख जीवलाल खरेलले बजेट अभावका कारण पहिरो पूर्ण नियन्त्रण गर्न चुनौती रहेको भन्दै तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन् ।
१२ साउन, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–३ मैदानमा २०८१ साल साउन १४ गते गएको पहिरोको जोखिम करिब दुई वर्ष बित्न लाग्दासमेत हट्न सकेको छैन ।
स्थानीयका अनुसार समयमै प्रभावकारी संरक्षण र रोकथामका काम नहुँदा पहिरो विस्तार हुँदै गएको छ भने वर्षायाम सुरु भएसँगै बस्ती पुन: त्रासमा परेको छ ।
लगातारको वर्षापछि गएको पहिरोका कारण कम्तीमा आठ घर प्रत्यक्ष जोखिममा छन् । स्थानीयको मुख्य आयस्रोत रहेको खेतीयोग्य जमिन, घाँस काट्ने खरियान तथा दैनिक आवतजावतका बाटो पहिरोले बगाएको छ ।
सडक र पैदलमार्ग अवरुद्ध भएपछि गाउँलेहरूलाई दैनिक आवतजावतदेखि बिरामीलाई अस्पताल पुर्याउनसम्म कठिनाइ भएको छ ।
स्थानीय सरस्वती घिमिरेले जीवनभरको कमाइ लगानी गरेर बनाएको पक्की घर अहिले पहिरोको उच्च जोखिममा पुगेको बताइन् । ‘पहिरो गएको लामो समय बितिसक्दा पनि प्रभावकारी संरक्षणको काम भएको छैन,’ उनले भनिन्, ‘कतिखेर घर नै बगाउने हो भन्ने चिन्ताले रातभर निद्रा लाग्दैन ।’
उनका अनुसार सुरुमा सामान्य देखिएको पहिरो समयमै नियन्त्रण गर्न नसक्दा अहिले झन् भयावह बन्दै गएको छ । प्रत्येक वर्ष वर्षा सुरु हुनेबित्तिकै परिवारको सुरक्षाप्रति चिन्ता बढ्ने गरेको उनको भनाइ छ ।
अर्की पहिरोपीडित पुतली सुनारले पनि राति निर्धक्कसँग सुत्न नसक्ने अवस्था रहेको बताइन् । पहिरोले गरिखाने बारी बगाइसकेको र अहिले घरसमेत जोखिममा परेकाले परिवारको भविष्यप्रति चिन्ता बढेको उनले सुनाइन् ।
‘विपद्को बेला सरकार नागरिकको साथमा हुनुपर्ने हो, तर हाम्रो पीडा बुझ्न कोही आएन,’ उनी भन्छिन्, ‘अहिले घर जोगाउने कि परिवारको सुरक्षा गर्ने भन्ने चिन्ताले दिनरात सताइरहेको छ ।’
स्थानीय गोरे विश्वकर्माका अनुसार बजार क्षेत्रमा ढल तथा नालीको उचित व्यवस्थापन नहुँदा वर्षाको पानी सिधै पहिरो प्रभावित क्षेत्रमा पुग्ने गरेको छ, जसले जोखिम थप बढाएको छ । पहिरोले गाउँभित्रको बाटोसमेत बगाएकाले दैनिक जीवन कष्टकर बनेको उनले बताए ।
‘पहिले घरसम्म गाडी आउँथ्यो, अहिले बाटो नै छैन । बिरामी पर्दा अस्पताल कसरी लैजाने भन्ने चिन्ता छ । साना बालबालिका र ज्येष्ठ नागरिकलाई ओहोरदोहोर गर्न निकै कठिन भएको छ,’ उनले भने ।
स्थानीयका अनुसार पहिरोका कारण कृषि उत्पादन घटेको छ । कतिपय परिवारले मुख्य आयस्रोत गुमाएका छन् भने पशुपालनका लागि आवश्यक घाँसको अभावसमेत सिर्जना भएको छ । यसले गाउँको आर्थिक तथा सामाजिक जीवनमा प्रत्यक्ष असर पारेको उनीहरूको भनाइ छ ।
मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल (जीवन) ले पहिरो नियन्त्रणका लागि नगरपालिकाले आफ्नो स्रोत र साधनअनुसार काम गरिरहेको बताए । उनका अनुसार नाली व्यवस्थापन, सडक सञ्चालन तथा संरक्षणका केही प्रयास भए पनि पहिरोको आकार ठूलो भएकाले पूर्ण नियन्त्रण गर्न चुनौती रहेको छ ।
उनले लुम्बिनी प्रदेश सरकारले गत वर्ष पहिरो नियन्त्रणका लागि ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको र सोही बजेटबाट संरक्षण पर्खाल निर्माण गरिएको जानकारी दिए । तर उक्त बजेट पर्याप्त नभएको उनले स्वीकार गरे ।
संघीय सरकारबाट आवश्यक बजेट र प्राविधिक सहयोग प्राप्त हुन नसक्दा दीर्घकालीन रूपमा पहिरो नियन्त्रण गर्न कठिनाइ भएको उनको भनाइ छ । स्थानीय तहको स्रोतले मात्र यति ठूलो प्राकृतिक विपद् व्यवस्थापन गर्न सम्भव नभएकाले तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको उनले बताए ।
स्थानीयवासीले पहिरो प्रभावित क्षेत्रमा तत्काल विस्तृत प्राविधिक अध्ययन गरी जोखिम न्यूनीकरणका प्रभावकारी योजना लागू गर्न माग गरेका छन् । साथै उच्च जोखिममा रहेका परिवारको सुरक्षित स्थानमा स्थानान्तरण, राहत वितरण, पुन:स्थापना, स्थायी संरक्षण संरचना निर्माण तथा दीर्घकालीन पहिरो नियन्त्रण योजना अघि बढाउन सरकारसँग आग्रह गरेका छन् ।
वर्षायाम सुरु भएसँगै मैदानका बासिन्दा फेरि त्रासमा बाँचिरहेका छन् । प्रत्येक वर्ष पानी पर्दा घर भत्किने, जमिन थप बग्ने र मानवीय क्षति हुन सक्ने डरले उनीहरू रातभर जाग्राम बस्न बाध्य हुने गरेका छन् ।
स्थानीयको भनाइमा, समयमै प्रभावकारी कदम चालिएन भने अहिलेको जोखिम भविष्यमा ठूलो मानवीय र भौतिक क्षतिमा परिणत हुन सक्छ । उनीहरूले अब आश्वासनभन्दा पनि व्यवहारमै परिणाम देखिने कामको अपेक्षा गरेका छन् ।
प्रतिक्रिया 4