News Summary
Generated by OK AI. Editorially reviewed.- खोटाङका किसान नारायणबहादुर बस्नेतले बाँदर धपाउन विभिन्न वनस्पति र गाईभैंसीको गहुँत मिसाएर गन्धयुक्त जैविक झोल तयार गरेका छन् ।
- बस्नेतका अनुसार यो झोल राखिएको बोतलको कडा गन्धले बाँदर बालीनाली नजिक आउन डराउने र तिनीहरू टाढैबाट फर्कने गर्छन् ।
- अढाइ लिटर झोलबाट करिब सात रोपनी जग्गाको बाली संरक्षण गर्न सकिने र यो विधि मानिस तथा पशुपन्छीका लागि सुरक्षित रहेको उनले बताएका छन् ।
१२ साउन, खोटाङ । गाउँ–गाउँमा बाँदरले बालीनालीमा क्षति पुर्याइरहेको बेला खोटाङका एक किसानले बाँदर धपाउने उद्देश्यले गन्धयुक्त जैविक झोल तयार गरेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले नमूना टोलका नारायणबहादुर बस्नेतले घरवरिपरि पाइने विभिन्न वनस्पति र गाईभैंसीको गहुँतको मिश्रणबाट बाँदरलाई मन नपर्ने गन्धयुक्त जैविक झोल तयार गरेको बताएका छन् ।
कृषि ज्ञान केन्द्रबाट २०७७ सालमा अवकाश पाएका बस्नेतले करिब डेढ महिनादेखि उक्त झोल तयार गरी प्रयोगमा ल्याएको बताएका छन् । उनका अनुसार अकबरे खुर्सानी, पिना, माछाका सिद्रा, बाघे झारलगायत २५ प्रकारका वनस्पति र गाईभैंसीको गहुँतको मिश्रणबाट झोल तयार गरिन्छ ।
‘झोल बनाउन प्रयोग हुने गहुँत र केही वनस्पति स्थानीय रूपमा पाइए पनि केही भने लेक तथा जिल्ला बाहिरबाट संकलन गर्नुपर्छ,’ उनी भन्छन्, ‘बाँदर धपाउनका लागि यो झोलको गन्ध बढी प्रभावकारी देखिएको छ ।’
उनका अनुसार अढाइ लिटर झोलबाट करिब सात रोपनी क्षेत्रफलको बालीनाली संरक्षण गर्न सकिन्छ । अढाइ लिटर झोललाई १०–१२ वटा साना बोतलमा हालेर औंला छिर्ने आकारका प्वाल बनाई डोरीले बाँधेर बारीमा झुण्ड्याइन्छ ।
बस्नेतको दाबी अनुसार बोतलबाट फैलिने कडा गन्धका कारण बाँदर बारी नजिक नआई फर्किने गरेका छन् । ‘गन्धका कारण बाँदरलाई हाछ्युँ आउने, टाउको दुख्ने वा एलर्जी हुने भएकाले तिनीहरू टाढा रहन्छन्,’ बस्नेत भन्छन्, ‘प्रभावकारिता कायम राख्न दुई–दुई साताको अन्तरमा बोतलमा झोल थप्नुपर्छ ।’

मानव तथा अन्य पशुपन्छीको स्वास्थ्यमा हानी नगर्ने भएकाले यो विधि सुरक्षित रहेको बस्नेतको दाबी छ ।
उनले बाँदर धपाउन भनेर बनाएको झोल बिक्री समेत गर्दै आएका छन् । अढाइ लिटर झोल पाँच सय रुपैयाँमा बिक्री भइरहेको उनी बताउँछन् ।
उनका अनुसार उक्त झोल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खाल्ले, दिक्तेल, सोल्मा, दोर्पाचिउरीडाँडासहित दिप्रुङ चुइचुम्मा गाउँपालिकाको याम्खा र हलेसी तुवाचुङ नगरपालिकाका केही क्षेत्रमा प्रयोगमा आइसकेको छ । ‘प्रयोग गरिएका स्थानबाट सकारात्मक प्रतिक्रिया आएको छ र मागसमेत बढिरहेको छ,’ बस्नेत भन्छन् ।
बस्नेतका अनुसार राज्यले किसानलाई बाँदरलगायत शत्रु जीव नियन्त्रणका जैविक उपायबारे तालिम दिने गरेको छ । आफूले पनि एकीकृत शत्रु जीव व्यवस्थापन (आईपीएम) तालिमबाट प्राप्त सीपलाई अवकाशपछि व्यवहारमा उतारेको बताए ।
विगतमा बाँदरको संख्या कम भएकाले यस्तो उपायको आवश्यकता नपरे पनि पछिल्ला वर्षहरूमा बाँदरको संख्या बढ्दै गएर खेतीपातीमा क्षति पुर्याउन थालेपछि यस्ता जैविक विधिको आवश्यकता बढेको उनको भनाइ छ ।
बाँदरको आवतजावत, खेल्ने र बास बस्ने क्षेत्रमा क्रमश: गन्धयुक्त झोल राख्दै गए गाउँबाट टाढा धपाउन सकिने दाबी बस्नेतले गरेका छन् ।
प्रतिक्रिया 4