+
+
Shares

खोटाङमा प्रधानमन्त्री बालेनको पुतला जलाइयो

प्रधानमन्त्री बालेनले अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टी खोटाङले पनि विरोध प्रदर्शन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते २०:५३

१८ जेठ, खोटाङ । खोटाङका विद्यार्थी संगठनले प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को पुतला जलाएका छन् । प्रधानमन्त्री बालेनले आइतबार प्रतिनिधिसभामा ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने विवादित अभिव्यक्ति दिएको विरोधमा सोमबार साँझ यहाँ विद्यार्थी संगठनहरूले पुतला जलाएका हुन् ।

नेपाल विद्यार्थी संघ(नेविसंघ), अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले जेठ १८ गते साँझ दिक्तेलमा प्रधानमन्त्री बालेनको पुतला जलाएका हुन् । विद्यार्थी संगठनले दिक्तेलको किरातचोकमा प्रधानमन्त्री बालेनविरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।

विद्यार्थी नेताहरूले नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई कमजोर बनाउने गरी प्रधानमन्त्रीको अभिव्यक्ति आएको भन्दै राजीनामा माग गरेका छन् ।

यसअघि विद्यार्थी संगठनहरूले आइतबार दिउँसो नै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै नेपाल–भारतको सीमाको विषयमा प्रधानमन्त्री बालेनले दिएको अभिव्यक्ति आपत्तिजनक, गैरजिम्मेवार, आत्मसमर्पणवादी भएको प्रतिक्रिया दिएका थिए ।

यस्तै, प्रधानमन्त्री बालेनले अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टी खोटाङले पनि विरोध प्रदर्शन गरेको छ । श्रम संस्कृतिले सोमबार दिक्तेलको रत्नपार्कमा केहीबेर सांकेतिक रूपमा नाराबाजीसहित प्रदर्शन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?